घोराही उपमहानगरपालिकाको बजेट १ अर्ब ३५ करोड (पूर्ण पाठसहित)

  
  प्रकाशित मितिः शुक्रबार, भदौ १६, २०७४       | 562 Views   ||

दाङ, १६ भाद्र । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि १ अर्ब ३५ करोड ८० लाख २५ हजार विनियोजन गरेको छ ।

जसमध्ये चालुतर्फ चालुतर्फ ५५ करोड ८९ लाख २० हजार अर्थात कुल बजेटको ४१ दशमलब १६ प्रतिशत विनियोजन गरिएको छ भने पूँजी निर्माण तर्फ ७९ करोड ९१ लाख ५ हजार अर्थात ५८ दशमलब ८४ प्रतिशत छुट्टाइएको छ ।

शुक्रबार घोराहीमा आयोजित नगरसभामा उपमेयर सीता सिग्देल न्यौपानेले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

पूँजी निर्माणमा छुट्टाइएको बजेट मध्ये सार्वजनिक निर्माण तर्फ ६४ करोड ८४ लाख ७० हजार अर्थात कुल बजेटको ४७ दशमलब ७५ प्रतिशत छुट्टाइएको छ । बाँकी पूँजिगत बजेट रु १५ करोड ६ लाख ३५ हजार अर्थात ११ दशमलब ९ प्रतिशत रकम वडा कार्यालयको भवन निर्माण, जग्गा खरिद, बारुण यन्त्र खरिद र फोहोरमैला व्यवस्थानका लागि प्रयोगमा ल्याईने सवारी साधनको खरिद र र सूचना प्रविधिका क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाईएको छ ।

प्रत्येक वडाको विकासका लागि वडास्तरीय योजना तथा कार्यक्रमका लागि १८ करोड १० लाख ७० हजार कुल बजेटको १३ दशमलब ३३ प्रतिशत छुट्टाइएको छ । त्यसैगरी नगरस्तरीय दीर्घकालीन तथा अल्पकालीन योजनाका लागि रु ४६ करोड ४४ लाख अर्थात ३४ दशमलब ४२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेटको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ :

आदरणीय नगर सभाका सभाअध्यक्षज्यू एवं सदस्यज्यूहरु

नेपाली जनताको  ऐतिहासिक जन आन्दोलन मार्फत स्थापित नेपालको संविधान २०७२ अनुसार स्थानीय तहको निर्वाचन गत आषाढ चौध गते सम्पन्न भइ तपाई हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएका छौ | घोराही उपमहानगरपालिकाका हामी जनप्रतिनिधिलाई यहाँका जनताले अमूल्य मत प्रदान गरि विजय गराईसकेपछि आज हामीले पहिलो पटक घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को बजेट प्रस्तुत गर्न गईरहेका छौ | यहाँका जनताका उत्कृष्ट इच्छा र आकांक्षालाई स्मरण गर्दै यस घोराही उपमहानगरपालिकाका जनताको भविष्यलाई उज्ज्वल बनाउँदै आर्थिक सम्वृद्धि र विकासका योजनाहरुलाई अघि बढाउनु हाम्रो कर्तव्य हो । प्रत्येक वडा तथा टोलका जनताको विकासलाई नेपाल सरकारको नीति अनुसार घोराही उपमहानगरपालिकाको निर्णय बमोजिम तलैदेखि जनतालाई योजना तर्जुमा प्रक्रियामा सहभागी गराउँदै विकासका योजनाहरु छनोट हुँदै आएका छन् | वजेट तथा कार्यक्रम निर्माण गर्दा बजेट तथा कार्यक्रम तर्जुमा समिति र नगर कार्यपालिकाको वैठकमा व्यापक छलफल गरि हाम्रो घोराही उपमहानगरपालिकाको निर्धारित वजेट सिलिङ्ग र यस अघि प्रस्तुत भएको नीति तथा कार्यक्रम भित्र केन्द्रित रहेर यो बजेट प्रस्तुत गर्न गईरहेको छु |

यस गरिमामय सभामा, देश र जनताको लागि आफ्नो जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु | यसका साथै उपमहानगरपालिकाको संस्थागत विकासमा योगदान पुर्याउनु हुने अग्रज अभिभावक, राजनैतिककर्मी, राष्ट्रसेवक कर्मचारी, समाजसेवी अन्य सरोकारवाला सबैमा कृतज्ञता व्यक्त गर्दछु ।

नेपालको संविधान २०७२ लाई कार्यन्वयन गर्ने क्रममा यस घोराही उपमहानगरपालिकामा बसोबास गर्ने जनताको भाग्य र भविष्यलाई उज्ज्वल बनाउन,  विकास निर्माणमा अग्रसर गराउन, समाजमा सुशासन कायम गराउन, सामाजिक न्याय र सद्‌भाव कायम गराउन हामी सबै एकतावद्ध भएर अगाडि बढ्ने बेला आएको छ |

आदरणीय सभासद्ज्यूहरु,

घोराही उपमहानगरपालिकालाई समृद्ध बनाउनको लागि जनताको सेवालाई प्राथमिकतामा राखी हाम्रा सबै क्रियाकलाप त्यसतर्फ केन्द्रित गर्दै सवै नगरवासीको रहर, हरित र समृद्ध घोराही शहर भन्ने मूल नारालाई सार्थक तुल्याउनु हाम्रो प्रमुख कर्तव्य हुने छ ।

आदरणीय सभासद्ज्यूहरु

आर्थिक वर्ष २०७४।०७५ को वार्षिक नीति तथा कार्यक्रमलाई समृद्ध उममहानगरपालिका निर्माणको आधार वर्ष घोषणा गर्दै मिति २०७४।५।३ गते प्रस्तुत नीति तथा कार्यक्रमलाई मुख्य मार्गदर्शनका रुपमा लिई सोही दिशाउन्मुख नीति तथा कार्यक्रम एवं बजेट निर्माण गरिएको छ । घोराही उपमहानगरपालिकाको पहिलो नगर सभाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक एवं नगर उपप्रमुखको हैसियतले यो सम्मानित सभामा आ.व. २०७४/०७५ को बजेट प्रस्तुत गर्न पाउँदा हामी सबैलाई गौरवको अनुभूति भएको छ | म आफू पनि निकै हर्षित छु |

आदरणीय सभासद्ज्यूहरु

हामी निर्वाचित भएर आइसकेपछि हालसम्म भएका भए गरेका मुख्य मुख्य क्रियाकलापहरुको समीक्षा प्रस्तुत गर्न चाहान्छु ।

  • हामी निर्वाचित भएर आईसकेपछि सबै वडा कार्यालयको स्थापना गरी वडा कार्यालयबाट सेवा प्रवाहको सुनिश्चिततता गरिएको छ । सानो सानो कामका लागि पनि उपमहानगरपालिकाको केन्द्रीय कार्यालयमा आउनु पर्ने अवस्थाको अन्त्य भएको छ । निकट भविष्यमा योजनाको सम्झौता, फर्छ्यौट, सामाजिक सुरक्षा भत्ताको प्राप्ति, करको दाखिला लगायतका सबै कामहरु वडाबाट नै सम्पादन हुने गरी व्यवस्थाका लागि गृहकार्य भईरहेको रहेको छ ।
  • हामी जनप्रतिनिधहरुको आगमनसँगै संघीय व्यवस्था अनुसार बनाउनु पर्ने स्थानीय तह संचालनका ऐन, कानून, कार्यविधिहरुको निर्माण कार्यलाई प्राथमिकताका साथ निमार्ण गरि संचालन ल्याईएको छ।
  • उपमहानगरपालिकाले सुरु गरेको पाक्षीक सरसफाई अभियानलाई निरन्तरता दिइएको छ ।साथै, पछिल्लो चरणमा सरसफाई अभियानमा संस्थागत सहभागिताको वढ्न गई सरसफाई अभियानले दीगो रुप धारणा गरेको छ ।
  • नगरबाट निस्कने फोहोरको स्रोतमा नै वर्गिकरण गरी गल्ने फोहोर र नगल्ने फोहोर अलग अलग उठाउने प्रवन्ध मिलाईएको छ। साथै फोहोर व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि लैजानको लागि सवारी साधनको खरिद प्रक्रियालाई अगाडि बढाइएको छ ।
  • अविरल वर्षाबाट आएको बाढिका कारण प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत, पुर्नस्थापनाको कामलाई स्थलगत रुपमा अवलोकन गरी आवश्यक राहत प्रदान गरियो ।
  • संविधानको धारा २१७ बमोजिमको न्यायिक समितिलाई पूर्णता दिई स्थानीय विवादहरुको निरुपण गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाइएको छ ।
  • जेष्ठ तथा अशक्त नागरिकहरुलाई घर दैलोमा पुगेर नै स्वास्थ सेवा पुर्याउने कामको सुरुवात गरिएको छ ।
  • ज्यामिरे ताल बराह क्षेत्र एकिकृत विकास परियोजना संचालनको अवधारणालाई स्थलगत निरिक्षणका आधारमा अगाडि ल्याईएको छ।
  • नागरिकको जीवनमा महत्वपूर्ण भूमिका रहने घटना दर्तालाई अन लाईन दर्ता गर्ने व्यवस्था मिलाईएको छ।

आदरणीय सभासद्ज्यूहरु

अब म यस सभामा बजेटको सारांश प्रस्तुत गर्न गईरहेको छु |

आर्थिक  वर्ष २०७४।०७५ को लागि कुल बजेट १ अर्ब  ३५ करोड ८० लाख २५ हजार अनुमान गरिएको छ । जसमध्ये चालु तर्फ ५५ करोड ८९ लाख २० हजार अर्थात कुल बजेटको ४१ दशमलब १६ प्रतिशत विनियोजन गरिएको छ भने पूँजी निर्माण तर्फ ७९ करोड ९१ लाख ५ हजार अर्थात ५८ दशमलब ८४ प्रतिशत छुट्टाइएको छ।

पूँजी निर्माणमा छुट्टाइएको बजेट मध्ये सार्वजनिक निर्माण तर्फ ६४ करोड ८४ लाख ७० हजार अर्थात कुल बजेटको ४७ दशमलब ७५ प्रतिशत छुट्टाइएको छ । बाँकी पूँजिगत बजेट रु १५ करोड ६ लाख ३५ हजार अर्थात ११ दशमलब ०९ प्रतिशत रकम वडा कार्यालयको भवन निर्माण, जग्गा खरिद, बारुण यन्त्र खरिद र फोहोरमैला व्यवस्थानका लागि प्रयोगमा ल्याईने सवारी साधनको खरिद र र सूचना प्रविधिका क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाईएको छ । प्रत्येक वडाको विकासका लागि वडास्तरीय योजना तथा कार्यक्रमका लागि १८ करोड १० लाख ७० हजार कुल बजेटको १३ दशमलब ३३ प्रतिशत छुट्टाइएको छ । त्यसैगरी नगरस्तरीय दीर्घकालीन तथा अल्पकालीन योजनाका लागि रु ४६ करोड ४४ लाख अर्थात ३४ दशमलब ४२ प्रतिशत बजेट विनियोजन गरिएको छ। व्यय सम्बन्धि विस्तृत विवरण अनुसूची ३ उल्लेख गरिएको छ ।

अब म क्षेत्रगत व्यय अनुमानको विवरण पेश गर्न चाहन्छु । 

कृषि क्षेत्र

घोराहीको समृद्धिलाई कृषिसँग जोडदै कृषिमा व्यवसायीकरण र आधुनिकरण गर्नको लागि  २ करोड ९६ लाख ३८ हजार ४ सय ६० विनियोजन गरिएको छ । यो बजेटमा नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण र आन्तरिक आय दुवै समावेश छ। यसैगरी नगरबासीहरुलाई स्वस्थकर मासुको उपभोगको लागि ‘‘स्वस्थ र स्वच्छ मासु, बधशालादेखि भान्छासम्म’’ अभियानलाई संचालन गर्न निजी क्षेत्रको सहकार्यमा बधशाला निर्माण गर्नको लागि पहिलो चरणमा रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

उद्योग तथा वाणिज्य

‘उद्योगको विविधिकरण, रोजगारीको सुदृढिकरण’ अभियानलाई सफल बनाउन र घोराही उपमहानगरपालिका भित्र छरिएर रहेका उद्योगहरुलाई एकिकृत रुपमा संचालन गर्न र उद्योगलाई चाहिने पूर्वाधारको एकिकृत विकास व्यवस्थापन गरी औद्योगिकरणलाई तिव्रता प्रदान गर्नका लागि घोराही उपमहानगरपालिका वार्ड नं ३ र ५मा औद्योगिक क्षेत्र स्थापनार्थ सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको छ । साथै उद्योग वाणिज्य संघ तथा अन्य व्यापारिक संघसंस्थाहरुसँगको साझेदारीमा कार्यक्रम संचालन गर्नको लागि विभिन्न शीर्षकमा रु७ लाख बजेट विनियोजन गरिएको छ ।

पर्यटन पूर्वाधार

घोराही उपमहानगरपालिकामा पर्यटनको आगमन बढाउन र बसाईलाई गुणात्मक बनाउन यस क्षेत्रमा बहुपक्षीय तवरले सम्बोधन गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्धनका लागि रु१० लाख विनियोजन गरिएको छ भने पर्यटनसँग जोडिएको घोराही हिलपार्क निर्माणका लागि रु२० लाख विनियोजन गरिएको छ भने बुढाकोट मौलाकोट प्याराग्लाइडिङ्गको सम्भाव्यता अध्ययनको लागि बजेट विनयोजन गरिएको छ भने ज्यामिरे दह-बराह क्षेत्र एकिकृत विकास परियोजना निर्माणको कामलाई यसैवर्ष देखि सम्भाव्यता अध्ययन गर्न शुरुवातको प्रवन्ध मिलाइएको छ ।

सहकारी  क्षेत्र तर्फ

ग्रामीण तहका जनताहरुमा वित्तीय साक्षरता मार्फत सहकारी चेतना अभिवृद्धि,  बचत गर्ने बानीको विकास गर्नको लागि जानकारीमूलक र सचेतनामूलक कार्यक्रमका लागि रु१० लाख बजेट  विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्र तर्फ

विद्यालय शिक्षालाई समतामूलक र गुणस्तरीय बनाउँदै विद्यालयको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नको लागि रु २८ करोड ३२ लाख ९० हजार विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्र तर्फ

नगरबासीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन, स्थानीय तहले संचालन गर्ने भनि तोकिएका स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको प्रभावकारी रुपमा संचालन गर्न र सार्वजनिक, निजी तथा सामुदायिक स्वास्थ्य संस्थाको गुणस्तर व्यवस्थापन तथा नियमन गर्न ५ करोड ५८ लाख ७७ हजार विनियोजन गरिएको छ । त्यसैगरी राप्ति उपक्षेत्रीय अस्पतालमा बाल बालिकाहरुका लागि सघन उपचार कक्ष संचालनका लागि रु२० लाख बजेट विनियोजन गरिएको छ।

खानेपानी तथा सरसफाई

नगरबासीहरुलाई आधारभूतस्तरको खानेपानी सेवामा पहुँच सुनिश्चितता गर्न र खानेपानी तथा सरसफाई क्षेत्रको क्षेत्रगत विकास गर्नको लागि रु३ करोड ८७ लाख ९० हजार विनियोजन गरिएको छ ।

संस्कृति प्रवर्द्धन

हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने भावनालाई आत्मसात गर्दै विभिन्न जातजातिहरुको मौलिक संस्कृति र सभ्यताको संरक्षण तथा सम्वर्द्धन र संग्रालयहरुको विकास र विस्तारका लागि रु८२ लाख ७५ हजार विनियोजन गरिएको छ ।

खेलकूद तथा मनोरञ्जन

खेलकुद सबैका लागि M खेलाडी राष्ट्रका लागि भन्ने राष्ट्रिय भावनालाई मूर्तरुप दिन र घोराहीलाई खेलकूल क्षेत्रको हवको रुपमा विकास गर्नको लागि खेलकूद मैदान निर्माण लगायत राष्ट्रियस्तरका खेलकूल प्रतियोगिता समेत आयोजना गर्नको लागि रु ५५ लाख २५ हजार रुपैया विनियोजन गरिएको छ ।

लैगिङ्ग समनता र सामाजिक समावेशीकरण

लैंगिक समानता आजको आवस्यक्ता, सामाजिक समावेसशकरण अहिलेको अपरिहार्यता  भन्ने भनाईलाई आत्मसात गर्दै विभिन्न कारणले विकासको मूल प्रवाहमा आउन नसकेका महिला, दलित, अपांग, अल्पसंख्यक, आदिवासी जनजाती, मुक्तकमैया कम्लहरी, बालबालिका, द्वन्द पीडित तथा युवाहरुको शसक्तिकरण, सवलिकरण तथा क्षमता अभिबृद्धीका लागि रु.२ करोड १५ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । साथै नगरपालिका भित्रका विषयगत कार्यालयहरुसँग समन्वय गरी कार्यक्रम संचालन गर्नको लागि ८ लाख ६१ हजार बजेट विनियोजन गरिएको छ ।

स्थानीय सडक

सडकको सुविधा जताततै, यातायातको अभाव हुने छैन कतै’ भन्ने घोराही उपमहानगरपालिकाको मर्मलाई साकार पार्नको लागि अहिले रहेका सडकहरु नियमित मर्मत सम्भार, सडकको स्तर उन्नती, सडक कालोपत्रे, तथा नगर केन्द्रदेखि वडा कार्यालयसम्मको सडक बाह्रै महिना चल्न सक्ने बनाउनको लागि रु ३३ करोड ४५ लाख ७६ हजार विनियोजन गरिएको छ ।

सिँचाई

कृषिका लागि सिँचाई आर्थिक उन्नतिका लागि उचाई हो भन्ने मान्यताका साथ खेतीयोग्य जमीनमा सिँचाई सुविधा पुर्याउन र सिँचाईका साना साना मागहरुलाई समेत सम्वोधन गरी उपयुक्त प्रविधिको प्रयोग, सिँचाईका पूर्वाधार मर्मत सम्भार र स्तरोउन्नतीको लागि रु२ करोड  २६ लाख  २५ हजार वजेट विनियोजन गरिएको छ ।

 भवन तथा शहरी विकास

भवन तथा शहरी विकासका लागि शव दाह व्यवस्थापन, नगर भित्रका सामुदायिक भवनहरुको निर्माण तथा स्तरोउन्नती, कार्यालय परिसर स्तरोउन्नती, भूकम्प प्रतिरोधि भवन निर्माण सम्बन्धि जनशक्ति विकास लगायतका क्षेत्रमा खर्च गर्ने गरी रु १ करोड ७५ लाख ७१ हजार विनियोजन गरिएको छ । वार्ड नं १४ र १५ मा  चालु आर्थिक वर्षमा सघन शहरी विकास कार्यक्रम लागू गर्नको लागि नेपाल सरकार सहरी विकास मन्त्रालयसंघ आवश्यक गृहकार्य भईरहेको व्यहोरा समेत यस सम्मानित सदनलाई जानकारी गराउँदछु ।

उर्जा

उज्यालो घोराही, रमाईलो बसाई’ भन्ने भावनालाई आत्मसात गर्दै उपमहानगर भित्रका सबै बासिन्दाहरुमा उज्यालो पुर्याउनका लागि विद्युत विस्तार र सोलार जडानका लागि रु.१ करोड ८० लाख ५५ हजार विनियोजन गरिएको छ ।

सञ्चार

जहाँ सञ्चार त्यहाँ संसार’ भन्ने भनाईलाई आत्मसात गर्दै सबै नगरबासीहरुलाई सञ्चारसँग जोड्न, संचारकर्मीहरुको संस्थागत विकास गर्न, संचारकर्मीहरुलाई प्रोत्साहन गर्नको लागि हरेक वर्ष नगर सेवा र विकासका क्षेत्रमा कलम चलाउने उत्कृष्ट संचारकर्मिलाई पुरस्कृत गर्ने रकमको दीर्घकालीन स्रोत सुनिश्चितताको लागि पत्रकार अक्षय कोष स्थापना र संचार क्षेत्रको विकासका लागि ७ लाख विनियोजन गरिएको छ ।

 वन तथा भू-संरक्षण

नगर क्षेत्र भित्रको वन, जलाधार, जैविक विविधता संरक्षण र व्यवस्थापनका कार्यक्रमहरु संचालनका लागि रु५८ लाख ८० हजार विनियोजन गरिएको छ । साथै यस उपमहानगरपालिका क्षेत्र भित्र हुने भूक्षय नियन्त्रण लगायतका कार्यक्रमका लागि लागि रु.५८ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।

जलाधार संरक्षण

जलाधार जोगाऔँ, वातावरण बचाऔँ’ भन्ने उद्धेश्यका साथ यो क्षेत्रमा रु२ करोड १६ लाख ५० हजार वजेट विनियोजन गरिएको छ ।

वातावरण संरक्षण, जलवायु परिवर्तन

घोराहीमा हरियाली, घरघरमा खुशीयाली’ कार्यक्रमलाई मूर्त रुप दिन शहरका विभिन्न क्षेत्रमा वृक्षारोपण र हरित पार्क निर्माण गर्नको लागि रु ९५ लाख वजेट विनियोजन गरिएको छ

फोहोर मैला व्यवस्थापन

फोहोरको वर्गिकरण गरी उचित प्रशोधन प्रणालीको अवलम्वन गर्न प्लाष्टिक तथा सोबाट निर्मित वस्तुहरुको पुनर्प्रयोग, पुनर्प्रशोधन र नविकरणका कार्यक्रम संचालन गरी आम्दानीको स्रोत बढाउन र सार्वजनिक शौचालय, व्यवस्थित फोहरमैला प्रशोधन केन्द्र निर्माण र छाडा पशु चौपाया नियन्त्रणका लागि रु२ करोड ८७ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ ।

विपद् व्यवस्थापन

भैपरी आईलाग्ने विपतहरुको व्यवस्थापन गर्नको लागि रु१ करोड बजेट ३९ लाख बजेट विनियोजन गरिएको छ । साथै जल उत्पन्न प्रकोपको न्यूनीकरणको लागि १६ लाख ५० हजार बजेट छुट्टाइएको छ भने बारुण यन्त्र  खरिदका लागि रु ८० लाख बजेटको व्यवस्था गरिएको छ  ।

सामान्य प्रशासन

घोराही उपमहानगरपालिकामा लामो समयसम्म कार्यरत कर्मचारीहरुले स्वेच्छिक अवकाश लिन चाहेमा सुनौलो अवकाश योजनामा सहभागि बनाई आकर्षक रकम सहित विदाई गर्नको लागि रु १ करोड रकम विनियोजन गरिएको छ ।

सुरक्षा व्यवस्थापन

 घोराही नगर  शून्य अपराध र  सुरक्षित नगर’ को अवधारणालाई मूर्त रुप दिन र प्रत्येक नागरिकलाई सुरक्षाको प्रत्याभुत गराउनको लागि बजारको मूख्य- मूख्य क्षेत्रमा जडान गरिएका सिसि क्यामेराको नियमित व्यवस्थापनका लागि रु५ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

सूचना प्रविधि

यस उपमहानगरलाई आधुनिक सूचना प्रविधिमा जोड्नका लागि सूचना प्रविधि अनुसन्धान तथा विकास केन्द्रसँगको सहकार्यमा स्मार्ट सिटी, डिजिटल घोराहीको अवधारणालाई मूर्तरुप दिन र उपमहानगरको वस्तुगत विवरण अध्यावधिक गर्न रु२५ लाख वजेट विनियोजन गरिएको छ ।

पञ्जिकरण व्यवस्थापन

व्यक्तिगत घटना दर्तालाई सूचना प्रविधिमा आधारित बनाउन र स्थानीय स्तरका  तथ्यांकहरुको संकलन अभिलेखिकरण कार्यलाई व्यवस्थित गर्नको लागि रु६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

अनुसन्धान तथा विकास

उपमहानगरपालिकाको दीर्घकालिन विकासमा टेवा पुर्याउने विकास आयोजनाहरु (अन्तराष्ट्रिय विमानस्थल, बाहिरी चक्रपथ, चिडियाखाना, हाईड्याम, औद्योगिक क्षेत्र, सार्वजनिक अपार्टमेन्ट, आकाशे पुल निर्माण तथा उपमहानगरको गुरुयोजना) को सम्भाव्यता अध्ययनका लागि रु१ करोड ५० लाख विनियोजन गरिएको छ | उपमहानगरपालिका भित्रका विषयगत कार्यालयहरुसँग समन्वय गरी कार्यक्रम संचालन गर्नको लागि रु८ लाख ६१ हजार बजेट विनियोजन गरिएको छ ।

धन्यवाद  मिति : २०७४ भाद्र १६ गते शुक्रवार रोज ६ सुभम् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *