भोट माग्दै जनयुद्धका सेल्टरमा पुगे महरा

  
  प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४       | 302 Views   ||

पाण्डव शर्मा

घोराही । वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका साझा उम्मेदवार कृष्णबहादुर महरा औपचारिक रुपमा भोट माग्दै घरदैलो अभियानमा लागेका छन् ।

वाम गठबन्धनले चुनावी कार्यक्रमअन्तर्गत पहिलो पटक तुलसीपुर– १९ कुटेचौरमा आयोजना गरेको संयुक्त सभामा जानुभन्दा पहिले उनी सो बाटोका आसपासमा पर्ने घरमा पुगेर भोट मागेका छन् । उनले जनताका समस्या सुन्दै आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए । महराले जनतासँग युद्धकालका विभिन्न घटनालाई समेत स्मरण गरे ।

‘म जनयुद्धको बेला यो बाटोमा कैयौं पटक ओहोर–दोहोर गरिसकेको छु, मलाई युद्धकालमा यहीका जनताले सुरक्षा दिएका थिए,’ महराले भने, ‘मैले संविधान निर्माणको काममा सक्दो पहल गरें, अब पाँच वर्ष मेरो पूरै ध्यान विकास निर्माणमा जान्छ ।’

२०५४ सालमा सुंगुर खोलामा प्रहरीले घेरा हालेपछि धौ–धौ बचेको स्मरण गर्दै महराले भने, ‘त्यहिबेला शिक्षकको परिचय दिएर म, सन्तोष बुढा र यज्ञश्वर शर्मा प्रहरीबाट बचेका थियौं, यज्ञश्वर अहिले सहिद हुनुभयो ।’

महराहरुले त्यतिबेला आफूहरुको घर मानपुर भएको परिचय दिएका थिए । तर, प्रहरी नै मानपुरको भएपछि उनीहरुलाई कुरो मिलाउन निकै गाह्रो भएको थियो । ‘पछि धेरै बहाना बनाएर प्रहरीबाट उम्कन सफल भयौं,’ उनले भने ।

त्यही वर्ष ग्वारखोला पार गर्ने क्रममा महराको एउटा चप्पल खोलाले बगायो । त्यसपछि महरा अर्को चप्पल पनि फालेर पैदल हिडेका थिए । ‘मैले प्रचण्डलाई पनि यो बाटोबाट धेरै पटक हिडाएको छु, अहिले पनि सडकको अवस्था उस्तै रहेछ,’ उनले भने, ‘अब म यो बाटो पिच गर्नको लागि केन्द्रबाट पहल गर्छु ।’

घरदैलोकै क्रममा महराले किसानको बालीनालीका बारेमा समेत बुझेका थिए । उनले रनियापुरमा गएर किसानको तोरी बालीका बारेमा बुझेका थिए । स्थानीय चुर्णबहादुर पार्धेले सिचाइको अभावका कारण आफूहरुलाई समस्या परेको गुनासो गरेका थिए । महराले यस क्षेत्रको सिचाइका लागि पहल गर्ने बताए ।

सो अवसरमा स्थानीयबासीले त्यस क्षेत्रमा मोवाइलको टावरले काम नगर्ने बताएका थिए । जनयुद्धको बेला महरालाई एक रात सेल्टर दिएका मनिकापुरका पत्रकार राकेश बस्नेतले महरा यही क्षेत्रबाट चुनाव लड्न आएकोमा यस क्षेत्रका जनता निकै खुशी भएको बताए ।

संयुक्त सभालाई सम्बोधन गर्न आज महरा र प्रदेश सभा क्षेत्र नं २ (२) का उम्मेदवार एमाले नेता अमरबहादुर डाँगी कुटेचौर पुगेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *