बेइजिङ, साउन २३ | चीनको राजधानी बेइजिङमा पहिलो पटक म्याग्लेभ (चुम्बकीय) रेलको परीक्षण गरिएको छ। राजधानीको पहिलो सुस्त–मध्य गतिको चुम्बकीय उत्तोलन ट्रयाकले बेइजिङको मन्थौकौ र शचिङशान जिल्लालाई ८ स्टेसन तथा २० मिनेटको दूरीले जोड्दछ।
यस वर्षको अन्त्यसम्ममा यो रेलवे पूर्ण रूपमा सञ्चालन गर्ने योजना छ।
१० किलोमिटर दूरीको यो ट्रेन राजधानीमा पहिलो पटक सार्वजनिक यातायातका लागि प्रयोगमा ल्याउन लागिएको हो। यसअघि चीनको व्यापारिक सहर शाङहाईमा मात्र यो सेवा अलिक लामो दूरीमा सञ्चालित छ।
संसारमा केही मुलुकले मात्रै इलेक्ट्रोम्याग्नेट फास्ट ट्रेन अर्थात् म्याग्लेभ ट्रेन प्रयोगमा ल्याएका छन्। यस्ता रेलहरू चुम्बकीय नियम बमोजिम चल्दछन्। यिनमा स्टीलको पाङ्ग्रा वा ट्रयाकको जरूरत पर्दैन।