वृद्धाश्रमको बाटो

  
  प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४       | 295 Views   ||

कथाकार : दीपक घिमिरे

सेते जेठा बा भित्र जोड–जोडले खोक्दै थिए । मानौं बुढालाई दम र क्षयरोगले यसपालिको दशैं मान्न पनि दिन्न । उमेरले भर्खर साठी काटेका जेठा बाको अन्वार हेर्दा असी काटेर चौरासी पूजा गर्ने तयारीका जस्ता देखिन्थे । जवानीमा सन्तानका लागि एक छाकले दिन कटाउनु अनि सन्तानकै लागि पैसा बचाउने लालचले गर्दा आज कुनामा बसेर रुँदै खोक्न बिवश छन् जेठा बा ।

‘कस्तो जता पायो त्यतै थुक्या हो के बा, यस्तो घिन लाग्दो खकार त बाहिर गएर थुक्नु न । सफा गर्ने आखिर मैले नै होला । कति दुःख दिन सक्या ।’ घरकी जेठी बुहारी निर्मली रिसले आगो हुँदै कराउँदै भान्सातिर छिरी ।

हुन त जेठा बाका तीन छोरी अनि चार भाइ छोरा हुन् । अरु तीन भाइ शहरतिरै जोइलाई काखा हालेर बस्या छन् रे जेठाबाकै शब्दमा भन्दा । तीन छोरीहरु आफ्ना पोइका घरमा खुशी छन् रे । जेठी आमैलाई पनि परार सालको दशैं अगाडि सामान्य ज्वरोको बहानाले जेठाबाबाट त के संसारबाटै अलग गराएको थियो रे । जीवनसंगिनी गुमेको पीडामा झन सिग्रेट र बिडीलाई साथी बनाउँदा जेठा बा पनि जेठी आमैलाई भेट्न जाने दिन गन्दै बसेका छन् ।

‘ओए, निर्मली पानी देतो अलिकति । खोक्दा–खोक्दा घाँटी सुक्यो ।’

जेठा बा भित्रबाट कराएर पानी मागेको सारा टोलले सुन्यो तर निर्मलीले सुनिन । सुनिनँ भन्दा पनि ससुरालाई टेरिन । बुढा उसैगरी खोकी रहे । पानीका लागि चिच्याइरहे तर अहँ त्यहाँ पानी कसैले लग्देन ।

‘ए चाउरेकी आमा, पानी दे भनेको सुनिनस् कि नटेरेको हँ ?’

आँखाबाट तप्प आँसु झार्दै दमले रोकेको बोलीमा फेरि नातिको नामबाट बुहारीलाई बोलाए । जेठो छोरा हिन्दुस्तान छिरेको लाउरे थियो । बर्षमा एक महिना छुट्टि लिएर घर आउँथ्यो । स्वास्नीलाई मुटुभरिको माया दिन्थ्यो । बालाई इन्डियाबाटै किनेर ल्याएको दम र टिबीको साथी पाते बिडी दिन्थ्यो अनि दिनभर साथीभाइसँग भट्टीमा रमाउँथ्यो । राती अबेर घर आउँथ्यो नसामा डुबेर । बर्षमा एक महिना झुल्किने पाहुना थियो लाउरे । बरु जेठाबाको साथी त चाउरे नै थियो । लाउरेको छोरा चाउरे । तर दिनभर स्कुल जाने हुँदा आज जेठाबालाई पानी दिन चाउरे कुदेन नत्र निर्मलीलाई भने पनि पानी अनि दबाइ लिएर बाजेको कोठामा कुद्ने चाउरे नै हुन्थ्यो ।

‘आफै आएर घैंटाबाट पानी सारेर खाए पनि मरिदैन बा । मरिएछ भने पनि अब धेरै बाँच्नुभन्दा मर्नु नै जाती । कति सताको सताउन पनि ।’ निर्मली भान्साबाट अलि जोडले नै कराई । मानौं उसलाई जेठाबा बाँच्नुभन्दा मरेकै राम्रो लाग्नेछ । बुहारीका कुरा सुनेर जेठाबा चुपचाप भए । जवानीमा गरेको दुःख सम्झिए । अनि सायद सोचे होलान् के पानी पनि खान नपाउने दिन आयो त ? के यिनै दिनको लागि मरी–मरी दुःख गरिएको थियो ?’

दमले गर्दा जेठा बाको स्वाँ स्वाँ गर्ने आवाज भान्सामा बसेकी निर्मलीले पनि सुन्दै थिई । तर उसको मन गलेन । आफ्नै धुनमा करेला काटिरही तर पानी लग्दिने धर्म गरिनँ । कमजोरीले गर्दा होला, जेठाबाका हातखुट्टा लगलग कमाउँदै भान्सामा छिरे । भाँडा राख्ने खापीबाट गिलास निकाले अनि घैंटाबाट पानी सारे । एक गिलास पानीले प्यास मेटियो तर धित मरेन । अर्को एक गिलास पानी सार्नै लाग्दा घैंटाको पानी ह्वात्तै पोखियो । सम्हाल्दा सम्हाल्दै आधी घैंटो पानी भान्साभरि भयो । बुढा बुहारीको डरले थरथर भए । बुहारीले बचन लाउन सुरु गरी ।

‘नासुनु, तिमी बुढा मरे त हाइसुख पाउँथें । कसम हुनु कति जातीबिति सताए सताउन पनि मर्न नसकेका पापी ।’ बुहारीले पापी भनेसी जेठाबाले आफुले गरेका पापहरु सर्सर्ती सम्झिने कोशिस गरे । तर अहँ केही सम्झिएनन् । सन्तानका लागि भोकभोकै कमाउन खोज्नु पक्कै पनि पाप थिएन होला । आफुले दुःख गरेर कमाएको सम्पत्तिमा रजाइँ गर्ने छोराबुहारीलाई सामान्य काम गराउन खोज्नु या केही कुराको आशा गर्नु पक्कै पनि पाप होइन होला । तर पनि पापी किन भनी त भन्ने कुरामा जेठाबा सोचमग्न भए । सायद सम्पत्ति बचाउनु नै पाप रहेछ भन्ने सोचे होलान् जेठाबाले ।

जेठाबा तनाव लिदै आफ्नै कोठामा फर्किए । दम र खोकीले धेरै बाँच्न दिने त थिएन नै । तर पनि बाँच्दासम्म छोरा बुहारीको मायामा बाँचौला अनि नातिसँगै खेलौंला भन्ने सपना पूरा नहुने बाले अनुभव गरे होलान् । उसै त सधैं रसाइरहने रसिला आँखाहरुबाट आँसु चुहिन के बेर । तर बुढाले आँसु लुकाउन चाहन्थे । लुकाउन खोज्दा खोज्दै पनि तप्प चुहियो । अनि नाकको टुप्पामा अडिएको आँसुको थोपालाई टाउकाको ढाका टोपीले पुछे अनि बिस्तरामै पल्टिए ।

अरु बेला पनि बुहारीले बचन नलाएकी हैन तर आजको बचनले जेठा बाको मन धेरै रोयो सायद । त्यसैले त होला बरु भोकै बस्ने हिम्मत लिए तर भोक लाग्यो भनेनन् । प्यास लाग्दा सकिनसकि आफै पानी सारेर खाए तर पानी ल्या त बुहारी भनेनन् । नातिसँग खेल्न रमाउने जेठा बा नातिसँग पनि रमाउन सकेनन् । सायद उनको मनमा घाम लाग्न सकेन । रमाउनका लागि मन खुसी हुनु जरुरी थियो त्यो थिएन ।

छोराले कहिले के छ बा ? तिम्लाई के खान मन छ भनेर सोधेन रे । बुहारीले बाँच्नुभन्दा मर्नुमै खुशी रहने अभिव्यक्ति दिएपछि त्यो सानो नातिसँग खेलेर बस्ने मन भएन जेठा बाको । सायद सोचे होलान्– यो पनि भोलि आमाकै कुरामा लागेर मलाई हेप्न सक्छ ।

सिरानीमा राखेको जेठी आमैको फोटो निकालेर हेर्दै थिए । सहनै नसकेर होला हिक्का छाडेर रुन थाले । बाजे रोएको सुनेर होला नाति चाउरे बाजे सुतेको कोठामा आयो । बाजेलाई सम्झायो । बाजेले पनि नातिलाई काख हालेर सुते ।

जेलमा बसेभन्दा पनि कष्टकर जीवन ज्यूनुभन्दा मर्नु उचित हुन्छ कि भन्ने सोचले जेठाबालाई रातभर निदाउन दिएन । नाति केटोलाई पनि बुहारी आएर लगिहाली । बुढो शरिरलाई कहिले यता कोल्टे त कहिले उता कोल्टे पार्दै निदाउने कोसिस गरे । तर अहँ फिटिक्कै निद्रा परेन । दुई दिनलाई पुग्ने सिग्रेट रातभरमा सकियो तर न मन खुसी हुन सक्यो न त आँखामा निन्द्रा नै आयो । जति कोसिस गरे पनि ननिदाएरै रात काटे ।

बिहान भयो । जेठा बालाई दम र टिबीले झनै सिथिल बनाएको थियो तर मनमा हिम्मत भएर होला । आज कसैको सहारा बिनै दिसा गर्न जंगल गए । हात मुख धोएर चियाको पर्खाइमा आफ्नै कोठामा बसे । हिजोदेखि बोल्नै छाडेकी बुहारीले नातिको हातमा चिया र भुटेको बासी भात पठाइदिइन । भोकले र निन्द्राले गलेका जेठा बाले चियासँगै मुछेर भात खाए । मनले अनेक कुरा सोचिरहेका थिए । मुहारमा चमक थिएन । खोकी अनवरत थियो । रीसले होला खकार घरभित्रै थुकिरहेका थिए ।

जेठा बा जुरुक्क उठे । आफ्ना सामान पोको पारे । छोराले लाहुरबाट ल्याइदिएको एक मात्र चिनो लुङ्गीमा सामानहरुको पोका पारे । सबै सामान तयार भएसी सबैभन्दा माथि जेठीआमैको फोटोको फ्रेमलाई राखे । पुरानो लुङ्गीको पटुकी कसे । अनि त्यहीं पटुकीको आड पारेर कम्मरनेर आफूसँग भएको पैसा कोचारे अनि लौरोकै सहारामा उठेर घरबाट निस्किए ।

‘भात घिच्ने बेला काँ मोर्न जान ला हो ? जा मरे पनि भात घिचेर मर्ने ।’ घर अगाडिको कुवामा पानी भर्दै गरेकी निर्मलाले खरो बचनले एक ठस्को बोली फुटाइ । जेठा बा टक्क अडिए । बोल्न मन त थिएन होला । तर बुहारीसँगै खेलिरहेको नातिको मायाले गर्दा आँखा नातितिर लगाउँदै भने, ‘मागेर खान्छु तर झुकेर अनि दबेर खाँदैन, त्यसैले जसले खान दिन्छ त्यहीं जाँदैछु ।’ नातिले कति बुझ्यो, बुझेन त्यो नातिलाई नै थाहा थियो होला । बुहारीले नाक बाङ्गो गराई अनि मुन्टो पनि बटारी । जेठा बा बाटो लागे ।

अलि पर पुगेपछि जेठा बाले फरक्क फर्केर आफ्नो सम्पत्ति हेरे । जवानीभर पसिना बगाएर बनाएको घर हेरे । घामपानी सहेर रोपेका बगैंचाका बोट विरुवा हेरे । तलतिरको गैरी खेत हेरे, जहाँ लाउरे छोरालाई आलीमा बसालेर जेठा बाका जोइपोइले हाँस्दै खेतीपाती लाउँथे । लाउरे छोरालाई सामान्य चोट लाग्दा कुदेर जोइपोइ आत्तिदै आउँथे । तर आज ती सबै बेकार भए । सहाराका लागि राखेको छोराले श्रीमतीलाई मात्र माया गर्ने भयो । अरु छोराहरु त बाबु मरोस् कि बाँचोस् मतलबै थिएन । आखिरमा चार छोराका बा पनि बेसहारा बने ।

घरबाट निस्किएका जेठा बा कहाँ जाने सोच्नै सकेनन् । छोराहरु सबै त्यस्तै हुन्– छोरीहरु अर्कैका भइगए । बाटोमा बसेर भीख मागेर खाने उनमा हिम्मत थिएन । तर जीवन जीउने अरु उपाय पनि थिएन । जति घरदेखि टाढा जाँदै थिए त्यति नै जीवन अन्धकार देख्दै थिए जेठा बाले र जीवन जीउने उपायहरु सोच्दै पनि थिए ।

जेठा बाले शहर नपुग्दै निष्कर्ष निकाले– वृद्धाश्रममा बस्ने । कतै सुनेको थिए– बेसहारा बृद्वबृद्वाहरुका लागि खाने बस्ने सुविधा हुन्छ रे भन्ने । आफन्तीको बोझ बनेर लाचारी तरिकाले जीवन जिउनुभन्दा त्यतै गएर आफूजस्तै बेसहाराका साथी बन्नु उचित ठाने जेठाबाले ।

शहरको कुन कुनाका त्यो आश्रम हुन्छ भन्ने पत्तो नपाएका जेठा बा खोज्दै भए पनि त्यहीं बृद्वाश्रममै गएर बस्ने निचोड निकाले । अनि खोज्दै–खोज्दै लागे आश्रमतिर– चार छोराका बा बेसहारा बनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *