रोल्पामा बर्षमान चढेको गाडीलाई लक्षित गरी माइन बिष्फोट

  
  प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०७४       | 118 Views   ||

रोल्पा | जिल्लाको माडीगाउँपालिका- १ स्थिति भिताबाङमा माओवादी नेता एवं प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माइन बिष्फोट गराइएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बाटोमा बिछ्याएको माइन बिष्फोट भएको हो ।

माइन बिष्फोटबाट पुनका सुरक्षार्की चढेको गाडीमा क्षति पुगेको छ । पुन चढेको गाडीमा पनि सामान्य क्षति पुगेको छ । यद्यपि कुनै मानवीय क्षति भने नभएको पुनले सिस्ने अनलाइनलाई जानकारी दिनुभयो ।

‘हामी सुकीदहको सुखाओडारमा भएको सभा सकेर घर्तीगाउँ आउँदै गर्दा घटना भएको हो’– उहाँले भन्नुभयो– ‘अहिले हामी सुरक्षित घर्तीगाउँ आइपुगेका छौं ।’ माइन बिष्फोटस्थल प्रहरीले जवाफी फायरिङ गरेको थियो । फायरिङपछि नजिकै रहेका तीन जना विप्लवका कार्यकर्ता जंगलतर्फ भागेको सुरक्षास्रोतले जनाएको छ । यही कामका लागि घर्तीगाउँबाट त्यसतर्फ गएका तीन जनाको कार्यकर्ताको समेत पहिचान गरिएको जनाउँदै प्रहरीले खोजतलास जारी राखेको जनाएको छ ।

गाडीमा समानुपातिक म्क्मदेवार जयपुरी घर्ती, एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्तीलगायत पनि हुनुहुन्थ्यो ।

यो विस्फोटले हाम्रो अभियान रोकिदैन: अनन्त

वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा रोल्पाबाट उम्मेदवार दिएको प्रचार अभियानमा रहेका अनन्तले आफूहरुको हत्याको योजनासहित बम विस्फोट गराई पनि आफ्नो निर्वाचन प्रचार अभियान नरोकिने बताउनुभएको छ । ‘उम्मेदवारहरुको हत्या गर्ने योजनाले सडकमा एम्बुस विच्छ्याएर विस्फोट गराइएको छ,’ अनन्तले भन्नुभयो– ‘हामी बाँच्न सफल भयौँ । तर यो विस्फोटले हाम्रो निर्वाचन अभियान रोकिदैन ।’

उहाँले उम्मेदवारहरुको सुरक्षामा गम्भीर ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले अपराधिक कृयाकलाप बन्द गर्न नेकपा चेतावनीसमेत दिनुभएको छ । ‘उम्मेदवारहरुको सुरक्षामा सरकारले गम्भीर ध्यान दिनुपर्छ,’ अनन्तले भन्नुभयो– ‘म अपराधिक घटनाको घोर भ्रत्सना गर्दछु । यस्तो अपराधिक क्रियाकप नगर्न चेतावनी समेत दिन्छु ।’ आज अनन्तले राङसीमा हुने चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *