मन्त्री जनार्दन शर्मासहितको उम्मेदवार र प्रचार टोलीमाथि बम प्रहार

  
  प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४       | 211 Views   ||

दाङ । बिना विभागीय मन्त्री तथा पश्चिम रुकुमबाट प्रतिनिधिसभामा वाम गठवन्धनका उम्मेदवार जनार्दन शर्मा “प्रभाकर”, प्रदेशसभा र समानुपातिकतर्फका उम्मेदवार तथा उनीहरुको प्रचार टोलीलाई लक्षित गरी शुक्रवार बिहान बम प्रहार गरिएको छ । चौरजहारी नगरपालिका–८ को गोइरी भन्ने स्थानमा २ वटा बम प्रहार गरिएको भए तापनि दुःखद् घटना भने हुन पाएन ।

चौरजहारीको चुनावी सभा, घरदैलो र भेटघाट सकी सानीभेरी गाउँपालिकास्थित सिम्लीतर्फ हिडेको टोलीमाथि बम प्रहार भएको हो । अगाडिको गाडीलाई छोडेर निवर्तमान गृहमन्त्रीसमेत रहेका उम्मेदवार शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरिएको थियो । उम्मेदवार शर्माको गाडी अघिल्तिर फालिएका २ बममध्ये एउटामात्र पड्किएको थियो । धुलाम्य सडक भएका कारणले पड्केको बमले पनि खासै असर गरेको थिएन ।

निर्वाचन सुरक्षाका लागि पश्चिम रुकुममा खटिएको सशस्त्र प्रहरी बलका डीएसपी कर्णबहादुर बुढामगरले बम सामान्य खालको भएको बताए । “बम सामान्य खालको हो । तर्साउनलाई वा देशव्यापी चर्चाका लागि पूर्वगृहमन्त्रीलाई लक्षित गरेर पड्काइएको हुनसक्छ”, डीएसपी बुढामगरले भने ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले उक्त घटनामा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको बताए । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको प्रारम्भिक अनुमान गरिएको छ । केही दिन पहिले नेकपाका कार्यकर्ताहरुले शर्माको घरमा कालो व्यानर राखेका थिए ।

उम्मेदवार शर्माको टोलीमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यतर्फ ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा, माओवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार चन्द्रबहादुर विक, प्रदेशसभा सदस्यका उम्मेदवार विमला केसी, एमालेको तर्फबाट प्रदेशसभातर्फकी समानुपातिक उम्मेदवार देवी ओली लगायत एमाले तथा माओवादीका नेताहरु रहेका थिए ।

उक्त घटनापछि उम्मेदवार शर्मा र प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारको घटनाप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति पश्चिम रुकुमले विरोध गरेको छ ।

एकता संयोजन समितिले विज्ञप्ति जारी गरी उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्नु देशको विकास र समृद्धिको विरुद्ध भएको बताएको छ । नेताद्वय राजकुमार शर्मा र शेरबहादुर केसीले सयुंक्तरुपमा जारी गरेको विज्ञप्तिमा निर्वाचन विरोधी गतिविधि तथा उम्मेदवारलाई नै लक्षित गरी बम प्रहार गर्ने दोषी उपर कारबाहीको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *