गिट्टी कुट्दै जनप्रतिनिधि

  
  प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४       | 260 Views   ||

जनक नेपाली

दाङ, असोज २५ । घोराही–१४ की फूलमती नेपालीको आधा जीवन खोलामै बित्यो । घर परिवारको गुजारा गर्न गिट्टी कुट्दै आएकी उहाँको जीवन बाल्यकालदेखि अभावै अभावले बित्यो । घरमा जेठो सन्तानका रुपमा जन्मेपछि उहाँका बाआमाले उहाँको नाम फूलमती राख्नु भएछ ।

सामान्य परिवारमा जन्मेकी फूलमती आफु सानैदेखि अर्काको ज्याला मजदुरी गर्दै आएको अनुभव सुनाउनुभयो । माइती घर हुँदा पनि फूलमतीका बाआमाले अर्काको ज्याला मजदुरी गरेर ल्याएको दुई/चार पैसाले परिवारको गर्जाे टार्दै आएको स्मरण गर्नुभयो । बाआमाले मलाई धेरै अभावबाट जन्म दिएकोले मेरो नाम फूलमती राख्नु भएको रे । जीवनमा धेरै अभाव र गरिबीसँग खेल्दै हुर्कदै आएकी फुलमतीले भने कहिल्यै सुखको सास फेर्न पाउनु भएन । माइती घरमा दुःख सुखले बस्दै आएकी फूलमती बिवाहपछि सुखले बसौंला कि भन्ने ठुलो धोको थियो त्यो पनि जीवनमा अधुरै रह्यो ।

कटुवा खोलाको डिलमा किट्टी कुटेर दिन, रातको छाक टार्दै आएकी फूलमतीबाट अभावका दिन कहिल्यै पराई बनेनन्, बरु त्यही दिनले पछ्याइरहे । दलित भएको कारण अपमान खेप्दै आएकी उहाँले पटक/पटक माथिल्लो जातका घरभित्र पसेको भन्दै धेरैका घरबाट समेत निकालिनुभयो । बर्षले ५० काटेकी फूलमति गाउँमा दलितमाथि हुने विभेदको अन्त्य गर्न भन्दै धेरै आन्दोलनमा लाग्नुभयो तर दलितमाथिको विभेद अन्त्य गर्ने उहाँ केवल सपना मात्र बन्यो । खोलामा टहरोमुनि गुजारा गर्दै आएकी फूलमति गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिका १४ बाट माओवादी केन्द्रको तर्फबाट वडा सदस्यका रुपमा विजयी हुनुभयो । त्यतिबेला उहाँलाई संसार जितेझै लाग्यो ।

‘चुनाव जितेपछि बल्ल हाम्रा दिन पनि फर्किएको जस्तो लाग्यो’, उहाँले भन्नुभयो, ‘अब चुनाव जितेपछि मेरा दुःखका सबै दिन गएजस्तो अनुभूति भयो । अब त गिट्टी कुट्नु पर्दैन होला, सरकारले घर खर्च चलाउनलाई दुई–चार पैसा दिन्छ होला भन्ने सोचें तर रै’नछ ।’
बरु फूलमति वडा सदस्यमा निर्वाचित भएदेखि धेरै गिट्टी कुट्न नपाएको गुनासो व्यक्त गर्नुभयो । ‘परिवारको आम्दानीको श्रोत भनेकै खोलाको गिट्टी कुट्ने हो, त्यहाँबाट आएको दुई÷चार पैसाले घरमा नुन, तेलको जोहो गर्थेँ त्यो हरायो’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधि भएपछि त्यहाँ गाउँलेको काम गर्नुपर्ने रै’छ, त्यो पहिले थाहा थिएन ।’

वडा सदस्य नहुँदा दिनभर कतै नगई गिट्टी कुट्ने काममै व्यस्त हुन्थेँ, त्यसबाट राम्रै आम्दानी हुन्थ्यो, उहाँले भन्नुभयो, ‘गिट्टी कुटेर पहिले महिनामा १५/१६ हजार कमाई हुन्थ्यो त्यो पनि वडा सदस्य भएदेखि घटेर ८/१० हजारमा झ¥यो ।’

बिहान ९ बजेसम्म गिट्टी कुट्छु, १० बजेबाट वडा कार्यालयमा गएर गाउँलेहरुको काम गर्छु, साँझ फर्केर फेरि गिट्टी कुट्छु, यसरी दिन बिताउँदै छु उहाँले भन्नुभयो । एउटा बैठकको एक हजार भत्ता पाउने खबर सुनेको छु अहिले सम्म पाएका छैनौं । वडा सदस्यमा निर्वाचित भएपछि गाउँलेहरु काम गर्न पाएको छु उहाँले भन्नुभयो । जीवन धान्नु प¥यो मेरो खेतीबारी भनेकै गिट्टी कुट्ने काम हो गाउँलेको काम र गिट्टी कुट्ने काम सँगसँगै गरेको छु, उहाँले भन्नुभयो ।

फूलमतीमा ईमान्दारिता रहेको घोराही उपमहानरपालिका १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले बताउनुभयो । उहाँ आएपछि सिङ्गो मजदुरको प्रतिनिधित्व भएको बताउँदै योजना बनाउँदा समाजमा सबैभन्दा पछाडि पारिएका वर्ग समुदायको पक्षमा काम गर्न सहज भएको अध्यक्ष डाँगीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *