पहिरोले गाउँ नै विस्थापित

  
  प्रकाशित मितिः बुधबार, भदौ १४, २०७४       | 183 Views   ||

नवीन लोचन मगर

रोल्पा, १४ भाद्र । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–१, सेरमको झङ्की गाउँ पहिरोले पुरै विस्थापित भएको छ । चार वर्षदेखि लगातार पहिरो जान थालेपछि गाउँ नै विस्थापित बन्न पुगेको हो ।

पहिरोको उच्च जोखिममा रहेको झङ्की गाउँमा अहिलेसम्म १९ घर पहिरोले पुरेको स्थानीय बताउँछन् । पहिरोले घरबास नै उठाइदिएपछि आफन्तको शरणमा बस्न बाध्य भएको स्थानीय ५८ वर्षिया हिमसरा थकाली बताउँछिन् । पहिरोले गाउँ नै बगाउन थालेपछि धनको माया मारेर हिड्नुपरेको उनीहरु बताउँछन् । ‘यहाँको कमेरो माटो भएकोले पनि पानी प¥यो भने बगिहाल्छ’ स्थानीय ४८ वर्षीय रणबहादुर घर्तीमगर भन्छन् ‘भूकम्पपछि यो पहिरोले झन् विकराल रुप लिएको हो ।’

भूकम्पका कारण जमिन थर्किएकाले पनि पहिरो झन् बढेको हुनसक्ने स्थानीयको अनुमान छ । त्रासैत्रासमा समय कटाउने गरेको स्थानीय रनु घर्तीमगरले बताए । उक्त पहिरोका कारण खानेपानी, विद्युत सबै अवरुद्ध छन् ।

विद्यालय पनि सुनसान

पहिरोका कारण गाउँभर त्रास फैलिएपछि विद्यालयमा विद्यार्थीको संख्या समेत घट्दै गइरहेको छ । ‘अभिभावकले स्कुल पठाउनै मान्दैनन्’ स्थानीय झङ्की प्राविका शिक्षक जसवीर घर्तीले भने, ‘बाटोघाटो सबै जोखिम भएकोले पनि यस्तो समस्या आएको हो ।’

बालबालिकालाई विद्यालय पठाए पनि दिनभर ढुक्कसँग बस्नसक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । विद्यालयका साथै अन्य भौतिक संरचनासमेत पहिरोको त्रासमा छ ।

पहिरोले विद्युतगृह तथा पोलहरु बगाइदिएपछि एक वर्षदेखि स्थानीय बाछेमखोला लघु जलविद्युत आयोजनासमेत अवरुद्ध छ । २२ किलोवाट क्षमता रहेको उक्त विद्युत अवरुद्ध हुँदा सेरम, फुलिवन, झङ्की लगायतका गाउँ पूर्णरुपमा अन्धकारमा रहेको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *