उपमहानगरको असन्तुलित बजेट

  
  प्रकाशित मितिः बिहिबार, भदौ २२, २०७४       | 140 Views   ||

घोराही उपमहानगरपालिकाले गत साता आफ्नो पहिलो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । कूल १ अर्ब ३५ करोड ८० लाख बढीको बजेट कार्यक्रम हेर्दा जनताले आशा गर्ने ठाउँ त्यति देखिएन । नीति, कार्यक्रममा केही आकर्षण दिने कोशिस गरिए पनि बजेट बाँडफाँड हेर्दा उहीँ परम्परागत राजनीतिक स्वार्थभन्दा माथि उठ्न सकेको देखिदैन । जसले गर्दा बजेट वितरण निकै असन्तुलित देखिन्छ ।

बजेट विनियोजन गर्ने जनप्रतिनिधिहरुले नै आफ्नै घरआँगन र आफ्नो राजनीति अनुकूल ठाउँहरुमा ठूलो रकम खन्याएपछि अन्यत्र कसरी विकास हुन्छ ? अझ यतिसम्म कि साविक गाविस वा नगरपालिकाले छुट्याएको विकास बजेट समेतलाई कटाएर आफ्नो स्वार्थपूर्तिका ठाउँमा हालेको देखिन्छ ।

बजेटको प्रकृति हेर्दा विकासमैत्रीभन्दा अनियमितताका लागि वितरणमुखी बढी देखिन्छ । धेरै बजेट शीर्षकहरु प्रष्ट र पारदर्शी छैनन् । त्यस्तै सामाजिक क्षेत्रमा सबलीकरण, सशक्तिकरण, क्षमता अभिवृद्धि, सचेतना, तालिम, पुरस्कार, सम्मान भन्दै ठूलो रकम छुट्याइएको छ । शीर्षक हेर्दा केही अनावश्यक र प्रत्युत्पादक ठाउँमा बजेट खर्चिएको देखिन्छ र त्यहाँ आर्थिक चलखेल हुने प्रशस्त ठाउँ देखिन्छ ।

सम्भाव्यता अध्ययन भनेर विमानस्थल, बाहिरी चक्रपथ, औद्योगिक क्षेत्र लगायतका शीर्षक राखेर डेढ करोड रकम छुट्याइएको छ, जब कि ती ठाउँको अध्ययन यसअघि नै भइसकेको छ । फेरि अध्ययन गर्नुपर्ने भए यही उपमहानगरपालिकाभित्र त्यत्रो रकम खर्च हुने अवस्था कसरी आयो ? सोही अनुपातमा वडाहरुले पनि भ्रमण, अवलोकन भनेर लाखौं रकम छुट्याएका छन् ।

यसरी हेर्दा उपमहानगरपालिकाको बजेटमा कुनै नयाँपन, गुणस्तरीयता र जनताका लागि उत्साहपूर्ण छैन । यही तरिकाको बजेटले समृद्ध निर्माणको आधार बर्षको रुपमा घोराही उपमहानगरपालिका कसरी स्थापित हुन सक्छ ? उपमहानगरपालिकाका नीति, कार्यक्रम पनि दीर्घकालीन सोच र रणनीतिका छैनन् । कृषिलाई प्राथमिकता दिनुपर्नेमा बजेटको मात्रा निकै कम देखिन्छ ।

बजेट विनियोजित गर्दा कम्तीमा पनि एक गाउँ एक आवश्यक गुणस्तरिय विकासको नीति जनप्रतिनिधिले अबलम्बन गर्न जरुरी छ । हामीले विकास र समृद्धिका नारा लगाउने जनताको हक, अधिकार सहितको स्थानीय तहको सिंहदरबार पनि भन्ने अनि व्यवहारमा उही पुरानो ढर्राको ठग सोच, चिन्तन र जमिन्दारी शैली र मालिकपन देखाउने हो भने जनताका लागि यो गणतन्त्रको के अर्थ ?

नयाँ र जनमुखी संविधानअनुसार राज्यको पुनःसंरचना मुताविक अघि बढिसकेपछि जनप्रतिनिधिहरु चुनाव लड्दाको जस्तो पार्टी नेता, कार्यकर्ता भएर चल्नु भएन । पार्टीका लागि भोट बटुल्ने तरिकाले राज्यकोषलाई आफू मर्जी तरिकाले चलाउनु हुँदैन । नयाँ संरचनाअनुसार चल्दा शुरुमै भ्रष्टाचारको आधार तयार पार्ने गरी ल्याउने बजेट र नीति कार्यक्रमले सुशासन र उज्यालोतिर होइन उही कुशासनको अँध्यारोतिर देशलाई लैजान्छ । यसमा जनप्रतिनिधिहरु सचेत हुन आवशयक छ ।

जनतालाई विकासतर्फ डो¥याउने जिम्मेवारी र दायित्व बोकेका जनप्रतिनिधिहरु साँच्चिकै जनताको सेवक भएर इमान्दारीसाथ आफ्नो कर्तव्य पूरा गर्न आवश्यक छ । यो उप–महानगरपालिकाको विकास र समृद्धिका लागि जनप्रतिनिधिहरुले सबै दल र सामाजिक क्षेत्रसँग समन्वय गरेर विकासका साझा अवधारणा ल्याउन सक्नुपर्दछ भने सबै ठाउँको समान विकास हुने गरी बजेट सन्तुलनलाई मिलाउन सक्नुपर्दछ ।

अझै बजेट परिमार्जित गर्न सकिने ठाउँ भए बजेट नपुगेका गाउँ, ठाउँका समस्यालाई हेरेर काम गर्न आवश्यक छ र घोराही उपमहानगरपालिका प्रदेशको राजधानी बन्ने ठाउँ भएकाले यहाँका प्रतिनिधि र प्रमुखहरुले हरेक सोचाई अनि काम माथि उठेर गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *