दाङलाई प्रदेशको अस्थायी मुकाम तोक्ने सरकारको तयारी- अनन्त

  
  प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४       | 848 Views   ||

दाङ, २५ भदौ । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ले सरकारले चाँडै दाङलाई पाँच नम्बर प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल दाङले आइतबार बिहान घोराहीमा गरेको पत्रकार भेटघाटमा उहाँले यो निर्णय चाँडै हुने बताउनुभयो ।

‘अबको केही दिनमै सरकारले दाङलाई ५ नम्बर प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरेको छ’– उहाँले भन्नुभयो– ‘अरु प्रदेशको मुकाम दावी गरिरहेका सहरहरुको पनि समान विकास हुुनुपर्छ तर भौगोलिक, सामरिक, हावापानी लगायतका अनुकूलताले गर्दा दाङलाई प्रदेशको राजधानी बनाउनु न्यायिक हुन्छ र सरकारले त्यसकै तयारी थालेको छ ।’

उहाँले सरकारले छिट्टै प्रदेश प्रमुखहरु तोक्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो । प्रदेशको राजधानीको लागि अन्य विकल्प नरहेको चर्चा गर्दै उच्च अदालत, प्रादेशिक प्रहरीको मुख्यालय, नेपाल टेलिकमको प्रादेशिक कार्यालयहरु दाङमा स्थापना भइसकेको नेता पुनले बताउनुभयो । केही दिनमै नेपाली सेनाको प्रदेश मुख्यालय पनि दाङमै स्थापना हुने उहाँले बताउनुभयो । नेपाल आयल निगमको प्रदेशस्तरको डिपो पनि दाङमै स्थापना हुने नेता पुनले बताउनुभयो ।

माओवादी दाङलाई प्रदेश राजधानी बनाउन पूर्ण रुपमा लागेको बताउँदै नेता पुनले कांग्रेस, एमालेले पनि प्रष्ट रुपमा दाङ प्रदेश राजधानी बनाउन आधिकारिक निर्णय गरेर आउनुपर्ने बताउनुभयो ।

आगामी संघ र प्रदेशको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने भन्दै नेता पुनले माओवादीले प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपतिको एजेण्डा अघि सारेर निर्वाचनमा होमिएको बताउनुभयो । ‘नेपाली राजनीतिको संसदीय खेल रोक्न र देशको समृद्धि गर्नका लागि अबको विकल्प भनेको प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति नै हो, उहाँले भन्नुभयो, ‘त्यसका लागि हामीले विगतदेखि नै उठाउँदै आएको एजेण्डा छोडेका छैनौं ।’

प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव पाण्डव शर्माले गर्नुभएको थियो भने सहभागीहरुलाई उपाध्यक्ष सन्तोषा अधिकारीले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *