थबाङ पुगेर प्रचण्डले भने– अध्यक्षको होइन, थबाङ्गी जनताको अपहरण भो

  
  प्रकाशित मितिः आइतवार, अशोज १, २०७४       | 1457 Views   ||

नवीन लोचनमगर

रोल्पा, ३१ भदौ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थबाङ गाउँपालिकाका अध्यक्षलाई नभई थबाङ्गी जनतालाई अपहरण गरेको बताएका छन् ।

शनिबार रोल्पाको थबाङमा आयोजित गाउँसभालाई सम्बोधन गर्दै प्रचण्डले विप्लव नेतृत्वको नेकपाले आफ्नै थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई अपहरण गरी कायरता देखाएको आरोप लगाए ।

संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले जन्माएको बच्चा भएको भन्दै प्रचण्डले प्रश्न गरे – ‘के आफैले जन्माएको बच्चालाई मेरो होइन भन्दै लत्याउने काम राम्रो हो ?’ यसलाई हुर्काउने भन्दा पनि मार्न खोजेर नेकपाले अमानवीय कार्य गरेको उनको आरोप थियो ।

गाउँपालिका अध्यक्षलाई अपहरण गरेर कहिल्यै भलो नहुने भन्दै प्रचण्डले जनताको नाम बेचेर जनताको अधिकारमाथि खेलवाड गर्ने अधिकार कसैलाई नरहेको बताए । ‘मलाई ठूलो पीडा महसुस भएको छ’, माओवादी अध्यक्ष प्रचण्डले भने, ‘जनताको नाममा गरेँ भन्नुभएको होला तर उहाँहरुले सिधै जनतालाई चोट पु¥याउनुभएको छ ।’

स्थानीय सरकार ‘जनसरकार’

जनयुद्धका क्रममा थबाङबाटै जनसरकारको घोषणा गरेर जनसत्ता सञ्चालन गरेको स्मरण गर्दै माओवादी अध्यक्ष प्रचण्डले अहिलेको सरकार पनि जनसरकार नै भएको बताए ।

‘हिजो पनि हामीले जनसरकार चलाएका थियौं, तर त्यसबेला राष्ट्रियरुपमा मान्यता पाएको थिएन’, प्रचण्डले भने ‘अहिले जे बनेको छ यो पनि जनसरकार नै हो ।’

माओवादी जनयुद्ध तथा थबाङ्गी जनताकै कारण मुलुकले काँचुली फेरेको बताउँदै प्रचण्डले थबाङका जनता कसैको डर धम्की र धाकका पछाडि नलाग्ने विश्वास व्यक्त गरे । थबाङ्गी जनताले देशकै नाम राखेको भन्दै प्रचण्डले थबाङको प्रशंसा समेत गरे ।

रोल्पाको विकासमा प्रतिवद्ध

पूर्व प्रधानमन्त्री प्रचण्डले रोल्पाको विकासमा आफू सदैव प्रतिवद्ध रहेको बताए । ‘पहिलोपटक प्रधानमन्त्री बन्दा मैले सहिदमार्गको बाटो निर्माणका लागि पहल गरेको हुँ’ दाहालले भने ‘थबाङ गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन पहल गर्नेछु ।’

पहिलो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुई थबाङ क्षेत्रबाट निर्वाचित प्रचण्डले थबाङमा तटबन्ध निर्माण, १५ शैयाको अस्पताल निर्माण लगायतका कार्यलाई अगाडि बढाउन आफूले पहल गर्ने बताए ।

थबाङलाई छुट्टै गाउँपाकिा बनाउने र थबाङमै केन्द्र राख्ने भनेर नेकपाकै केन्द्रस्तरका नेताहरुले माग राखेको स्मरण गर्दै प्रचण्डले आफैले खनेको बाटोमा उल्टो हिड्ने दुस्साहस गरेको आरोप लगाए ।

अहिले पनि रोल्पाको थबाङ र पूर्वी रुकुमका गाउँपालिकालाई मिलाएर छुट्टै जिल्ला बनाउनका लागि थबाङकै पूर्व सांसद बर्मन बुढालगायत रुकुमका केहीले आफूलाई आग्रह गरेको समेत प्रचण्डले खुलासा गरे । उनले संघीयता कार्यान्वयन अभ्यासकै क्रममा रहेकाले जनताको अनुकुलतामा भौगोलिक हेरफेर, नामांकन लगायतका कार्य अझै तलमाथि हुनसक्ने बताए ।

माओवादी केन्द्रकै कारण थबाङ गाउँपालिकाः पुन

पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले माओवादी केन्द्रको पहलकै कारण थबाङ गाउँपालिका बनेको दावी गरे । आवश्यक मापदण्ड नपुग्दा पनि संरक्षित गाउँपालिकाको रुपमा खडा गर्नेमा माओवादीकै योगदान रहेको अनन्तले चर्चा गरे ।

आफ्नै घरदैलोमा आएको अधिकारलाई भरपुर प्रयोग गरेर आर्थिक समृद्धि, राजनीतिक, सामाजिक रुपान्तरणका लागि सबैले हातेमालो गरी अगाडि बढ्न समेत अनन्तले आग्रह गरे ।

अध्यक्षबिना नै गाउँसभा

थबाङ गाउँपालिकाको प्रथम गाउँसभा गाउँपालिका अध्यक्षको उपस्थितिविना नै सम्पन्न भएको छ । शुक्रबार राती गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरको नेकपाले अपहरण गरेर अज्ञात बनाएपछि अध्यक्षको उपस्थितिविना नै गाउँसभा गरिएको हो ।

उपाध्यक्ष रामकिरणी रोकामगरको अध्यक्षतामा आयोजित गाउँसभामा गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

थबाङमा आयोजित गाउँसभामा भने व्यापक जनताको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपाको कुनै गतिविधि नदेखिएको र शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

तस्बिरहरु : जीवन रोका र वर्षमान पुनको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *