टेलिकम भन्छ : असी प्रतिशत जनता लाभान्वित
नवीन लोचनमगर
रोल्पा । रोल्पाका केही गाउँपालिका अहिले पनि फोन सेवाको पहुँचबाहिर छन् । गाउँपालिका केन्द्र भएकै ठाउँमा दुरसञ्चारका कुनै पनि सेवाको पहुँच नहुँदा दैनिक कामकाजमा समेत बाधा हुँदै आएको छ ।
दुईखोली गाउँपालिका र सुकिदह गाउँपालिका केन्द्र रहेको स्थानमा अहिलेसम्म आंशिक फोनसेवा समेत उपलब्ध छैन ।
‘सबैभन्दा समस्या देखिएको दुईखोली र सुकिदह गाउँपालिकामा हो’ नेपाल टेलिकम दुरसञ्चार कार्यालय रोल्पाका प्रमुख कैलाश आचार्यले भने ‘यी गाउँपालिकाका कार्यालय निकै खोंचमा भएकाले सेवा प्रवाहमा समस्या परेको हो ।’
दुई गाउँपालिकामा टेलिकम सेवा शुन्य छ भने अन्य गाउँपालिका केन्द्रमा समेत अनियमित अवस्थामा छ । ‘कहिलेकाँही कोठामै राम्रो काम गर्छ, कहिले डाँडामा पुग्दा पनि धौ धौ काम गर्छ’ सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले भने ‘प्रभावकारी फोन सेवाका लागि टेलिकमसँग छलफल गरिरहेका छौं ।’
माग आए सिफारिस गर्छौंः टेलिकम
गाउँपालिकाका केन्द्रहरुमा फोन सेवा सञ्चालनका लागि कि त सरकारले नीति नै बनाएर अनिवार्य बनाउनुपर्ने कि भने स्थानीयले माग गर्ने बाहेक अन्य उपाय नभएको टेलिकम रोल्पाका प्रमुख कैलाश आचार्य बताउँछन् ।
‘हामीले तलबाट आएको मागलाई सिफारिस गर्नेमात्र हो’ प्रमुख आचार्यले भने ‘केन्द्रले आवश्यकता ठान्यो र स्वीकृत ग¥यो भने मात्र सेवा सञ्चालन हुनसक्छ, अन्यथा सरकारले गाउँपालिका केन्द्रहरुमा अनिवार्य टेलिफोन सेवा हुनुपर्ने नभन्दासम्म सेवा नपाइन सक्छ ।’
प्रविधिको विकाससँगै कम्प्युटर र इन्टरनेटको माध्यमबाट काम गर्नुपर्ने अवस्थामा टेलिफोन सेवा समेत नहुनु दुखद् भने दुईखोली गाउँपालिका प्रमुख निमकान्त डाँगी बताउँछन् । ‘हामी जसरी पनि प्रभावकारी टेलिफोन सेवा सञ्चालन गर्ने योजनामै छौं’ अध्यक्ष डाँगीले भने ‘गाउँपालिका केन्द्रमा टेलिफोन सेवा पु¥याउनु सरकार र टेलिकम स्वयम्को पनि दायित्व हो ।’
असी प्रतिशत फोन सेवा
नेपाल टेलिकम रोल्पा शाखाले जिल्लाको असी प्रतिशत सेवाग्राहीमा सेवा प्रवाह गरिएको बताएको छ । ‘केही टावर निर्माणाधिन अवस्थामा छन्’ टेलिकम रोल्पा प्रमुख कैलाश आचार्यले भने ‘सबै टावर निर्माण भए असी प्रतिशत सेवाग्राही लाभान्वित हुनेछन् ।’
रोल्पामा अहिले १४ वटा टेलिफोन टावर सञ्चालनमा छन् । ५ वटा निर्माणाधिन अवस्थामा छन् भने ८ वटा टावरको अन्तिम सर्भे भइसकेको छ । टेलिकमका अनुसार निर्माणाधिन ५ वटा टावर सम्पन्न भएलगत्तै सर्भे भएका बाँकी ८ वटा टावर पनि निर्माण थालनी गरिनेछ ।
फगाम, जुगार, उवा, राङ्सी र मसिनामा अहिले टावर निर्माणको कार्य चलिरहेको छ । जिल्लाको लिबाङ, घर्तीगाउँ र सुलिचौरमा ल्याण्डलाइन नेटवर्क सेवा सञ्चालित छ । ल्याण्डलाइनका लागि अन्य साना बजार क्षेत्रबाट समेत व्यापक माग आएको टेलिकम प्रमुख कैलाश आचार्यले बताए । कतिपय ठाउँबाट थ्रीजीको माग आए पनि विद्युत सेवा नहुँदा सेवा विस्तार गर्न नसकिएको आचार्यले बताए ।
उनका अनुसार धेरै टेलिफोन टावरहरु विजुलीबाट सञ्चालित छन् भने कतिपय सोलारबाट सञ्चालित छन् । सोलारबाट सञ्चालन भएका टावरहरुमा वर्षाको समयमा केही समस्या हुने गरेको टेलिकमले बताएको छ ।
टेलिकम प्रमुख कैलाश आचार्यका अनुसार यो वर्ष नेपाल टेलिकमबारे खासै गुनासो आएन । फोन सेवाको अनियमितताबारे पहिले धेरै गुनासो आउने गरे पनि अहिले भने गुनासो घट्दै गएको आचार्यले बताए ।

निःशुल्क सिम वितरण
नेपाल टेलिकम क्षेत्रीय कार्यालय र जिल्ला कार्यालयको समन्वयमा रोल्पाको जेल्बाङ र सिर्पमा निःशुल्क १ हजार ६ सय सिम वितरण गरिएको छ ।
जेल्बाङ र सिर्पमा नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आएसँगै सिम वितरणको कार्यलाई अगाडि बढाइएको नेपाल टेलिकम रोल्पाका प्रमुख कैलाश आचार्यले बताए । टावर निर्माणसँगै जिल्लाभर सिमको माग बढ्दै गएको छ । त्यसका साथै ल्याण्डलाइन फोन, एडीएसएल लगायतको माग धेरै आएको टेलिकमले बताएको छ ।
केन्द्रमा माग गरिएकाले अभाव आपुर्ती छिट्टै हुने टेलिकम प्रमुख आचार्यले बताए । उनका अनुसार अहिले सिडिएमए तथा स्काई सिमको माग घट्दै गइरहेको छ ।