अरूको दुःखलाई महत्व दिनुहोस्

  
  प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४       | 228 Views   ||

कुनै समयमा आयुर्वेद शास्त्रमा चर्चित आचार्य नागार्जुनलाई आफ्नो प्र्रयोगशालामा काम गर्न एकजना सहायकको आवश्यकता प¥यो । त्यसैले उनले नोकरी गर्न इच्छुक कैयौँ उम्मेदवार बोलाए र उनीहरूको परीक्षा लिए । परीक्षापछि अन्ततः उनले दुई उम्मेदवारलाई सम्भावित सहायकका रूपमा छाने ।

दुवै उम्मेदवार बुद्धिमान् र अत्यन्त मेधावी थिए । त्यसैले ती दुईमध्ये कसलाई सहायकको पदमा राख्ने, यो एउटा गम्भीर प्रश्न बनेर उनको दिमागमा उब्जियो । अन्ततः निकै सोचविचार गरिसकेपछि आचार्यले दुवै युवकलाई एउटा पदार्थ दिएर रसायन तयार गरेर ल्याउन अराए ।

दुई दिनपछि ती दुवै आचार्यसामु उपस्थित भए । आचार्यले उनीहरूलाई देख्नेबित्तिकै रसायनबारे सोधे ।

उनको प्रश्न सुन्नेबित्तिकै पहिलो युवकले फुर्तीसाथ जवाफ दियो, ‘गुरुजी, मैले रसायन तयार गरेँ । यद्यपि, मेरा अगाडि अनैकौँ बाधा–अड्चन थिए । मेरी आमालाई निकै ज्वरो आएको थियो । बाबुको खुट्टा दुखेको थियो । भाइको हात भाँचिएको थियो । मैले उहाँहरूको सेवा–सुश्रूषा पनि गर्नु र काम पनि निकै गर्नु थियो । तैपनि, म लगातार हजुरले दिएको काममा काममा लागिरहेँ र अन्ततः सफलता प्राप्त गरेरै छाडेँ ।’

उनको जवाफ सुनिसकेपछि आचार्यले अनुहार केही निन्याउरो पारेर टाउको निहुर्‍याए र अर्को युवकलाई पनि सोही रसायनबारे सोधे ।

तब उसले नम्रतापूर्वक जवाफ दियो, ‘आचार्य, मैले हजुरले दिएको काम गर्नै सकिनँ, किनकि मेरो छिमेकमा बस्ने एक वृद्धा अत्यन्त बिरामी थिइन्, उनी निकै कमजोर थिइन् । उनको हेरचाह गर्ने कोही थिएन । त्यसैले म उनको सेवामा लागिरहेँ । जसले गर्दा मैले रसायन तयार गर्ने समयै पाइनँ ।’

उसको जवाफ सुनेपछि आचार्यको अनुहारमा चमक आयो ।

उनले उसको ढाड थुमथुम्याउँदै भने, ‘तिमी नै यो नोकरीका लागि सही उम्मेदवार हौ । रसायन जीवनको रक्षाका लागि हुन्छ । यसलाई त्यही मानिसले बनाउन सक्छ जसले अरूको दुःख–पीडा बुझ्न सक्छ । यदि त्यो बनाउने मानिस अरूको दुःखदर्दबाट विमुख हुन्छ भने ऊ कसरी योग्य हुन सक्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *