बालविकासमा प्रोजेक्टरका माध्यामबाट पढाइ

  
  प्रकाशित मितिः बुधबार, भदौ १४, २०७४       | 255 Views   ||

जनक नेपाली

दाङ । बुधबार दिउँसो बाल विकास मावि घोराहीको प्राङ्गण अन्य दिन भन्दा फरक देखिन्थ्यो । कक्षाकोठाबाट लाइनसँगै निस्केका विद्यार्थीहरु अर्काे कक्षा कोठामा प्रवेश गर्नका लागि तयारी अवस्थामा देखिन्थे ।

पछिल्लो समय बाल विकास मावि घोराहीले आफ्ना विद्यार्थीहरुलाई इन्टरनेटका माध्यमबाट पढाउन थालेपछि विद्यार्थीहरु निकै उत्साहित बनेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयले यसै शैक्षिक सत्रदेखि इन्टरनेट कक्षा, प्रोजेक्टरका माध्यमबाट सञ्चालन गर्न थालेपछि विद्यार्थीहरु निकै उत्साहित भएको श्रेष्ठले बताउनुभयो । विद्यार्थीहरुको पाठ्यपुस्तकलाई आधार बनाएर दैनिक कक्षा प्रोजेक्टरका माध्यमबाट सञ्चालन गरेको उहाँको भनाई छ ।

विद्यालयमा विज्ञान, सामाजिक, जनसंख्या, अंग्रेजी, लगायतका विषयहरु इन्टरनेटका माध्यमबाट पढाइ सुरु गरेको बताउँदै त्यसबाट विद्यार्थीहरुको बौद्धिकतामा वृद्धि भएको प्र.अ. श्रेष्ठले बताउनुभयो । विद्यार्थीहरुलाई नयाँ–नयाँ प्रविधिसँग जोड्नका लागि प्रोजेक्टरका माध्यमबाट कक्षा सञ्चालनमा ल्याएको बताउँदै उहाँले कक्षा नर्सरीदेखि दश कक्षासम्म दैनिक पठनपाठनको व्यवस्था मिलाएको बताउनुभयो ।

पाठ्यपुस्तकभन्दा प्रोजेक्टरका माध्यमबाट पठनपाठन गर्दा विद्यार्थीहरुले छिटो स्मरण गर्ने भन्दै त्यसले विद्यार्थीलाई प्रत्यक्ष फाइदा पु¥याएको उहाँको भनाई छ । प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने विद्यार्थीहरुको मागलाई ध्यान दिदै आफुहरुले यसलाई सुरु गरेको उल्लेख गर्नुभयो ।

विद्यालयको शैक्षिक विकासमा ठूलो सहयोग पु¥याएको बताउँदै प्रोजेक्टका माध्यमद्वारा पठनपाठन सञ्चालनमा ल्याउँदा विद्यार्थीहरु पढाइको स्तरमा वृद्धि भएको छ ।

पाठ्यपुस्तकबाट विद्यार्थीले अध्ययन गर्ने प्रचलन निकै पुरानो भइसकेको बताउँदै उहाँले अब प्रविधिको समेत प्रयोग गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो । विद्यालयमा अध्ययनरत एक हजार विद्यार्थी सबैलाई प्रोजेक्टरका माध्यमद्वारा पढाइ सुरु गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुलाई तपाईले पशुपतिनाथका विषयमा अध्ययन गराउनु छ भने त्यतिबेला तपाईले पाठ्यपुस्तकका भरमा पशुपतिनाथको मन्दिर यस्तो छ, उस्तो छ भन्नुभन्दा प्रोजेक्टरका माध्यमबाट प्रष्ट देखाउँदा विद्यार्थीले सजिलै बुझ्छन् ।’

२०१७ सालमा स्थापना भएको विद्यालय २०६७ सालमा निमावि हुँदै २०७० सालदेखि मावि स्तरको पठनपाठन सञ्चालन गरिरहेको छ । जिल्लाकै नमुना स्कुलका रुपमा स्थापना हुन थालेको विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गराउँदै आएको प्रअ श्रेष्ठले उल्लेख गर्नुभयो ।

हाल विद्यालयमा त्यसबाहेक नियमित रुपमा योग, डान्स, क्रिकेट, कम्युटरलगायतका विषयहरुमा समेत अध्ययन गराउँदै आएको श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *