चुनावी गठबन्धन पार्टी एकताको शुरुवात

  
  प्रकाशित मितिः आइतवार, कार्तिक १९, २०७४       | 333 Views   ||

दाङ मध्यपश्चिमकै केन्द्र बन्छ– माओवादी नेता महरा

दाङ, कार्तिक १७ । वाम गठबन्धनका नेताहरुले माओवादी केन्द्र र एमालेको चुनावी गठबन्धन पार्टी एकताको संकल्पसहित शुरु भएको बताएका छन् । दुवै पार्टीबीच चुनावी गठबन्धन शुरु भएदेखि नै चर्चामा रहेको पार्टी एकताको विषयलाई नेताहरुले संयुक्त पत्रकार भेटघाट गरी एकताको मूर्त रुपमा दिने बताए ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल जिल्ला शाखा दाङको आयोजनामा शुक्रबार घोराहीमा भएको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्रका नेता तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरा एवं एमालेका नेता एवं क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार शंकर पोख्रेलले दुई पार्टीबीचको चुनावी गठबन्धन पार्टी एकताको दृढ संकल्पसहित भएको बताउनुभयो ।

पत्रकार भेटघाटमा माओवादी नेता महराले माओवादी एमालेबीचको चुनावी गठबन्धनले देशभित्र ठूलो उत्साह पैदा भए पनि अन्तर्राष्ट्रिय स्तरमा भूकम्प गएको भन्दै सबैखालका चुनौतीको सामना गर्न गठबन्धन सक्षम रहेको बताउनुभयो ।

‘सरकारको स्थायित्व, वैदेशिक हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता कायम गर्दै जनताको जीवनस्तर उकास्न यो गठबन्धन दृढ छ’– उहाँले भन्नुभयो, ‘यो निर्वाचनले दाङ र सिंगो मुलुकको समृद्धि ल्याउनेछ । अस्थिरताको अन्त्य र विकासको ढोका खोल्नेछ ।’

वाम गठबन्धन एकैपटक चुनावको मुखमा नभएको भन्दै नेता महराले विगतदेखि नै पटक–पटक पहल भएको स्मरण गराउनुभयो । ‘२०६२/०६३ देखि नै हामीले पटक–पटक प्रयास गरेका थियौं । अहिले सफल भयौं, उहाँले भन्नुभयो, ‘अब पछि हट्ने स्थिति छैन । पछि हटे हामी ५० वर्ष पछि पुग्नेछौं ।’

दाङ पश्चिम नेपालको केन्द्र

नेता महराले दाङ पश्चिम नेपालको केन्द्रका रुपमा विकसित गर्ने बताउनुभयो । ‘दाङ ५ नं. प्रदेशको राजधानी त बन्छ नै, यो पश्चिम नेपालकै केन्द्र बन्छ, उहाँले भन्नुभयो, ‘लुम्बिनीलाई दाङसँग जोड्ने र दाङबाट सुर्खेत हुँदै रारा जोडेर पर्यटकीय करिडोरका विकास गर्न सकिन्छ ।’

उहाँले राजनीतिक केन्द्रसँगै दाङ आर्थिक, साँस्कृतिक तथा हरेक हिसाबले केन्द्र बन्ने महराले बताउनुभयो । उहाँले समृद्ध दाङ निर्माण हाम्रो अभियान भएको बताउनुभयो । ‘अबको मिसन भनेको समृद्ध दाङ हो, उहाँले भन्नुभयो, ‘विकासका सबै क्षेत्रमा समृद्ध र सम्पन्न दाङ निर्माण हाम्रो अभियान हो, समृद्ध र समुन्नत दाङ वाम नेतृत्वको पहलमा मात्रै सम्भव छ ।’

एउटै घोषणापत्र नयाँ प्रयोग- पोख्रेल

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले नेता एवं ५ नं. प्रदेशका मुख्यमन्त्रीका रुपमा प्रस्तुत दाङ क्षेत्र नं. २ (क) का उम्मेदवार शंकर पोख्रेलले एउटै घोषणापत्र बनाएर चुनावी तालमेल मुलुककै नयाँ प्रयोग भएको भन्दै साझा घोषणापत्र एउटै बलियो कम्युनिष्ट पार्टी निर्माणको संकल्पको रुपमा लिएको बताउनुभयो ।

वाम गठबन्धनले केन्द्र, प्रदेश र स्थानीय तीनै तहको नेतृत्व स्थापित गर्ने हुँदा मुलुकको समृद्धि धेरै टाढा नरहेको उहाँको कथन थियो । ‘स्थानीय तहमा हामीले धेरै जितेका छौं, नजितेका तहमा निर्णायक ठाउँबाट बाहिर छैनौं’, नेता पोख्रेलले भन्नुभयो, ‘वाम गठबन्धनले प्रदेश र केन्द्रमा हामीले जित्नेमा कुनै आशंका गर्नुपर्दैन ।’

प्रेस सेन्टरका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रेस चौतारीका सचिव बसन्त विवश आचार्यले गर्नुभएको थियो भने स्वागत चौतारीका उपाध्यक्ष संगीत बस्यालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष प्रकाश चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *