सीको दोस्रो कार्यकाल नेपाललाई थप अवसर

  
  प्रकाशित मितिः सोमवार, कार्तिक २७, २०७४       | 204 Views   ||

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनमा सी जिनफिङ राष्ट्रपति निरन्तर रहनु विश्वका लागि थप पाँच वर्ष शान्तिपूर्ण विकासको धारमा रहनु हो।

विगत पाँच वर्षमा सीको शालीन स्वभावले विश्व स्थिरतामा सकारात्मक र शान्ति संरक्षणमा प्रेरणादायी भूमिका खेलेको जगजाहेर नै छ।

डोनाल्ड ट्रम्पजस्ता सन्की नेताहरूको विश्व परिदृश्यमा सीको परिपक्व नेतृत्वले देश विदेश सबैलाई प्रभाव छोडेको छ। त्यति मात्रै नभएर सी विकासप्रति इमान्दार नेता भएकोले पनि अझै पाँच वर्ष चीनले विकासको उत्कृष्ट मौसम सिर्जना गरिरहने निश्चित छ।

लक्ष्मी लम्साल

कात्तिक १ गतेदेखि सात दिनसम्म बेइजिङमा चलेको चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनमा सीले प्रस्तुत गरेको प्रतिवेदनले फेरि एक पटक विकास उन्मुख देशहरूलाई हौसला दिएको छ। साथै सीको काम र उनको नेतृत्वलाई पार्टी र जनताले भरोसा गरेका छन्।

यस हिसावले विश्वका विज्ञहरूले ठानेका छन्– चीनले कम्तीमा आगामी पाँच वर्ष निःसन्देह विकासको यज्ञमा होमिने वातावरण यथावत् राखेको छ। विकासका मुद्धामा सीको जुन खालको महत्वाकांक्षा देखिएको छ, त्यसले चीनलाई मात्रै नभएर विश्वमा विकासको सुनौला किरण छर्नेमा दुइमत छैन।

विकासको मार्गमा फड्किनका लागि सीका सामु अनेकन् वहानाहरू छन्। चार वर्षपछि अर्थात् सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शताब्दी हुनेछ। त्यसको स्वागतका लागि सीसँग जनताको सेवामा सँधै अग्रस्थानमा रहने, पार्टीभित्रको व्यवस्थापनलाई चुस्त राख्ने, स्वच्छ राजनैतिक पर्यावरण कायम राख्दै चीनको विकास र प्रगति बढाउँदै जाने योजना छ।

सन् २०२० सम्म चौतर्फी रुपमा सम्पन्न समाजको लक्ष्य पूरा गर्न र साझा समृद्धिको बाटोमा कोही पनि छुट्न नहुने विचारधारा छ। गरिबी निवारणको अभियानलाई दृढताका साथ पूरा गर्ने र प्रतिबद्धतालाई साकार तुल्याउने महत्वाकांक्षा छ।

जनतालाई विकासको मार्गमा एकतावद्ध बनाउनका लागि उनीसँग बलियो वाक्य छ, ‘चिनियाँ जनता दुःख तथा कठिन अवस्थाबाट पार गरेर आएका हुनाले शान्ति तथा विकासको मूल्य बुझ्दछन्। आत्मविश्वास र स्वाभिमानले भरिएका चिनियाँ राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास अधिकारको दृढताका साथ संरक्षण गर्नुका साथै विभिन्न मुलुकका जनतासँग मिलेर मानव भाग्य समुदायको स्थापना गर्न सक्रिय हुन्छन्। मानवजातिको शान्ति तथा विकासको महाकार्यको लागि नयाँ तथा अझ ठूलो योगदान गर्न तत्पर हुन्छन्।’

सन् २०१९ मा जनगणतन्त्र चीन स्थापनाको सत्तरी‌औँ वार्षिकोत्सवमा चीनले नयाँ विकास अवधारणाको पालना गरी आर्थिक दीगो तथा स्वस्थ विकासलाई बढाएर चिनियाँ जनता र अरु विभिन्न मुलुकका जनतालाई फाइदा पुर्‍याउनेछ। चीनको तेह्रौँ पञ्चवर्षीय विकास योजनामा तोकिएका कार्यहरू पनि पूरा गर्दै जानका लागि काम गर्ने सीसँग अर्को वहाना छ।

महाधिवेशनमा सीद्वारा प्रस्तुत प्रतिवेदनले छिमेकी मुलुक र अति कम विकसित मुलुकहरूलाई पनि लाभांश बाँड्ने र छिमेकी सम्बन्धलाई झन् मजबुत बनाउँदै जाने प्रतिवद्धता जनाएको छ। यसबाट रोग, भोक र शोकमा पिल्सिएका छिमेकीहरूलाई पनि एउटै डोरीले बाँधेर उचाल्न सक्ने मनसाय राष्ट्रपति सीमा देखिन्छ। प्रतिवेदनमा उनले प्रस्ट रूपमा भनेका छन्, ‘विकासका मुद्धामा चीनले छिमेकीसँग सहकार्य गर्नेछ।’

छिमेकीसँग झगडा गर्ने, छिमेकीविरूद्ध वैरभाव जगाउने मनसाय सीको छैन भन्ने कुरा भारतसँग युद्धको मुखैमा पुगेको तोङलाङ सीमा विवाद, तनावको चरमावस्थामा फस्नै आँटेको दक्षिण चिनियाँ सागर, पटक पटक यासुकुनी देवल पुजेर चीनलाई चिढ्याउँदै आएको जापानको शान्त मनस्थिति लगायत छिमेकीहरूको पछिल्लो मैत्रीपूर्ण रवैयाले पनि चीनले छिमेकीसँग सुमधुर सम्बन्ध बनाउने नै छ भन्ने देखाउँछ। चीनको सौहार्द्रता, इमान्दारिता, मैत्रीपूर्ण फाइदा र समावेशी नीतिका कारण कम्तीमा पाँच वर्ष चीनले छिमेकीसँग झगडा गर्दैन भन्ने संकेत गर्दछ। भविष्यमा कस्ता शासक आउलान्, त्यो त भविष्यकै गर्भमा छ।

स्पष्ट रूपमा सीको आगामी एजेण्डा विकास नै हो, विश्वमाथि शासन गर्ने हैन भन्ने भनाइ र गराइले चरितार्थ गर्दै पनि गएका छन्। बेल्ट एण्ड रोड इनिसियटिभ्सले पूर्वाधार विकास, सम्पर्क, स्वतन्त्र व्यापार क्षेत्र, पर्यटन, साँस्कृतिक आदानप्रदान, जनस्तरको सम्बन्ध, समुद्री सिल्क रोड, प्राचीन रेशमी मार्ग, यसले एशिया, अफ्रिका लगायत पछि परेका मुलुकहरूलाई दलदलबाट छिटो मुक्त गराउने प्रयास भैरहेको छ। सीको पुनरावृत्तिले अबका ५ वर्षमा विकासले तीव्र गति लिनेछ, अझ विशेषगरी छिमेकी मुलुकको।

समृद्धिको जुनसुकै उचाइमा पुगेपनि चीनले प्रभुत्ववाद लाद्ने विषयलाई बारबार इन्कार गर्दै आएको छ। चीनको विश्वव्यापी उदय शान्तिपूर्ण र अहस्तक्षेपकारी भएकाले भविष्यमा चीनबाट खतरा कमै छ। चीनले सबै मुलुकले सुरक्षित महसुस गर्ने वातावरण बनाइरहेछ, सोही चीन अबको केही दशकमै संसारको केन्द्रमा रहनेछ। १०० भन्दा बढी देश, क्षेत्र र संगठनले बेल्ट एण्ड रोडमा हस्ताक्षर गरेर विकासको मार्गचित्रमा समाहित गर्न थालिसकेका छन्। चीनको लगानी र व्यापार सबैका लागि सँधैका लागि खुल्ला भएको संकेत गरिसकेको छ।

अब यहाँनेर प्रश्न उब्जिन्छ, के चीनको विकास रफ्तारमा लपेटिन नेपाल पनि तयार छ? सीको सकारात्मक सन्देशले कम विकसित राष्ट्रका लागि फैलाएको सकारात्मक तरंगमा नेपाल तरंगिन तयार छ? चिनियाँ उदारता र तयारीले बाँड्न चाहेको विकासका लाभांश लिन राजी छ? धनी देशले अर्काको आन्तरिक मामिलामा हस्तक्षेपका साथ अपमानपूर्वक मिल्काएको रोटी टिप्ने या ससम्मान विकासको स्वाभिमानी जहाजमा चढ्ने नेपालको हातमा छ। नेपालका हरेक राजनीतिक दल तथा नेताहरूले विकासको नारा घन्काइरहेका छन्, सच्चा रूपमा विकासका पक्षपाती हुन् भने तत्कालै त्यो वातावरणका लागि तयारी थाल्नुपर्छ।

आगामी मार्चदेखि सी चिनफिङको दोश्रो कार्यकाल सुरू हुनेछ, त्यतिञ्जेसम्म नेपालमा पनि नयाँ संविधान अन्तर्गत चुनावको कार्य सकिएर विकासमा केन्द्रित हुने वातावरण बन्नेछ। त्यतिखेर नीति निर्माताहरू राष्ट्रको विकासका लागि कम्मर कस्न तयार भए भने चीन सँगसँगै नेपालले पनि विकासको गति लिनसक्नेछ। तर बेल्ट एण्ड रोड इनिसियटिभ्समा हस्ताक्षर गरेको वर्षदिन भैसक्दा पनि कुनै ठोस् प्रस्ताव दिन नसक्नुले नेपालको धीमा गति प्रतीत हुन्छ।

आफ्नै बलबुताले नभ्याउने भएपछि अर्काले गरिदिने विकास परियोजनाहरूमा सोचविचारका साथ अलिक छरितो बन्नसके नेपालले पनि विकासको एउटा धार समात्न सक्नेछ।

(From right) Chinese President Xi Jinping, Prime Minister Pushpa Kamal Dahal, Sita Dahal and Indian Prime Minister Narendra Modi in a meeting at Goa on Saturday, October 15, 2016. Photo Courtesy: Prakash Dahal

Leave a Reply

Your email address will not be published. Required fields are marked *