जनताका कुरा सुन्न महरा खेतबारीमा

  
  प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४       | 188 Views   ||

पाण्डव शर्मा

घोराही । कार्तिकको अन्तिम साता भएकाले किसानहरु धान बाली भित्र्याउने सुरसारमा छन् । कोही धान काटेर दाँइ हाल्दैछन् भने कोही धान दाएर वर्षभरि खाने धान भित्र्याउँदै छन् ।

सरकारले आगामी मंसिरमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन शुरु गरिसकेकाले दलहरु चुनावी प्रचारमा लागिसकेका छन् । दलहरु घरदैलो र सभामा व्यस्त छन् ।

दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि आफ्नै चुनावी रणनीतिमा छन् । स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने वाम गठबन्धनको मत नेपाली कांग्रेसको मतभन्दा २० हजार मतले अगाडि छन् । हेवीवेट नेताका रुपमा परिचित महरालाई चुनावमा विजयी हुन त्यति कडा कसरत गर्नु नपर्ला । तर, महरा चुनावकै निहुँमा जनताको गुनासो सुन्न घर–घरमा पुग्दैछन् ।

शुक्रबार उनी किसानको खेतबारी र खल्यानमै पुगेर जनताका मागहरु सुने ।

उनी नारायणपुर जलौरास्थित थारु अगुवा चन्द्रप्रकाश चौधरीको खल्यानमै पुगेर स्थानीयका माग सुने । उनले धान बाली उत्पादन र यसमा देखिएका समस्याका बारेमा बुझे । ‘महरा सरलाई अत्याधिक मतका साथ चुनाव जिताउँछौं,’ चौधरीले भने, ‘हामीलाई देश हाँक्ने र दाङको विकास गर्ने नेता चाहिएको छ ।’

महराले शुक्रबार बिजौरीको कुटीचौर र मानपुरको लालपुरमा आयोजित सभालाई समेत सम्बोधन गरे । सो अवसरमा स्थानीयले महराको उम्मेदवारीले आफूहरु निकै खुशी भएको बताए । स्थानीय डिला सुवेदीले दाङलाई राजधानी बनाउनको लागि वाम गठबन्धनलाई विजयी गराउनु पर्ने बताइन् । उनले महरा र शंकर पोख्रेलको सहकार्यले दाङ समृद्ध हुने धारणा व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *