चिनियाँ कम्पनीसँग भएको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धी सम्झौता खारेज गर्ने निर्णय आजको मन्त्री परिषद् बैठकले गरेको छ।
पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले चीनसँग गरेको सम्झौता अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको हो। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेको हो।
बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णयको नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले पनि विरोध गरिरहेका थिए।
नेपाली कांग्रेसकै संलग्नतामा बूढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको थियो।
‘अनियमित र हचुवा ढंगले सम्झौता भएको’ भन्दै उपप्रधान तथा उर्जामन्त्री कमल थापाले संसदीय समितिको निर्देशन बमोजिम खारेज गरिएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘अनियमित र हचुवाढंगले गेजुवा ग्रुपसँग गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको समझौता संसदीय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ।’