संयुक्त व्यावसायिक प्यानललाई जिताउन चार व्यावसायिक संगठनको अपिल

  
  प्रकाशित मितिः सोमवार, साउन ३०, २०७४       | 552 Views   ||

दाङ, साउन ३० । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानललाई जिताउन चार व्यावसायिक संगठनहरुले आग्रह गरेका छन् । चार संगठनका जिल्ला अध्यक्षहरुले आज संयुक्त विज्ञप्ती जारी गरी नारायण भुसाल नेतृत्वको संयुक्त व्यावसायिक प्यानललाई मत दिई जिताउन सम्पूर्ण मतदाताहरुलाई आग्रह गरेका हुन् ।

विज्ञप्ती जारी गर्नेहरुमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन दाङका अध्यक्ष नरबहादुर अधिकारी, नेपाल राष्ट्रिय वाणिज्य संघ दाङका अध्यक्ष जीतबहादुर केसी, अखिल नेपाल राष्ट्रिय उद्योग तथा व्यापार संघ दाङका अध्यक्ष जगतप्रसाद पोख्रेल र राष्ट्रिय उद्योग व्यापार महासंघ दाङका संयोजक विष्णु रिजाल रहेका छन् ।

उद्योग वाणिज्य संघ साझा संस्था भएकाले संस्थामा कुनै एउटा विचार समूहको मात्रै बनाउनु नहुने उल्लेख गर्दै विज्ञप्तीमा आफूहरु चारवटा संगठन मिलेर संयुक्त व्यावसायिक प्यानल बनाई चुनावी मैदानमा उत्रिएको बताइएको छ ।

आफूहरुले सहमतिको प्रयास गर्दागर्दै प्रजातान्त्रिक समूहका कारण निर्वाचनमा जानुपरेको भन्दै विज्ञप्तीमा उनीहरुले निर्वाचनबाट नारायण भुसाल नेतृत्वको संयुक्त व्यावसायिक प्यानललाई मत दिएर उद्योग वाणिज्य संघ सक्षम, जुझारु र इमान्दार व्यावसायिक नेतृत्वलाई सुम्पिन मतदाताहरुलाई अनुरोध गरेका छन् ।

संयुक्त प्यानलको जीत सुनिश्चित– व्यावसायिक प्यानल

यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलको जीत सुनिश्चित भइसकेको संयुक्त प्यानलमा आबद्ध व्यावसायिक संगठनहरुले दावी गरेका छन् ।

आज सोमबार घोराहीमा बसेको संयुक्त व्यावसायिक प्यानलका उम्मेदवार तथा सम्बद्ध व्यावसायिक संगठनहरुले समीक्षात्मक बैठकमा यस्तो निष्कर्ष निकालेका हुन् ।

बैठकका संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार नारायण भुसालले व्यावसायिक प्यानलका सबै उम्मेदवारहरु एकसेएक क्षमतावान्, दक्ष र इमान्दार रहेको बताए । फेन्सी, किराना, गल्ला, सप्लायर्स तथा उद्योगहरु सबै क्षेत्रका व्यवसायीहरुको प्रतिनिधित्वसहित संयुक्त व्यावसायिक प्यानल बनाइएको भन्दै भुसालले मतदाताहरुले भोटमार्फत् आफ्नो प्यानललाई अनुमोदन गर्न मात्रै बाँकी रहेको बताए ।

समीक्षात्मक बैठकमा बोल्ने सहभागीहरुले व्यावसायिक हक हित र अधिकारका लागि लड्न सक्ने सक्षम नेतृत्व संयुक्त व्यावसायिक प्यानलमै भएकाले सबैको आशा व्यावसायिक प्यानलमै रहेको बताएका थिए ।

बैठकमा उम्मेदवारहरुले चुनाव प्रचारका क्रममा भएगरेका अनुभूतिहरु सुनाएका थिए भने संयुक्त व्यावसायिक प्यानल निर्वाचन मूलसमितिका पदाधिकारीहरु नरबहादुर अधिकारी, जीतबहादुर केसी, रामप्रसाद पोख्रेललगायतले आवश्यक कामको बाँडफाँड तथा निर्देशन दिएका थिए । बैठकमा निर्वाचनको दिन गर्नुपर्ने विभिन्न काम र जिम्मेवारी बाँडफाँड पनि गरिएको थियो ।

अन्तिम दिन अटोमार्फत् प्रचार

संयुक्त व्यावसायिक प्यानलले आज अटोमार्फत् माइकिङ गर्न सुरु गरेको छ । भोलि मंगलबारका लागि तय गरिएको निर्वाचनमा आफ्नो प्यानलको विजयका लागि घोराही क्षेत्रमा अटोमार्फत् माइकिङ गरेको हो ।

घोराही बजारका विभिन्न क्षेत्रमा संयुक्त व्यावसायिक प्यानलका चुनावी मुद्दा र उम्मेदवारको परिचयसहित माइकिङ गरिएको प्रचार प्रसार समितिले जनाएको छ । संयुक्त व्यावसायिक प्यानलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, क्रान्तिकारी माओवादी र राष्ट्रिय जनमोर्चानिकट व्यवसायीहरु उम्मेदवार रहेका छन् ।

संयुक्त व्यावसायिक प्यानलले व्यावसायिक हकहितसहित दाङलाई प्रदेशको राजधानी बनाउने चुनावी मुद्दा अघि सारेको छ । नारायण भुसालको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *