वाम एकता अहिलेको आवश्यकता हो

  
  प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४       | 181 Views   ||

– रेखा शर्मा
पूर्वसामान्य प्रशासन मन्त्री

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच प्रारम्भ भएको एकता प्रकृया अहिलेको आवश्यकता भएको बताउँछिन् । समाजवादी क्रान्ति पूराका लागि एजेण्डाका आधारमा दलहरुबीच चुनावी तालमेल र एकता प्रक्रिया प्रारम्भ भएको उनको भनाई छ । पाँच नम्बर प्रदेशको राजधानी, पार्टी एकता, कार्यकर्ताको बुझाइलगायतका विषयमा केन्द्रित भएर शर्मासँग नौलो जनउभार साप्ताहिकका सह–सम्पादक पाण्डव शर्माले गरेको कुराकानी । –सम्पादक

पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङ तोकिने निश्चित भएको हो ?

अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश नम्बर पाँचको राजधानी दाङ सिफारिस गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा दलका प्रतिनिधिहरु सम्मिलित समितिले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी सिफारिस भएको छ । समितिको सिफारिसलाई मन्त्रीस्तरीय निर्णयले समेत स्वीकृति प्रदान गरेको छ । तर, यसको अन्तिम निर्णय भने मन्त्रिपरिषद्को पूर्ण बैठकले गर्नेछ ।

प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिपरिषद्का सबै मन्त्रीहरुको हैसियत प्रधानमन्त्रीको सहयोगीका रुपमा मात्र हुने भएकाले प्रधानमन्त्री नै निर्णायक हुन्छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिमा म पनि थिएँ ।

हामीले निकै जोडबल लगाएर समितिबाट दाङलाई ५ नं. प्रदेशको मुकामका रुपमा सिफारिस गरेका छौं । अब निर्णय गर्ने जिम्मा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाको जिम्मामा गएको छ । दाङलाई अस्थायी मुकाम तोक्नका लागि आफूहरुको तर्फबाट पूर्ण पहल र निर्णय भए पनि अब अन्तिम निर्णयका लागि प्रधानमन्त्रीलाई दबाब दिनुपर्छ । प्रदेशको अस्थायी मुकाम दाङ तोक्ने कि नतोक्ने भन्ने अन्तिम निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने हो । हामीले अहिले प्रधानमन्त्रीलाई निरन्तर दबाब दिइरहेका छौं ।

समितिमा मसहित नेपाली कांग्रेसका नेता आरजु देउवा, एमालेको तर्फबाट राजेन्द्र पाण्डे र राप्रपाबाट भुवन पाठक सदस्य हुनुहुन्थ्यो । समितिमा अन्य विज्ञहरु समेत संलग्न हुनुहुन्छ । विज्ञहरुले पनि दाङ पाँच नम्बर प्रदेशको राजधानीका लागि सबैभन्दा उपर्युक्त जिल्ला भएको बताउनुभएको छ । त्यही आधारमा पनि हामीलाई अस्थायी मुकामका लागि सरकारसँग सिफारिस पेश गर्न थप सहयोग पुग्यो ।

दाङ नै अस्थायी मुकाम हुनुपर्ने कारण के ?

अहिले तोकिने अस्थायी मुकाम नै प्रदेश सभाको निर्वाचनपछि हुने स्थायी राजधानी हो । दाङ यो प्रदेशको राजधानीका लागि सबैभन्दा उपर्युक्त जिल्ला हो ।

प्रशासनिक सुगमताका दृष्टिले सबै जिल्लाहरुको केन्द्र दाङ हो । सामरिक र सुरक्षाका दृष्टिकोणले पनि दाङ उपत्यका चारैतर्फ पहाडले घेरिएको छ । कुनै पनि मुलुकसँग खुला सिमा जोडिएको छैन दाङ उपत्यका । दाङको देउखुरी क्षेत्र भारतीय सिमासँग जोडिए पनि दाङ उपत्यका नजोडिएकाले सुरक्षाका दृष्टिकोणले उपर्युक्त भएको हो ।

यहाँको हावापानी, प्रशस्त खाली जमिन र वातावरण पनि राजधानीका लागि उपर्युक्त छ । प्रदेशको राजधानीमा हवाई उडानसमेत निकै चाप हुन्छ । दाङमा सबै मौसममा हवाई उडान गर्न सकिन्छ । यहाँ बाक्लो कुहिरो र हुस्सु केही पनि लाग्दैन । सबै दृष्टिकोणले दाङ पाँच नम्बर प्रदेशको राजधानी उपर्युक्त छ ।

तपाई रहेको समितिमा यो विषयमा केही विवाद देखिएन ?

अहिले भित्र भएका छलफलहरु बाहिर भन्न उपर्युक्त नहोला । तर, दाङलाई समितिको तर्फबाट राजधानीको सिफारिस गर्न माओवादी केन्द्र र म स्वयंले निकै मेहनत गर्नुप¥यो । बैठकमा मैले निकै अडान लिनुप¥यो । तर, अन्तिममा सबै साथीहरु सहमत हुनुभयो । किनकि दाङबाहेक अरु कुनै जिल्ला राजधानीका लागि उपर्युक्त थिएनन् ।

प्रसंग बदलौं, अहिले माओवादी केन्द्र र एमालेबीच भनिएको तालमेल एकतासम्म हो कि तालमेल मात्र हो ?

अहिलेको एमाले–माओवादी केन्द्रबीचको सहमति आगामी संघ तथा प्रदेशको निर्वाचनमा तालमेल गर्दै पार्टी एकतासम्म जाने भन्ने लक्ष्य हो । तत्काल चुनाव नजिकै आएकाले यो गठबन्धन चुनावकेन्द्रित देखिन्छ । चुनाव सकिएपछि एकतामा जानेछौं ।

के आधारमा एकता हुँदैछ दुई पार्टीको ?

लामो संघर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान जारी भएको छ । त्यो संविधानमै हामीले समाजवादउन्मुख दिशातर्फ जाने भनेर उल्लेख गरेका छौं । अब दुई दलको एउटै बाटो भएपछि एउटै पार्टीमा रहेर काम गर्नुपर्छ भनेर नेतृत्वले सोचेको हो । समाजवादमा जानको लागि संगठनात्मक संरचना पनि बलियो हुन जरुरी छ । त्यसैले हामी त्यस दिशातर्फ गएका हौं ।

यति ठूलो विषयमा कार्यकर्ता तहमा सल्लाहै नगरेर माओवादी नेतृत्व एकाएक एमालेसँग पार्टी एकताको निर्णयमा कसरी पुग्यो ?

पार्टी एकताको कुरा एकाएक आएको होइन । यो लामो छलफल र बहसपछि आएको छ । अर्को कुरा, अहिले नै पार्टी एकता भइसकेको पनि होइन । एकताका लागि संयोजन समिति गठन भएको छ । अब यो विषय दुबै दलले तल्लो तहसम्म पु¥याउँछन् । कार्यकर्ताहरुको छलफलबाट नै एकता पैदा हुन्छ । अहिले केही तत्वहरुले एकता भाँड्नको लागि विभिन्नखाले दुस्प्रचार गरिरहेका छन् । हामी आम पार्टी कार्यकर्तालाई पार्टी नेतृत्वको स्प्रिडमा अघि बढ्न आग्रह गर्दछु ।

यो तालमेलमा मात्रै सीमित हुन्छ । एकतासम्म पुग्दैन भनेर पनि त चर्चा गरिन्छ नि ?

दुई पार्टीबीचको एकता रोक्न राष्ट्रिय/अन्तरराष्ट्रिय समुदायबाट षड्यन्त्र हुनेछ । तर, हामी ती षड्यन्त्रहरुलाई चिर्दै पार्टी एकतासम्म पुग्छौं । एकता अहिलेको आवश्यकता हो । समाजवादी क्रान्तिका लागि अब हामी एक्ला–एक्लै भएर अघि बढ्न सक्दैनौं । त्यसका लागि संगठनात्मक संरचना पनि ठूलो हुन जरुरी छ । यो कुनै स्वार्थ नभएर एजेण्डाको आधारमा एकता भएकाले सफल हुनेछ भन्ने हाम्रो विश्वास छ ।

तपाई मन्त्री हुँदा दाङको विकासका लागि निकै पहल गर्नुभयो । दाङको विकासका लागि अब कुन क्षेत्रमा ध्यान दिनुपर्ने देख्नुहुन्छ तपाई ?

दाङ अत्यन्त धेरै सम्भावना बोकेको जिल्ला हो । हामीले दाङमा रणनीतिक हिसाबले विकासका योजना बढाउनु पर्छ । अहिले पश्चिम नेपालमै दाङ केन्द्रविन्दु बनिरहेको छ । दाङको विकासका लागि हामीले सबैभन्दा पहिले यहाँका सडक सञ्जालहरुलाई विस्तार गर्नुपर्छ । यहाँबाट पहाडी जिल्ला जोड्ने सबै सडकको स्तरोन्नति गर्दै कालोपत्रे गर्नुपर्छ । त्यसैगरी दाङ–सुर्खेत सडकको स्तरोन्नति गर्न जरुरी छ । हामीले दाङमा सिंचाईका लागि दीर्घकालीन गुरुयोजना गराएर काम थाल्नुपर्छ ।

त्यसैगरी यहाँ रहेको विमानस्थललाई नियमित रुपमा सुचारु गर्नुपर्छ । टरिगाउँ विमानस्थलमा इन्धनडिपो स्थापना गर्न जरुरी छ । त्यसैगरी दाङमा हामीले तेस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउन सक्छौं । अहिले भैरहवामा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनिरहेको छ । दाङको आर्थिक विकासको प्रमुख आधार भनेको कृषि हो ।

त्यसैगरी पर्यटन पनि दाङको आर्थिक विकासको आधार हो । हामीले छिमेकी जिल्ला प्यूठानको स्वर्गद्वारी र लुम्बिनीलाई जोड्न सक्यौं भने दाङको आर्थिक विकास गर्न सक्छौं । दाङमा पनि थुप्रै पर्यटकीय गन्तव्य स्थलहरु रहेका छन् । ती स्थानमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ ।

दाङमा अहिले नदी तथा खोलाबाट हजारौं बिघा जग्गा कटान भइरहेको छ । ती जग्गामा तटबन्धन गरेर हामीले व्यवस्थित बस्ती विकास गर्न सक्छौं । यसबाटै हामीले सुकुम्बासी समस्या समाधान गर्न सक्छौं । अर्को कुरा, अहिले दाङमा खानेपानीको समस्या थपिदै गएको छ । अहिले पानीका मुहानहरु सुक्ने क्रम बढेको छ । हामीले जलाधार संरक्षणका लागि ठोस योजना ल्याउन जरुरी छ । यी विभिन्न पक्षमा ध्यान दिन सकेको खण्डमा दाङको विकास व्यवस्थित ढंगले गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *