सोमबार संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत जा सङ नामले महासचिव एन्टोनियो गुटेर्रेसलाई एक पत्र पठाउँदै अमेरिका ‘अन्धाधुन्ध युद्ध अभ्यासमा लागेको’ आरोप लगाएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका भ्रमणको छेक पारेर तीन विमानबाहक जहाजसहित अमेरिकाले दक्षिण कोरिया र जापानसँग गरेको संयुक्त नौसैनिक अभ्यास मंगलबार सकिँदैछ।
शनिबार सुरु भएको सो अभ्यासमा युएसएस रोनाल्ड रिगन, युएसएस थियोडोर रुजवेल्ट र युएसएस निमित्ज नामक एक लाख टनभन्दा बढी तौलका तीन विमानवाहक जहाज र तिनका अन्य आक्रमणकारी जहाज र क्षेप्यास्त्रवाहकहरु समावेश छन्। अभ्यासमा अन्य अनेकाँै दक्षिण कोरियाली र जापानी जहाज पनि सहभागी भएका छन्।
करिब १० वर्षपछि सो क्षेत्रमा यसरी तीन ठूला विमानबाहक जहाज एकसाथ भेला भएका हुन्।
‘अमेरिकाले वर्षैभरी नबिसाइ आफ्ना पिछलग्गुहरुको साथमा हाम्रो गणतन्त्रलाई विनाश गर्न ठूलो मात्रामा गरेको आणविक युद्धअभ्यास र ब्ल्याकमेलले एउटै कुराको पुष्टि गरेको छः त्यो हो, हामीले रोजेको बाटो सही छ र हामी अन्तिमसम्म त्यही बाटोमा जानुपर्छ,’ राजदूत जा सङ नामले भनेका छन्।
‘बी–१बी र बी–२ बमवर्षक विमान दक्षिण कोरियाको आकाशमा लगातार उडाएर अमेरिकाले आक्रमणकारी मुद्रा अपनाएको’ पनि उनले आरोप लगाए। उनले ‘सिंगो मानवतामाथि भयानक प्रलय निम्त्याउन लागिपरेको अमेरिकाप्रति आँखा चिम्लिएको’ भन्दै संयुक्त राष्ट्रसंघको आलोचना पनि गरे। एजेन्सी