थाइल्याण्डकी एक ९१ वर्षीया वृद्धाले १० वर्ष लगाएर स्नातक पूरा गरेकी छन्। किमलान जिनाकुले युवावस्थामा विश्वविद्यालय जाने अवसर पाएकी थिइनन् तर उमेरको तौलले उनको अध्ययनको रहरलाई दबाइराख्न सकेन।
थाइल्याण्डको उत्तरी प्रान्त लाम्पाङकी किमलान सानो छँदा निकै तीक्ष्ण विद्यार्थी थिइन्। उनी त्यो प्रान्तकै राम्रो मानिएको स्कुल गएकी थिइन्। तैपनि त्यो समय उनले विश्वविद्यालय जाने अवस्था थिएन।
उनका पाँचमध्ये चार सन्तानले स्नातकोत्तर सकेका छन्। एक जना त पिएचडीका लागि अमेरिका पनि पुगेका छन्। छोराछोरीको शैक्षिक अनुभवले उनलाई पढ्न उत्साहित गर्यो।
उनकी एक छोरीले सुखोथाइ थम्माथिरात खुला विश्वविद्यालयमा अध्ययन गरेकी थिइन्। त्यसपछि किमलानले पनि ७२ वर्षको उमेरमा विश्वविद्यालय भर्ना हुने निर्णय गरिन्। तर उनकी अर्की एक छोरीको मृत्युका कारण पढाइलाई अघि बढाउन सकिनन् र केही वर्षका लागि छोडिदिइन्।
जब उनी ८५ वर्ष पुगिन्, उनले दोस्रो पटक प्रयास गर्ने निर्णय गरिन् र ‘ह्युमन इकोलोजी’ विषयको पाठ्यक्रम पढ्न थालिन्।
लगभग पूरै एक मानव जीवन बाँचिसकेपछि उनकै अनुसार ‘कसरी राम्रो र खुसी जीवन जिउने भन्ने कुरा सिकाउने’ पाठ्यक्रम उनले लिएकी थिइन्।
किमलानले स्नातक सकेपछि परिवारका सदस्यसँग
स्नातक पढुञ्जेल उनको दैनिकी बिहानै उठ्ने, बौद्ध भिक्षुहरुलाई दान दिने, नजिकैको मन्दिर जाने र घर फर्केर पढ्न बस्ने हुन्थ्यो।
‘सिक्ने समय कहिल्यै जाँदैन, सिक्नका लागि मेरो दिमाग जहिल्यै जागृत हुन्छ,’ उनको भनाइ बिबिसीले उधृत गरेको छ, ‘यो संसार कहिल्यै रोकिँदैन। समाधान गर्नुपर्ने नयाँनयाँ समस्या आइलागिरहन्छन्। यदि नयाँ विज्ञान हुँदैनथ्यो भने संसारको प्रगति नै रोकिन्थ्यो।’
आफ्नो सफलताको रहस्यबारे सोधिएको प्रश्नमा किमलान भन्छिन्, ‘एउटा पाठ सक्छु भनेर आफैँलाई भनिसकेपछि त्यो पाठ सक्नका लागि मेहनत गर्थेँ। मुख्यमुख्य बुँदालाई चिनो लगाउँथे। त्यसलाई कन्ठ गर्थेँ। यसले मलाई फाइदा भयो।’
‘म पास हुँदा खुसी र फेल हुँदा दुःखी हुन्थेँ। त्यसैले पास नहुञ्जेल जाँच दिइरहेँ,’ उनी हाँस्दै भन्छिन्।
अब स्नातक प्रमाणपत्र लिइसकेपछि उनको योजना के छ त?
‘मैले जागिर खोजेँ भने कसैले पनि दिन्छजस्तो लाग्दैन,’ उनी मजाक गर्छिन्, ‘म आफ्ना नातानातिना हेर्ने कामलाई निरन्तरता दिन्छु।’
– बिबिसी/नेपालखबर