बाल्यकालको दशैं

  
  प्रकाशित मितिः शनिबार, अशोज १४, २०७४       | 322 Views   ||

दशैंको मानौं लामो प्रतीक्षा हुन्थ्यो हामीलाई । नयाँ लुगा लगाउने, मिठो मसिनो खाने र रमाइलो गर्ने अवसर हुन्थ्यो त्यो बेला । बर्षमा एकपल्ट घरलाई रंगाएर चिटिक्क पारिन्थ्यो र त्यो देखिन्थ्यो नयाँ कपडा लगाएको कुनै बालकझैं । गाउँलेहरु जम्मा भएर बाटाघाटा र चोकहरुको मर्मत र सरसफाइ गर्थे । धारा, कुवा र जरुवाहरुको समेत रुप फेरिन्थ्यो त्यसबेला । वरपीपलको रुखको हाँगामा बाँधेर वा बाँसहरु ठड्याएर पीङ बनाइएको हुन्थ्यो गाउँमा ।

बाल्यकालको दशैंको एक आकर्षक पक्ष हुन्थ्यो– नयाँ कपडा । आँगनमा ‘खर्रर’ कलको आवाज बजेर दशैं नजिक आउँदै गरेको संकेत गर्दथ्यो । हात पर्नासाथ कपडा लगाएर छिमेकी घरमा पस्थ्यौं हामी । ‘हेर, यसले त नयाँ कपडा लाएछ’ नभनुञ्जेल कपडा देखाउन यताउति फ¥याकफुरुक गरिरहने कसरत हुन्थ्यो । कतिखेर नयाँ कपडाको चर्चा होला र ‘बुबाले ल्याइदिनुभएको दशैंको लागि’ भन्ने अवसर प्राप्त होला भन्ने तीब्र प्रतीक्षा रहन्थ्यो मनमा । अझ कहिलेकाहीं यसो पनि भनिन्थ्यो ‘यो त डबलनेटको कपडा हो एकदम राम्रो ।’ कहिलेकाहीं कसैले नोटिस गरिदिएन वा केही भनिदिएन भने शुरु हुन्थ्यो फेरि अर्को घरमा पस्ने क्रम ।

– रमेश क्षितिज

दशैंमा गाउँ फर्किन्थे लाहुरेहरु । लाहुरेप्रति एक प्रकारको आकर्षण हुन्थ्यो मलाई । कालापहाडबाट फर्किने सबै–सबै आफूलाई लाहुरे भन्थे । काँधमा ठूलो रेडियो भिरेर, मिठा–मिठा गीतहरु घन्काएर गाउँ नै थर्काउँथे उनीहरु । युद्धका कथाहरु सुन्न पाइने, कहिलेकाहीं चकलेटहरु खान पाउने र कहाँ हो कहाँ आफ्नो गाउँभन्दा टाढाको प्रसंग र घटनाहरु सुन्न लालायित हुन्थें म । ती बाल्यकालका स्मृतिहरु जीवनभरी स्मरणीय हुँदारहेछन् । त्यसैले होला उदित नारायणले गाएको मेरो एक गीतमा लाहुरेको कथा यसरी आएको छ–

उकालीकोे एक्लो वर उस्तै छ कि सुक्यो ?
कप्तान बाको लडाइँको कथा कहाँ पुग्यो ?

एक लाहुरे थिए– रावत काका । इन्डियन आर्मीमा थिए उनी । गाउँलेहरु कुरा गर्थे इन्डियातिर पनि घरजम थियो उनको । यहाँ पनि थियो उनको एक परिवार– एक श्रीमती र सानी छोरी । उनीसँग मेरो गहिरो मित्रता थियो किन–किन । गाउँ आएको भोलिपल्ट नै सोधखोज गर्थे उनीहरु । डाँडापाखा, गाउँ र चौतारीमा घुम्थ्यौं हामी । सफा लुगा लगाएर चिटिक्क परेर हिड्थे उनी । कहिलेकाहीं शिकार खेल्न हिड्थे– मलाई लुरुलुरु पछि लगाएर । अनि काँधमा बोकेको बन्दुक चौतारीमा ठड्याउँदै भन्थे उनी, ‘क्या नाम यही हातले खुकुरी उज्याएर ‘साला’ कति शत्रु गिडियो गिडियो । सोलह दिनतक जंगलै जंगल हिडेर बाँचियो खानाबिना– घाँसपात र नुनको टुक्रा खाएर पनि । लगाएको कपडा फुकालेर हातमा हल्लाएपछि हेलिकप्टरले देखेर रेस्क्यु ग¥यो एकदिन ।’

उनी पटक–पटक भन्थे, ‘तर तपाईं चाहिं आर्मी होइन, ‘गभर्नर’ हुने, ‘अञ्चलादेश’ हुने (भइहाले भने यी दुवै पद नेपालमा छैनन्)

जेहोस् दशैं यस्तो एक चाड हुन्थ्यो जसले एकैपल्ट धेरै खुसीहरु लिएर आउँथ्यो ।

प्रत्येकजसो दशैंमा ‘खैराबाङ’ भगवतीको मन्दिर गएर दर्शन गर्नु अनिवार्य नै थियो । हाम्रो परिवारमा मन्दिरमा गएर पूजा गर्ने र रोट चढाउने चलन थियो । अरु–अरुहरु भने बोका, राँगा, हाँस बलि चढाएर पनि पूजा गर्थे मन्दिरमा । मन्त्र, पाठ र श्लोकहरुको लययुक्त ध्वनिले वातावरण नै एक प्रकारको मिठासयुक्त र आध्यात्मिक लाग्दथ्यो ।

दशैंको बिदाको भरपुर उपयोग गथ्र्याैं हामी । लामो समय स्कुल बिदा हुन्थ्यो । बिदामा धेरै होमवर्क नदिने शिक्षकलाई राम्रो शिक्षकको दर्जा दिदै चङ्गा उडाउनु, डण्डिवियो, कपर्दी खेल्नु साह्रै रमाइलो हुन्थ्यो । गाउँको सिरानमा एउटा चिया पसलमा दूध घोटेर बनाएको साह्रै मिठो मिठाइ पाइन्थ्यो । दशैंमा पाएका दक्षिण र आम्दानीको भरपुर उपयोग गथ्र्यौं हामी त्यहाँ ।

रिठ्ठालाई दुइफ्याक पारेर कौडी खेल्थ्यौं । तिहारमा ठूला मान्छेहरुको खाल जमेको हुन्थ्यो । हामी गएर च्याखे खेलाडी बन्थ्यौं । तर त्यो ठूलो खेलमा हामीलाई कहिलेकाहीं ‘ल च्याखे आउट’ वा ‘भुराभुरी आउट’ भनिदिएपछि रिठ्ठाका कौडाले काम पाउँथे । घरमा काठको दराज थियो बाहिर ताला लगाएको तर पल्ला उठाएपछि खुल्ने । आमा त्यसभित्र रुपैयाँ र खुद्रा पैसा राख्नु हुन्थ्यो । ताला दुरुस्त हुँदाहुँदै म भित्रको पैसा निकालेर रिठ्ठाको कौडाको खाल हराभरा बनाउँथे । कहिले मन परेको मिठाइका लागि त्यो दराजको पल्लाले निस्वार्थ सहयोग गर्दथ्यो (धन्यवाद दराजको पल्ला ।)

०००

अहिले पनि दशैंमा गाउँ जाँदा केटाकेटीमा सँगै खेलेको एक थारु साथी टिल्ल मातेर दिउसै मत्थु भएर हिडेको हुन्छ । मलाई देखेर दौड्दै आउँछ र भन्छ, ‘ग्वाचाली डस्यामन भेट हुइ कइकन कहल रलहु अइलो नस्से मजा लागल बा । टुहन् के सकु वात याद बा न ?
(साथी दशैंमा त भेट होला भन्ने लागेको थियो तिमीसँग । आयौ खुसी लाग्यो । तिमीलाई पनि सबै कुरा सम्झना छ नि ?)

०००

चाडबाडको सम्झना गर्दा मैले कहिल्यै नबिर्सिने एक भाग हो मामाघर । ठूलो मामा मेरा नाता सम्बन्धहरुमा आदर्श व्यक्तित्व हुनुहुन्थ्यो । सानैदेखि उहाँप्रति मलाई ठूलो सम्मान र आत्मीयता अनुभूति हुन्थ्यो । धेरै भाञ्जाहरुमध्ये म सबभन्दा प्रिय भान्जा थिएँ उहाँका लागि । कदाचित् कुनै चाडबाडमा म गइनँ भने पनि मामाघरबाट लिन कोही न कोही आइहाल्थ्यो ।

हाम्रो गाउँबाट करिब १ घण्टा हिडेपछि मामाघर पुगिन्थ्यो । ठूलो मामा पौरखी हुनुहुन्थ्यो । जतिसुकै घर बिक्री गर्दै नयाँ बनाए पनि त्यहाँ हुन्थ्यो चिटिक्क बगैंचा, थरिथरिका तरकारी बारी, फलफूल र दूध दिने गाइभैंसीहरु । अनि चाडबाडमा खीरलगायत मिठा–मिठा खानेकुरा खान पाइन्थ्यो मामाघरमा । प्रत्येकपल्ट घर फर्कदा मामा हातमा केही पैसा राखिदिनुहुन्थ्यो जसले गर्दा धेरै दिनसम्म मेरो पकेट गहु्रगो भइरहन्थ्यो ।

हजुरआमा हुनुहुन्थ्यो जो म आउने बाटो हेरेर बस्नुहुन्थ्यो । मामाघरसँग गाँसिएका अनेक–अनेक स्मृति छन् मसँग जो प्रत्येक दशैंमा ताजा बतासजस्तो भएर स्पर्श गर्दछन् मलाई ।

अब हुनुहुन्न हजुरआमा, त्यो घर पनि छैन । मामाहरु बसाइ सरेर कहाँ–कहाँ पुग्नुभयो । कहिलेकाहीं गाउँ जाँदा आफू हुर्के खेलेको आँगन, हिडेको बाटो, बसेको चौतारी पुग्न मन लाग्छ मलाई ।

थारु गाउँमा करिब एक महिना नै नाचगान हुन्थ्यो । गाउँका तन्नेरीहरु मादल बजाउने र वठिनियाँहरु काँसको एक प्रकारको बाजा बजाएर नाच्ने गर्दथे । टह टह जून लागेको बेला कोठासम्म आइपुग्ने बाजा मादल र त्यो लयात्मक कोरसले भने मलाई अनुभूतिमा मीठो संवेग दिएर जान्थ्यो ।

०००

कलेज पढ्न काठमाण्डौं आएपछि संघर्षमय जीवनको शुरुवात भयो । खाना पकाउनु, कपडा धुनुजस्ता सामान्य कामदेखि अध्ययन र जागिरका कामहरुसमेत दैनिकीमा परे । व्यस्त समय सधैंको कुदाकुदबीच दशैंमा घर जाने योजना सधैं प्रियकर भइरहन्थ्यो । संयुक्त र ठूलो परिवार भएकोले सबै जना जम्मा हुनु आफैमा मिठो संयोग हुन्थ्यो । नवरात्रीभरि पूजा हुन्थ्यो घरमा र सँगसँगै उम्रिन्थ्यो खुशीको जमरा । काठमाण्डौं बस्दा पनि आमाले बनाएका सेल, काँक्राको अचार र चहलपहल गाउँको याद भइरहन्थ्यो चाडबाडमा ।

जम्मा दुई बस चल्दथे दाङ–काठमाण्डौं, टिकट पाउनु मुद्दा जिते जत्तिकै हुने । रातभरि छतमा उँघ्दै बुनोटमा र कहिले स्टुलमा बसेर यात्रा गरेको सम्झना भइरहन्छ अहिले पनि । दशैंमा घर फकिर्ने कुराले महिनौंदेखि रोमाञ्चकता ल्याइदिन्थ्यो ।

वि.सं. २०५० को बर्ष जीवनको अहिलेसम्मको एकमात्र दशैं हो जो घरभन्दा बाहिर बितेको छ मेरो । नजिकै तेस्रो बर्षको परीक्षा थियो छोटो अवधिमा दशैंमा जाने र फर्किहाल्ने योजना बनाउँदा मैले बसको टिकट पाउन सकिनँ । ‘मुनाल यातायातको नौलो प्रस्तुति डिलक्स कोच’ मेरो लागि काम आएन ।

त्यति धेरै चहलपहल हुने काठमाण्डौं दशैंमा सुनसानझैं लाग्दथ्यो । म होटलमा खाना खान्थें, घट्टेकुलोमा डेरा थियो । घरका अधिकांश मानिस गाउँ फर्किसकेका थिए । म बसेको तलामा घर नजाने एक्लो व्यक्ति थिएँ म । जति–जति दशैं नजिकिदै जान्थ्यो– काठमाण्डौंको सुनसान र मभित्रको उदासी बढ्दै गइरहेको थियो । साथीहरु सबैजसो गाउँ गइसकेका थिए । टीकाको अघिल्लो दिन होटल मालिकले सूचना जारी ग¥यो– टीकाको दिन आफूहरु टाढा–टाढा जानुपर्ने भएकोले होटेल बन्द ।

कहाँ खाने होला भन्ने सोच्दै कोठा फर्कें । विभिन्न नाम र व्यक्तिहरु सम्झदै बसें र अन्त्यमा सोचें– रत्नपार्कतिर ‘रिमझिम’ छ त्यतै लाग्नुपर्ला । दशैंको दिन सबै मीठा–मीठा खानेकुरा खाँदै रातो टीका निधारमा लाएर बाटोमा ओहरदोहर गरिरहेका देखिन्थे । म निस्कें घरबाहिर तर रत्नपार्क त के पूरै काठमाण्डौं चक्कर लाइसक्दा पनि खाना खाने ठाउँ फेला परेन । पसलहरु बन्द थिए र सुनसान सडकमा म घरि यता घरि उता कुदिरहेको थिएँ ।

अहिलेजस्तो टेलिफोन मोबाइल थिएन । घरको बेजोडले सम्झना आइरहेको थियो । आमाले बाटो हेरिरहनुभयो होला, बहिनीहरुले नियास्रो माने होलान्, आमाले खानेकुरा भाग लाउनुभयो होला । यस्तै सम्झिदै काठमाण्डौंका गल्ली–गल्ली चहार्दै हिडेको थिएँ । मनको चङ्गा बेतोडले उडिरहेको थियो । उता घरमा सबै सबैले मलाई सम्झिरहेको बेला घरको एक्लो छोरो म एकछाक खानाको लागि भौतारिरहेको थिएँ । दुई बज्दा पनि भोक टार्ने उपाय नभेटेपछि म कोठामा फर्केर उदास भई बसें ।

त्यसैबेला सम्पूर्ण दृश्यहरु उलिर्दै उलिंर्दै एउटा गीतमा पोखिए, ‘दशैं सम्झें तिहार सम्झें– सम्झे अरु चाडहरु । सोचेर बोझ बिसाएजस्तो भयो । फेरि निस्कें म केही खाजासम्म पनि खाने ठाउँ भेटिन्छ कि भन्दै । साँझसम्म पनि कुनै होटल, खाजा खाने ठाउँ नभेटेपछि म कोठामा आएर एक्लै चुपचाप बसें ।

थकित भोकले लखतरान र सम्झनाले पग्लिरहेको मैले राति करिब नौ बजेतिर झल्याँस्स एउटा नाम सम्झे रेवत खरेल । उ कुनै अफिसमा काम गर्दथ्यो र दशैंमा गाउँ गएको थिएन । भोकले तान्दै मलाई उसकहाँ पु¥यायो मैतिदेवीको एक अग्लो घरमा । ढकढक सुनेपछि उसले ढोका खोलेर हे¥यो । भित्र पस्नासाथ मैले स्टोभतिर हेरें त्यहाँ धोइपखालेका भाँडा र कुकर थिएँ ।

के छ खानपान भयो ? मैले सोधें ।

‘अघि नै मासुभात खाएर पल्टेको यार’ उसले प्रसन्न मुद्रामा भन्यो । मासुको रस र भात सम्झेपछि मलाई त झन् औडाहा भयो । उ मसँग कलेज पढ्ने साथी थियो तर म भोकै छु भन्न सकिनँ मैले ।

‘म जान्छु त है यसै पसेको’ मैले भनें हिड्न खोज्दै ।

अनि तिमीले खायौ त खाना ?

‘खाना…’ म अलिक अकमकाएँ । सायद उसले मेरो अनुहार पढ्यो र भन्यो ‘अलिकति मासु छ कुकरमा भात बसाइदिन्छु एकैछिनमा भइहाल्छ नि के गरौं ?

उसले त्यो भनेपछि म एकतमासले प्रफुल्ल भएँ । खाना पाक्दै गर्दा आइरहेको बासनाले झन मेरो भोक तीब्र भइरहेको थियो । त्यो रात खाना खाएर तृप्त हुँदै आफ्नो कोठा फर्कें म रेवतलाई मनमनै धेरै धन्यवाद दिदै ।

‘दशैं सम्झे तिहार सम्झे’ भरत लामाको संगीत र केशव उप्रेतीको स्वर रहेको यो गीत दशैं तिहारमा एकदमै बज्ने गर्छ रेडियोमा । जब–जब म यो गीत सुन्छु म फर्किन्छु त्यो प्रिय अतीतमा आँखाभरि आउँछन् भौतारिदै हिडेको काठमाण्डौंको त्यो भोको दिन, सुनसान सडक, दशैंको त्यो बेला र रातमा गीतका अन्तराहरु गुन्गुनाउँदै कोठा फर्किरहेको एक्लो म ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *