बंगलाचुलीमा भव्य सभाः महराले गरे युद्धकालको सम्झना

  
  प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०७४       | 331 Views   ||

बंगलाचुली, दाङ । प्रतिनिधिसभाका लागि दाङको क्षेत्र नं. २ का वाम गठवन्धनका साझा उम्मेदवार कृष्णबहादुर महराले युद्धकालमा आफू हिँडेको घोराही–मुर्कुटी–प्यूठान सडक र बसेको ठाउँ बंगलाचुलीले विकास र समृद्धिका लागि आफू र शंकर पोख्रेललाई पर्खेर बसेको बताएका छन् ।

जिल्लाका अति विकट बंगलाचुली गाउँपालिकाको मुर्कुटीमा शनिवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री महराले भने, “यो सडक र यो ठाउँको विकास तथा समृद्धिले शंकरजी र मलाई नै पर्खेको रहेछ, त्यो हामी गर्छौं ।“

बाजागाजा र वाम गठवन्धनका उम्मेदवारहरुको पक्षमा नाराबाजी गर्दै शुरु भएको विशाल जनसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका महासचिवसमेत रहेका महराले भने “तत्कालीन युद्धकालमा म यो सडकमा हिँडेको छु । यहाँका घरहरुमा खाना पनि खाएको छु । अनि यो बाटोमा सल्यानदेखि ट्याक्टर चढेर यो ठाउँसम्म पनि हिँडेको छु । म अर्थमन्त्री हुँदा ठूलै बजेट छुट्याएको पनि छु र द्रुतगतिमा काम पनि भइरहेको छ तर यस क्षेत्रको विकासले अहिले पनि मलाई र शंकरजी लाई कुरेर बसेको रहेछ । यहाँको ठाउँलाई हामीले नै विकास र समृद्धि दिने छौ ।”

उम्मेदवार महराले अहिले कार्यकर्ता र जनतामा बिभिन्न खालका शंका उपशंका भएको उल्लेख गर्दै देशमा एउटा बलियो कम्युष्टि पार्टीको स्थापनाका लागि दुई पार्टीले चुनावी तालमेलमा आएको जानकारी गराए । मंसिर २१ गतेको चुनावसम्म मात्रै नभई दुई पार्टीहरु पार्टी एकताकै दिशामा अगाडि बढ्ने धारणा पनि उनले राखे । नेता महराले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी र विकासको केन्द्रको रुपमा स्थापित गर्ने आफूहरुको योजना रहेकाले आफूहरुलाई ढुक्कसाथ मतदान गर्न आग्रह गरे ।

पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीका रुपमा वाम गठबन्धनबाट प्रस्तावित एमालेका प्रभावशाली नेता एवं दाङ– २ (क)बाट प्रदेशसभाका उम्मेदवार शंकर पोख्रेलले सभालाई सम्बोधन गर्दै ग्रामीण भेगका जनताको जीवनस्तर परिवर्तन र समाज परिवर्तन गर्नका लागि वाम गठबन्धनले काम गर्ने बताए ।

नेता पोख्रेलले चुनाव जित्नका लागि मात्र माओवादी र एमालेले गठबन्धन नगरेको भन्दै भविष्यमा एउटा बलियो कम्युनिष्ट पार्टी निर्माण गरेर जनताको जीवन, समाज र सिङ्गो राष्ट्रको आमूल परिवर्तन गर्ने दावी गरे ।

सभालाई सम्बोधन गर्दै नेता पोख्रेलले जनताको रगत र पसिनाबाट आएको परिवर्तनलाई संस्थागत गर्नका लागि आफूहरु एकजुट भएर आएको र यो ऐतिहासिक कार्य भएको उनको भनाई थियो ।

जनताले अहिले पनि पूर्ण अधिकार पाउन नसकेको भन्दै उनले थपे, “अब जनताको अधिकारको ग्यारेन्टी राजनीतिक दलहरुले गर्नुपर्ने बेला आएको छ । यो ग्यारेन्टीका लागि अहिले हामीहरु एकजुट भएका छौं ।”

निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समिति क्षेत्र नम्बर दुई (क) का सहसंयोजक सुवास पुनले गरेका थिए ।

माओवादीमा प्रवेश गर्नेलाई एमाले नेता पोख्रेलको स्वागत

कार्यक्रम थियो नेपाली कांग्रेसका कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने । तर, स्वागत गर्न तम्सिएका थिए नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेल ।

सहभागीहरु गडगडाहट ताली पिट्दै थिए । यो दृृष्य कुनै नाटक मञ्चनको लागि गरिएको भने होइन । यस्तै रोचक दृष्य देखियो शनिवार बंगलाचुलीको मुर्कुटीमा । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त चुनावी सभामा सहभागी हुन नेताहरु कृष्णबहादुर महरा र शंकर पोख्रेल त्यहाँ पुगेका थिए ।

कार्यक्रमकै बीचमा सञ्चालक माओवादी केन्द्रका नेता सुवास पुनले नेपाली कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम सुनाए । उनले नाम बाचन गर्दै नवप्रवेशीहरुलाई बोलाए । शुरुमा त माओवादी केन्द्रका नेता एवं दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभातर्फका उम्मेदवार कृष्णबहादुर महराले नवप्रवेशीलाई माला र टिका लगाएर स्वागत गरे ।

त्यसपछि नवप्रवेशीलाई माला लगाएर स्वागत गर्न तम्सिए एमाले नेता एवं दाङ निर्वाच क्षेत्र नं २ (क) का प्रदेशसभातर्फका उम्मेदवार शंकर पोख्रेल । उनले पनि माओवादीमा आएका नवप्रवेशीहरुलाई माला लगाएर स्वागत गरे ।

पत्रकारहरु उनले माला लगाएको तस्विर खिच्च झुम्मिए । अनि शंकरले हाँस्दै प्रतिक्रिया दिए– ‘चुनावपछि पार्टी एउटै हुने भयो । उहाँहरुलाई मैले पनि स्वागत गर्दा हुन्छ ।’

सो अवसरमा नेपाली कांग्रेसका रेशमबहादुर महरा, दोर्णबहादुर महरा, डण्डिराम केसी, बलबहादुर महरा, गिरबहादुर विष्ट, रोमलाल नेपाली, गोविन्द नेपाली, रणबहादुर बुढा, केदु रावत, दामी वली, तिल बहादुर वली, पदम वली, विष्ण बहादुर वली, नमेराज वली र यमलाल रावत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

जनसभामा सहभागी हुन बंगलाचुली गाउँपालिकाका विभिन्न गाउँहरुबाट हजारौंको संख्यामा स्थानीयवासीहरु बाजागाजा र नाराबाजीसहित कार्यक्रमस्थलमा पुगेका थिए ।

त्यस अबसरमा स्थानीय लोकसंस्कृति झल्किने झाँकीहरु प्रदर्शन पनि गरिएको थियो । जनसाँस्कृृतिक महासंघ नेपालका कलाकार, स्थानीय कलाकारहरुले सांस्कृतिक कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चर्चित लोकगायिका तथा एमाले नेतृ कोमल वलीले शुभकामना मन्तव्यका साथै गीत पनि गाएकी थिइन् । त्यस्तै, हाँस्यकलाकार कमल गाउँले “बलराम”को रोचक प्रस्तुतिले जनताको मन जित्न सफल भएको थियो ।

– पहिलोपेज र चेतना अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *