प्रदेश सभाको चुनावी मोर्चामा पूर्वजनसरकार प्रमुख !

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०७४       | 225 Views   ||

रुकुम, कार्तिक २३ । पूर्वी रुकुम प्रदेश सभा क्षेत्र नं. २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पूर्णबहादुर घर्तीको राजनीतिक यात्रा घुमाउरो, संघर्षपूर्ण तर खुला कागजजस्तै रहेको छ ।

जनयुद्धका बेला रुकुमको पहिलो जनसरकार प्रमुख भएका घर्तीले जनसत्तामार्फत् गरेका कामको अहिले पनि प्रशंसा हुने गरेको छ । विकास निर्माण, घरजग्गाा पास, न्यायजस्ता कामबाट त्यतिबेला जनताले ठूलो राहत महसुस गरेको थिए ।

हाल सोही पूर्वी रुकुम क्षेत्र नं. २ का उम्मेद्वार बनेर गाउँ–गाउँमा पुगेका घर्तीलाई जनताले जनसरकार प्रमुख हुने बेलाजस्तै मुख्यमन्त्री भएर विकास निर्माण, न्याय, समाजसेवा गर्न आग्रह गरिरहेका छन् ।

पूर्णबहादुर घर्तीमगर ‘आयाम’को पारिवारिक तथा राजनीतिक जीवन हेर्दा उहाँ इमान्दार, कर्तव्यनिष्ठ र जनसेवामा लाग्ने गरेको पाइन्छ । घर्ती संघर्षशील, जुझारु, वैचारिक र इमान्दार नेताको रुपमा चिनिनुहुन्छ ।

साविक चुनबाङ– ६ लाखरपेदीचौर (हाल भूमे गाउँपालिका वडा नं. ९) रुकुममा २०२४ असार २९ गते उहाँको जन्म भएको हो । बुवा वीरबहादुर घर्ती र आमा जयकली घर्तीको कोखबाट जन्मनुभएका घर्तीको विवाह रोल्पा निवासी सीता आचार्यसँग भएको छ । उहाँको एकमात्र छोरी लिचुन घर्ती मगर हुनुहुन्छ ।

उहाँ २०३६ सालको राजनीतिक प्रभावबाट प्रेरित भई राजनीतिमा आबद्ध भएको पाइन्छ । सामाजिक कार्य गर्ने उद्देश्यका साथ गठन भएको एक क्लवलाई नै तत्कालीन मशालको गाउँ पार्टीमा रुपान्तरण गरी उहाँ तत्कालीन चुनबाङ गाविसको संस्थापक पार्टी अध्यक्ष बन्नुभएको हो ।

उहाँले २०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरेर राजनीतिक जीवनको औपचारिक यात्रा प्रारम्भ गर्नुभएको थियो भने २०४१ सालमा तत्कालीन मशालको पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो ।

२०४६ सालमा अनेरास्ववियु रुकुमको जिल्ला अध्यक्ष भएर पूर्णकालीन सदस्यता पनि प्राप्त गरेका उहाँ हालसम्म पूर्णकालीन रुपमा राजनीतिमा संलग्न हुनुहुन्छ ।

२०४८ सालमा नेकपा एकता केन्द्र जिल्ला उपसमिति रुकुमको पहिलो सम्मेलनबाट जिल्ला समितिमा निर्वाचित र एकता महाधिवेशन प्रतिनिधिसमेत बन्नुभएको थियो । त्यसपछि उहाँले राजनीतिक जीवनमा फरक मोर्चा सम्हाल्नु भएको पाइन्छ ।

घर्ती कुशल राजनीतिज्ञ मात्र हैन, जनप्रिय जनकलाकार पनि हो । उहाँका गीतसंगीतले २०४६ सालको आन्दोलनदेखि जनयुद्धको सुरुवाती वर्गसंघर्षको बेलासम्म जनता जगाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

२०४७ देखि २०५१ सम्म सिस्ने सांस्कृतिक समूह रुकुमको संयोजक बनेर साँस्कृतिक मोर्चा सम्हालेका घर्तीले लेखेका “ढल्दैन त्यो बन्दुकले….”, जनयुद्धको क्रममा “एकै रातमा धर्ती हल्लियो…., “यात्रा हाम्रो लामो छ….”, “कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन….” लगायत दर्जनौं गीतहरु चर्चित छन् ।

२०४७ देखि २०५२ सम्म केन्द्रिय सांस्कृतिक टोली सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषतः राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका उहाँ २०६० सालमा सामना सांस्कृतिक परिवारको संयोजक तथा केन्द्रीय श्रव्यदृश्य विभाग प्रमुखसमेत हुनुभएको थियो ।

सांस्कृतिक फाँटमा मात्र हैन उहाँले संगठनमा पनि महत्वपूर्ण भूमिका निभाउनु भयो । २०५३ देखि २०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरी, २०५७ मा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५७ देखि २०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज तथा केन्द्रीय सदस्य, २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्रअन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इन्चार्ज तथा केन्द्रीय सदस्य, २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज, २०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य, २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रीय सदस्य, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इन्चार्ज तथा पोलिटव्युरो सदस्य रहनुभएका उहाँ हाल नेकपा माओवादी केन्द्र ५ नं. प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ ।

उहाँको जीवनमा महत्वपूर्ण क्षण भनेको रुकुमको पहिलो जनसरकार प्रमुख भएर जनसेवा गर्नु हो । उहाँ २०५७ मंसिर २९ गते जिल्ला जनसरकार रुकुमको प्रमुखमा निर्वाचित (पौष ७ मा घोषणा) हुनुभएको थियो । उहाँ जनसरकार प्रमुख भएको बेला स्थानीय स्तरसम्म नै सत्ता विस्तार गर्नुका साथै विकास निर्माण र जनसेवाका कामहरु भएका थिए । यसैगरी २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत उहाँले जिम्मेवारी निभाउनु भएको थियो ।

घर्ती पञ्चायत विरोधी आन्दोलनको क्रममा २०४५ पौष २७ गते रोल्पा लिवाङमा प्रहरीद्वारा गिरप्तार परी चरम यातनाका साथ ५२ दिन हिरासत जीवन बिताउनुभएको थियो ।

प्रस्तुति : गणेश ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *