राजनीतिले लिएको नयाँ कोर्ष

  
  प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४       | 146 Views   ||

नेपाली राजनीतिका पछिल्ला दिनहरु निकै आश्चर्यजनक ढंगले परिवर्तन भएर अघि बढेका छन् । प्रमुख वाम दलहरु बीचको धुव्रीकरणले एकाएक तातिएको राजनीतिले नयाँ तरङ्ग मात्र सिर्जना गरेन मानिसको सोच्ने तरिका र चेतनामा समेत परिवर्तन ल्याइदियो । संघ र प्रदेश सभा निर्वाचनपछि पूरा हुने संविधान कार्यान्वयनको पुरानो राजनीतिक कोर्षअघि भएको यो वाम धुव्रीकरणले नयाँ राजनीतिक कोर्षलाई त अघि बढाएको छ नै आर्थिक समृद्धिका लागि बलियो एकताको सन्देशसमेत जनतामा दिएको छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको चुनावी तालमेलदेखि पार्टी एकतासम्म गर्ने सहमतिको घटनालाई राजनीतिक वृत्तमा सकारात्मक वा नकारात्मक ढंगले टीकाटिप्पणीहरु भइरहेका छन् भने वामपन्थी जनमतमा एउटै कम्युनिष्ट केन्द्र बन्न सक्ने वा नसक्ने विषयमा विचार विमर्श भइ नै राखेका छन् । यता नेपाली कांग्रेसलाई केन्द्र बनाएर प्रजातान्त्रिक दलहरुको धुव्रीकरण बढ्नुलाई यही वाम धुव्रीकरणको सकारात्मक परिणामको रुपमा हेरिनु आवश्यक छ । जनता पनि यही चाहन्छन् कि नेपालको समृद्धि, विकास र स्थायित्वका लागि थोरै दलहरुले आपसमा प्रतिष्प्रर्धा गरुन् र फुट्नेभन्दा जुट्ने दिशामा प्रभावकारी बनून् । त्यहीँ ढंगले जुट्ने दिशामा दलहरु जुन ढंगले मोडिएका छन् ती सम्भावनाहरु आशालाग्दा छन्, जसको सह्राना जनताले गरिरहेका छन् ।

हामी संविधानसभाबाट संविधान बनाएर त्यसलाई पूर्ण कार्यान्वयनमा लैजाने राजनीति कोर्षको अन्तिम चरणमा छौं । आगामी मंसिरमा सम्पन्न हुने चुनावपछि राजनीतिले स्वतः नयाँ आकारको अध्यायको शुरुवात गर्नेछ । जुन राजनीतिक कोर्ष भनेको आर्थिक समृद्धि र विकासको हुनेछ । जनता र राष्ट्रको यही मिसनलाई बोकी कम्युनिष्ट घटक दलहरु एकताबद्ध भएर अघि बढ्दै समाजवादमा पुग्ने लक्ष्य तय गरेका छन् । जसलाई देश र जनताप्रति लिइएको ठूलो ऐतिहासिक पहलकदमी मान्नुपर्छ । नयाँ राजनीतिक कोर्षसँगै नयाँ ढंगले जुट्ने कार्यको थालनी गरेर वामपन्थी कम्युनिष्ट आन्दोलनलाई नै माथि उठाउने गरेर नयाँ पहल र परिभाषित गर्ने जमर्को जसरी नेताहरुले गरेका छन्, त्यो आफैमा सुन्दर र गौरवपूर्ण छ । जसलाई जोड्न त्यत्तिकै असहज र चुनौतिपूर्ण त छ तर असम्भव भने छैन । किनकि धेरै असम्भव कामहरु यिनै नेताहरुले सम्भव तुल्याएर परिवर्तनको रथलाई यहाँसम्म ल्याइपु¥याएका छन् ।

चुनावी तालमेलबाट अघि बढेको वामपन्थी गठबन्धनका बीच पार्टी एकीकरण हुन नसक्ने धारणा बलिया छन् । फरक–फरक राजनीतिक पृष्ठभूमि, फरक विचार, सिद्धान्त र फरक–फरक क्लासबाट आएका पार्टी बीच एकता सम्भव छ ? हामीलाई लाग्छ– समाजवादी क्रान्तिमा इमान्न्दारीपूर्वक लाग्ने हो भने यो सम्भव छ, त्यसमा नेताहरुको दृढ इच्छाशक्ति भने चाहिन्छ । अब फरक–फरक भाँडोमा खिचडी पकाएर कम्युनिष्ट आन्दोलन माथि उठ्न सक्दैन र जनताको चाहना पनि पूरा गर्न सकिदैन ।

विकसित राजनीतिक घटनाक्रमसँगै चुनावको तयारी पनि अघि बढिरहेको छ । चुनाव सार्ने षड्यन्त्रहरु पनि यदाकदा शुरु हुन थालेका छन् । यो बेला नेताहरु बडो बुद्धिमताका साथ विवेकसंगत ढंगले चल्न आवश्यक छ र अहिलेको सरकारलाई जोगाई चुनाव सम्पन्न गर्ने उसको दायित्वलाई पूरा गर्नमा सबैले सहयोग पु¥याउन आवश्यक त छ नै चुनावको वातावरण तयार पार्ने दायित्वलाई पनि सबै मिलेर पूरा गर्न जरुरी छ । अहिले चुनाव लोकतान्त्रिक र वामपन्थी धार गरी दुई पार्टीमा केन्द्रित हुने देखिन्छ किनकि साना दलहरु पनि ठुला पार्टीमा भित्रिने क्रम चलिरहेको छ । देशको आवश्यकता र भावी समृद्धिका लागि यो धुव्रीकरण अभियान अपरिहार्य छ । बरु कहिलेकाहीँ नेताहरुमा इमान र नैतिकताको खडेरी पर्ने गरेको छ, त्यसो गरेर जनतालाई निरास पार्ने काम नहोस्, हाम्रो शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *