महराले भने– बाम एकता इतिहासको माग हो

  
  प्रकाशित मितिः मङ्लबार, कार्तिक २८, २०७४       | 233 Views   ||

घोराही । उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपालमा बाम एकता इतिहासको माग भएको बताउनुभएको छ । दाङको बिजौरीडाँडामा आयोजत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र इतिहासको माग भएको बताउनुभएको हो ।

दाङ क्षेत्र नम्बर २ का उम्मेदवार महराले समृद्ध नेपालका लागि समृद्ध दाङ आफूहरुको अभियान भएको बताउनुभयो । प्रदेश राजधानी चुनावपछि बन्ने सरकारले घोषणा गर्ने जानकारी दिंदै उहाँले पाँच नम्बर प्रदेशको राजधानी दाङ नै हुने ठोकुवा गर्नुभयो ।

आफू चुनावी अभियानमा जाँदा मतदाताले जितेपछि फर्केर आउनुहुने होइन कि भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘२०६४ सालमा राम्रो संविधान बनाउँछु भनेर भोट मागेको थिएँ, त्यसपछि म संविधान निर्माण र शान्ति प्रक्रियाको केन्द्रीय राजनीतिमा भूमिका निर्वाह गरेकाले जिल्लामा कम आएको साँचो हो, अब म ढुक्कका साथ यही रहेर काम गर्नेछु ।’

प्रदेश राजधानी बनाइसकेपछि यहाँको विकासका लागि डटेर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आफूले अर्थमन्त्री हुँदा दाङको विकासमा ५ अर्ब बजेट पठाए पनि ठेकेदार सही नहुँदा अहिले बाँदरको हातमा नरिवलजस्तो भएको टिप्पणी गर्नुभयो । दाङको विकास गरेर मात्रै प्युठान, रोल्पा, सल्यान र रुकुमको विकास हुनसक्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा दाङ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अमरबहादुर डाँगीले आफूहरुले गुरुयोजना बनाएर विकास गर्ने बताउनुभयो । आफू यसअघि पनि नगरपालिकामा जनप्रतिनिधि भइसकेकाले जनताको चाहना बुझेर बाम गर्ने क्षमता आफूमा भएको बताउनुभयो । उहाँले घोराही–आँखा अस्पतालको सडक कालोपत्रे गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

क्षेत्र नं. ३ मा जनभेटघाट

त्यस्तै क्षेत्र नम्बर ३ को चुनावी टोलीले पनि जनभेटघाट जारी राखेको छ । क्षेत्र नम्बर ३ का उम्मेदवार हिराचन्द्र केसी र क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले मंगलवार तुलसीपुरका विभिन्न स्थानमा जनभेटघाट गर्नुभएको छ ।

तुलसीपुरको पर्सेनीमा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेवार केसीले टाँठाबाठा मिलेर भ्रष्टाचार गर्नेहरुलाई होइन जनतालाई अघि लगाएर विकास निर्माण गर्ने बाम गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।

उहाँले आफूहरु निर्वाचित भएपछि योजनाबद्ध विकास कार्यक्रम ल्याउने बताउनुभयो । प्रदेशसभा सदस्य उम्मेदवार शर्माले जनताले अहिलेसम्मका अधिकारका आन्दोलनमा साथ दिएकाले अब समृद्धिको आन्दोलनमा पनि साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँहरुले मंगलबार तुलसीपुरको शिवनगर, हात्तीखौवा, स्याउलेबजार लगायतका क्षेत्रमा जनभेटघाट गर्नुभएको थियो । साथै उहाँहरुले जनप्रतिनिधि र महिला अगुवा भेलालाई पनि सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *