आफ्नो ठाउँको कथा भन्नलाई लेख्छु– नवीन विभास

  
  प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       | 401 Views   ||

दाङ, असोज १९ । बिर्सिने खतरामा रहेका सपनाहरुलाई सम्झाइदिने ‘रोल्पा सुइना’को मंगलबार घोराहीमा चर्चा गरिएको छ । कथा संग्रह ‘रोल्पा सुइना’का जन्मदाता कथाकार नवीन विभास दाङका पाठक, समीक्षकमाझ आफ्नो पछिल्लो कथाकृतिको चिरफारमा सहभागी भए ।

रोल्पा सुइना कथा संग्रह परिचर्चाको मौका जुटाएको थियो शब्दशिखा साहित्यिक अनलाइनले ।

कार्यक्रममा कथाकार नवीन विभासले रोटीकारिता (पत्रकारिता) को क्रममा भेटेका र समाचारमा लेख्न नसकेका कथाहरुलाई पुस्तकका रुपमा लेखेको बताए ।

‘रोटीकारिताको क्रममा पल–पलमा भेटेका र समाचारमा लेख्न नसकेका मनको अन्तरकुन्तरमा रहेका कुराहरुलाई कथामा उजागर गरेको हुँ’ उनले भने, ‘पत्रकारिताको क्रममा द्वन्द्व र माओवादी बीट हेर्ने भएकाले पनि मलाई जनयुद्ध र यसको सामाजिक, साँस्कृतिक प्रभावकाका बारेमा लेख्न सजिलो भयो ।’

कथाकार नवीन विभासले आफ्नो गाउँ ठाउँको कथा भन्नुपर्छ भनेर कथा लेखेको बताए । ‘काठमाडौं गइसकेपछि र अन्य साहित्यहरु पढिसकेपछि लाग्यो– हाम्रा कुराहरु भन्न धेरै बाँकी छ, जो हामीले नभनिदिएपछि कसले भनिदिने ?’ उनले भने, ‘आफ्नो ठाउँको कथा भन्नुपर्छ भनेर लेखेको हुँ । कथामा रोल्पाको लोकल कलरबाट माओवादी आन्दोलनलाई देखाउने कोसिस गरेको छु ।’

रोल्पा सुइना भूइँमान्छेहरुको कथा

दश वर्षे जनयुद्ध र त्यसबाट प्रभावित समाजको कथा बोल्ने ‘रोल्पा सुइना’लाई समीक्षकहरुले जनयुद्धसँग जोडिएर लेखिएको अहिलेसम्मकै सन्तुलित र यथार्थ कृति भएको बताए ।

समीक्षक टीकाराम उदासीले ‘रोल्पा सुइना’ जनयुद्धमा सहभागी भएका वा सहभागी नभए पनि प्रत्यक्ष÷परोक्ष रुपले प्रभावित भूइँमान्छेहरुको कथा भएको बताए ।

‘नवीनले दश वर्षे विद्रोहमा राप्ती क्षेत्र र विशेष गरी रोल्पा, रुकुम र दाङको परिवेशलाई समेटेर यहाँको सामाजिक, साँस्कृतिक पक्ष र यहाँका सीमान्तकृत समुदायका भोगाइलाई कथामा उजागर गरेका छन्, उनले भने, ‘रोल्पा सुइना जनयुद्धको विषय समेटिएको राप्तीको प्रतिनिधि कथा संग्रह हो ।’

लेखनमा आफ्नो अलग्गै शैली बनाएको भन्दै उदासीले नवीनलाई अर्गानिक कथाकारको उपमा दिए ।

जनयुद्धको समर्थन र विरोधमा थुप्रै कृति लेखिएको भए पनि रोल्पा सुइना अरुभन्दा सन्तुलित र यथार्थ रहेको उदासीले बताए । ‘जनयुद्धमा केन्द्रित रहेर लेखिएका युद्ध साहित्यहरुमाझ विश्वासिलो र सन्तुलित कृतिका रुपमा रोल्पा सुइना आएको छ, उनले भने, ‘कथामा सुइना देखाउनेहरुलाई खबरदारी छ, समाज परिवर्तनको आकांक्षा र आशावाद व्यक्त गरिएको छ ।’

अर्का समीक्षक महेन्द्र महकले ‘रोल्पा सुइना’ सपना पूरा नभएको कुरालाई कथामार्फत् प्रस्तुत गरिएको जनयुद्धको कथा भएको बताए । जनयुद्धले गरेको सामाजिक, राजनीतिक परिवर्तनले रोल्पामा के परिवर्तन भयो भन्ने कुरा नवीनका कथाहरुमा सशक्त रुपमा उठाइएको महकले बताए ।

‘जनयुद्धले परिवर्तनबाट रोल्पाले परिवर्तनको अनुभूति गर्न सक्यो कि सकेन ? ती सुइनाहरुको अवस्था के छ भन्ने कुरा कथामा टड्कारो ढंगले उठाइएको छ’ समीक्षक महकले भने, ‘जनयुद्धले देखाएका सपनाहरु के हुन्छन् ? युद्धपछिको सामाजिक मनोदशालाई कथामा मिहीन तरिकाले उठाएका छन् ।’

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. अमर गिरी, अग्रज साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्मा र राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले कथाकार नवीन विभासलाई शुभकामना दिए ।

सो अवसरमा डा. अमर गिरीले रोल्पा सुइना द्वन्द्वलाई विषय बनाइकन लेखिएको सशक्त कृति भएको बताए । ‘नवीन विभासले आफ्नो वैचारिक पक्षधरतालाई यथावत राख्दै सजीव ढंगले द्वन्द्वको चित्रण गर्नुभएको छ, गिरीले भने, ‘द्वन्द्वको कलात्मक, सजीव र यथार्थ चित्रण छ रोल्पा सुइनामा ।’

अग्रज साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले त झन् कथाकार नवीन विभासलाई रुसी उपन्यास अग्निदीक्षाका लेखक ‘अस्त्रोवस्की’कै विशेषण दिए ।

राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले नेपाली आधुनिक कथामा नवीन विभासले स्थानीय बोलीचालीको लवजलाई समेट्नुका साथै नौलो प्रयोग गरेको बताए । रोल्पा सुइनामा पछि पारिएका समुदाय र आवाजविहीनहरुको आवाज रहेको भन्दै खनालले पछि पारिएका पात्रहरुलाई अघि बढ्नका लागि प्रेरणा हुने बताए ।

साङ्ग्रिला बुक्सको प्रकाशन रहेको रोल्पा सुइनामा ३७ वटा रहेका छन् । द्वन्द्वकथा १५ वटा, द्वन्दोत्तर कथा १३ वटा र विविध खण्डमा ९ वटा कथाहरु समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *