एक करोडमा एपी वानले किन्यो इपिएलको प्रसारण अधिकार

  
  प्रकाशित मितिः बिहिबार, भदौ १५, २०७४       | 180 Views   ||

काठमाडौं, १५ भदौ । आगामी डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) ले तीन वर्षका लागि प्रसारण अधिकार एपी वान टेलिभिजनलाई बेचेको छ। बुधबार राजधानीमा भएको सम्झौताअनुसार इपिएल प्रसारण गरेबापत एपी वान टेलिभिजनले आयोजकलाई एक करोड रुपैँया तिर्ने भएको छ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै इपिएलका संस्थापक अमिर अख्तरले प्रतियोगितालाई अन्तराष्ट्रिय स्तरको बनाउन यसले मदत पुर्‍याएको बताए। ‘२०१७, १८ र १९ मा आयोजना हुने इपिएलको प्रत्यक्ष प्रसारण एपी वानले गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘प्रत्येक वर्ष एपी वानले १० प्रतिशत रकम थप्दै जाने सम्झौतामा उल्लेख छ।’

सम्झौता अनुसार एपी वानले आयोजकलाई ५० लाख रुपैँया नगद दिनुका साथै ५० लाख बराबरको प्रायोजन कार्यक्रम गर्नेछ। प्रायोजन कार्यक्रम अन्तर्गत प्रतियोगिताको प्रचारप्रसार सहित सहभागी टोलीहरुको पनि प्रचारप्रसार रहेको अख्तरले उल्लेख गरे।

आयोजकले प्रसारण अधिकारवापत एपी वानबाट प्राप्त गर्ने ५० लाख नगद रकम इपिएलका टोलीहरुबीच बाँड्ने भएको छ। आयोजकसहित छ टोलीबीच ७ लाख १४ हजारका दरले उक्त रकम बाँडिने प्रेस विज्ञप्तिमा जनाइएको छ।

‘५० प्रतिशत रकम टोलीसँग औपचारिक हस्ताक्षर कार्यक्रममा दिइनेछ,’ अख्तरले भने, ‘बाँकी ५० प्रतिशत प्रतियोगिता सकिएपछि दिइनेछ।’

सम्झौता पत्रमा हस्ताक्षर गर्दै एपी वान टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले नेपाली क्रिकेटको स्तर वृद्धि गर्न आफूहरुले उक्त सम्झौता गर्न लागेको बताए।

प्रत्यक्ष प्रसारणको प्राविधिक पक्षबारे जानकारी दिँदै उनले १२ क्यामराको सहायतामा प्रत्यक्ष प्रसारण गर्नुका साथै थर्ड अम्पायरका लागि प्रयोग हुने क्यामरा पनि सञ्चालन गरिने बताए।

नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशीसहित एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो संस्करणको घोषणा गरिएको छ।

गत महिना देशकै सर्वाधिक पुरस्कार राशी (२१ लाख) सहित प्रतियोगिताको लोगो सार्वजनिक गरिएको थियो।

देशका विभिन्न ६ वटा सहरका टोलीहरुलाई फ्रेन्चाइज बनाइ प्रतियोगिता आयोजना हुनेछ। छ फ्रेन्चाइज टोलीहरुमा काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखराको टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी टोलीमा १५ जना खेलाडी रहने प्रावधान छ। प्रत्येक टोलीमा १० जना खेलाडी अक्सनबाट छनौटमा पर्नेछन्। हाल अक्सनको तयारी भइरहेको र दशैँलगत्तै अक्सन गरिने संस्थापक अख्तरले जनाए।
राउण्ड रोबिन फर्म्याटमा हुने खेल कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा खेलाइने छन्।

यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको वान डे प्रतियोगिताको विजेताले २० लाख रुपैँया पुरस्कार पाएको थियो। जुन नेपाली क्रिकेटमा सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता थियो। त्यसअघि धनगढी प्रिमियर लिगले १५ लाख पुरस्कार दिँदै सर्वाधिक पुरस्कारको प्रतियोगिता बनेको थियो।

नेपालखबर डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *