महरा र पोख्रेलको आगमनः दाङको विकासका लागि कोशेढुङ्गा

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४       | 295 Views   ||

दाङ, कार्तिक २२ । संविधान जारी भएपछि पहिलोपटक हुन थालेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव दाङवासीका लागि बरदान सावित हुने भएको छ । राष्ट्रियस्तरमा पहुँच राख्नसक्ने नेताको अभाव झेलिरहेको दाङले यसपटक राष्ट्रियस्तरमा प्रभाव मात्र होइन, हस्तक्षेपसमेत गर्नसक्ने दुई जना प्रभावशाली नेता पाएको छ ।

राष्ट्रियस्तरमा पहुँच राख्नसक्ने नेताको अभाव झेलिरहेको दाङले यसपटक राष्ट्रियस्तरमा प्रभाव मात्र होइन, हस्तक्षेपसमेत गर्नसक्ने दुई जना प्रभावशाली नेता पाएको छ ।

यो चुनावमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन् । त्यस्तै, नेकपा एमालेका प्रभावशाली नेता शंकर पोख्रेल सोही क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै छन् । दुबै पार्टीका शीर्ष नेतालाई प्रत्यक्ष प्रभावमा पार्नसक्ने महरा र पोख्रेलले आगमनले दाङवासीमो खुशीयाली छाएको छ । अहिले चियापसलदेखि मेलापातसम्म चर्चा चल्ने गरेको छ– यी दुई नेताले गर्न चाहे दाङलाई धेरै माथि उठाउन सक्छन् ।

त्यसो त दुबै नेताले पनि आफूहरुको प्रभाव दाङको विकासका निम्ति प्रयोग गर्नसक्ने संकेत गरेका छन् । मनोनयन दर्ताअघि घोराहीको सहिदगेटमा आयोजित सभामा महराले प्रष्ट भाषामा भन्नुभएको थियो– ‘म मेरा पार्टीका अध्यक्ष प्रचण्डलाई प्रभावमा पार्न सक्छु र शंकरजीले उहाँका अध्यक्ष केपी शर्मा ओलीलाई प्रभावमा पार्न सक्नुहुन्छ, हामी दुबै जनाको दाङमा उम्मेदवारी संयोग होइन, योजनाबद्ध हो, अब दाङ प्रादेशिक राजधानी बन्नेमा ढुक्क हुनुस् ।’

त्यस्तै मनोनयनकै भोलिपल्ट महरासहितको पत्रकार सम्मेलनमा एमाले नेता पोख्रेलले भन्नुभयो– ‘हामी अब बन्ने दुबै सरकारको नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी चुनावी मैदानमा आएका छौं, दुबै पार्टीका अध्यक्षले मलाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेर नेतृत्व गर्न पठाउनुभएको छ भने महराजी पनि केन्द्रीय सरकारको नेतृत्वदायी ठाउँमै रहनुहुनेछ ।’

त्यसो त अब तीनवटै सरकारमा आफूहरुको प्रत्यक्ष नेतृत्व रहने उहाँको धारणा थियो । ‘हामीले दाङका अधिकांश स्थानीय सरकारको नेतृत्व गरेकै छौं, अब प्रदेश र केन्द्रको पनि दाङले जनप्रतिनिधिले नेतृत्व गर्ने अवसर आउनु दाङको समृद्धिका लागि कोशेढुंगा नै मान्नुपर्छ ।’

दाङबासीको सपनाः प्रादेशिक राजधानी

दाङले अहिले माग गरिरहेको सबैभन्दा ठूलो कुरा ५ नम्बर प्रदेशको राजधानी हो । यसका लागि दाङमा प्रादेशिक राजधानी सरोकार समिति गठन गरेर लामो समयदेखि आवाज उठाउने काम दाङबासीले गरिरहेका छन् ।

चुनावी गतिबिधि शुरु भएसँगै स्वतन्त्र हैसियतका रहेका युवाहरुले ‘अबको हाम्रो एउटै कामः प्रादेशिक राजधानी, समृद्ध दाङ’ जस्ता अभियान सामाजिक सञ्जालबाट शुरु गरिसकेका छन् । यसका लागि राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने जनप्रतिनिधि आवश्यक रहेको दाङवासीको भावना प्रष्टै बुझ्न सकिन्छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सफलता

दाङवासीले भर्खरै मात्र एउटा ठूलो सफलता प्राप्त गरेका छन् । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न संसदबाटै ऐन बनिसकेको छ । यसको मुख्य परिकल्पनाकार माओवादी नेता महरा हुनु र पछिल्लो समयमा यसमा सफलता प्राप्त गर्न पनि स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल, जीवन गौतमलगायत माओवादी नेताहरुकै निर्णायक पहल हुनुले पनि दाङको विकासमा राष्ट्रियस्तरकै प्रभावशाली नेता चाहिन्छ भन्ने दाङबासीले राम्रोसँग बुझेका छन् ।

डा. गोविन्द केसीसँग भएको सहमतिपछि यसलाई मेडिकल कलेजको रुपमा स्थापना गर्न सरकारी प्रयास भए पनि असफल भएपछि यसलाई प्रतिष्ठानमार्फत् अघि बढाउने योजना महराकै थियो ।

‘हो, म रोल्पाको सांसद भएको बेला पनि दाङका सबै सांसदहरुको भेला बोलाएर यो प्रस्ताव मैले अघि बढाएको थिएँ, खासगरी हाम्रै साथीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफलता प्राप्त गरेपछि मैले पनि यो मोडल सही छ भन्ने ठानेर अघि बढाएको हुँ’– उहाँले भन्नुभयो– ‘दाङका सबै सांसदहरुले यसमा सहमति जनाउनुभयो, अहिले पनि मेरो नेतृत्वमा भएको त्यो निर्णयको हस्ताक्षरसहितको डकुमेन्ट छ, अब ऐन बनिसकेको अवस्थामा यसलाई पूर्णता दिनु मेरो प्राथमिक दायित्व हुनेछ ।’

त्यसो त महराले यो ऐन पारित भएपछि राजधानीमा राप्ती क्षेत्रका सांसदसहितलाई बोलाएर चियापान पनि केही दिनअघि गर्नुभएको थियो । यसका लागि महरा अर्थमन्त्री भएको बेला पूर्वाधारतर्फ पनि केही प्रयास शुरु गर्नुभएको छ । उहाँले छुट्याएको २५ करोडबाट हाल इमजरेन्सी र ५० बेडको अस्पताल भवन निर्माण शुरु भइसकेको छ ।

तीन अर्ब बजेटले बढाएको आशा

दाङले नियमित बजेटमा केही करोडभन्दा बढी रकम पाउन सकेन । तर, महरा अर्थमन्त्री भएको बेला रकम सुनिश्चितता (रकमान्तर) मार्फत तीन अर्बभन्दा बढी रकम पाउन सफल भयो ।

त्यसमध्ये आर्थिक वर्ष १ अर्ब ८९ करोड ९४ हजार सडकमै आएको छ । जबकि नियमित बजेटमा ७७ करोड ७७ लाख ९७ हजार मात्रै आएको थियो । यसमध्ये घोराही–मुर्कुटी–देवीस्थान सडकमा त ३० करोड निर्माण प्रक्रियामै गइसकेको छ ।

‘आफै बजेट ल्याउन नपाएर अरुले ल्याएको बजेटमा पनि यति धेरै रकमान्तर गर्न सकिदो रहेछ’– घोराहीका एक बुद्धिजीवीले भने– ‘त्यसैले विकासका लागि जनप्रतिनिधि त ठूलै नेता हुनुपर्दोरहेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *