म सँग विकासको प्रष्ट खाका छ- जगप्रसाद शर्मा

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       | 177 Views   ||

जगप्रसाद शर्मा ‘अपार’
प्रदेश सभा सदस्य उम्मेदवार
दाङ निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा १

प्रदेश सभामा तपाईको उम्मेदवारी किन ?

अहिले हामी लामो बलिदानबाट प्राप्त संविधानसभाबाट बनेको नयाँ संविधान कार्यन्वयनको चरणमा छौं । आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचन पछि संविधान पूर्ण कार्यान्वयनको चरणमा जान्छ ।

मुलुकको परिवर्तन,गणतन्त्र प्राप्ती, संघीयता, धर्मनिरपक्षता लगायत समावेशी र समानुपातिक एजेण्डाहरु हाम्रै संघर्षबाट प्राप्त भएका हुन् । यो संविधानको कार्यान्वयन र प्राप्त उपलब्धिको कार्यान्वयन पनि अग्रगामी शक्तिहरुले मात्र गर्न सक्छन् । त्यही कारण हामी दुई वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीच पार्टी एकताको उद्देश्य सहित देशव्यापी चुनावी गठबन्धनमा छौं ।

अहिले गठबन्धनले दाङ निर्वाचन क्षेत्र नं. ३ प्रदेश सभा १ मा मलाई उम्मेदवार बनाएको छ । अहिले हामी गठबन्धनबाटै संयुक्त रुपमा चुनावी प्रचारमा लागेका छौं । हामीसँग यस क्षेत्रको विकासका लागि राम्रो भिजन छ ।

तपाई प्रदेश सदस्यमा विजय भइसकेपछि त्यहाँका जनताले तपाईबाट के अपेक्षा गर्ने ?

मैले यस क्षेत्रको विकासका लागि खाका तयार पारेको छु । हामीले संयुक्त घोषणा मार्फत पनि समग्र मुलुक र यस क्षेत्रका लागि विकासको खाका तयार पारेका छौं ।

मुख्य कुरा मैले यहाँको सडक निर्माण र सिँचाईमा ध्यान दिनुपर्ने छ । यस क्षेत्रमा सुकुम्वासी र ऐलानी जग्गा प्रशस्त छ । मैले सुकुम्वासीलाई जग्गाको व्यवस्था र ऐलानी जग्गालाई पनि लालपूर्जाको व्यवस्था गर्ने छु ।

अहिले दाङका खोलाहरुमा पुल निर्माणको काम ढिलाई भइरहेकोछ । पुल निर्माणलाई चाँडै सम्पन्न गर्नेमा म बाट पुरा पहल हुने छ । खोलाहरुले बर्षेनी कटान गर्दा उर्वरभूमिको क्षयीकरण भइरहेको छ । मैले तटबन्धनका लागि विशेष योजना लिने छु । खानेपानीको समस्या समाधानका लागि उत्तरी क्षेत्रमा हाइड्यामको व्यवस्था गरिने छ ।

थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि मैले उचित विशेषज्ञ सेवाका लागि पहलगर्ने छु । अहिले यस क्षेत्रका सडकहरुको अवस्था निकै नाजुक छ । म प्रदेश सभा सदस्य भएपछि यी सडकहरु कालोपत्रे गर्ने काम मेरो प्राथमिकतामा पर्ने छ । स्थानीयहरुलाई स्वच्छ खानेपानीका लागि घर,घरमा धारा पु¥याइने छ ।

यस क्षेत्रका जनता कृषिमा आधारित छन् । तर, उनीहरु अहिले निर्वाहमुखी खेती गरिरहेका छैनन् । मैले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई जोड दिनेछु । यसबाट बढ्दो युवा जनशक्ति विदेश पलायन रोकिनेछ । खेतीयोग्य जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिने छ । मैले प्रत्येक वडामा पशु तथा वाली विशेषज्ञ सहितको कृषि परामर्श केन्द्र स्थापना गर्न पहल गर्नेछु ।

यस क्षेत्रलाई तोरी र मसुरो उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास गरिने काम मेरो प्राथमिकताभित्र परेका छन् । त्यस्तै सहकारीमा धेरैभन्दा धेरै जनतालाई आवद्ध गराई उत्पादन खरिद र बिक्री पनि सहकारीमार्फत नै गर्नेमा प्रोत्साहन गरिने छ । प्रत्येक परिवारका कम्तिमा एक सदस्यले रोजगारी पाउने व्यवस्था गरिने छ । यस क्षेत्रमा उद्योग, धन्दा स्थापित गरी थप रोजगारीको प्रवद्र्धन गरिनेछ ।

बालश्रम, लैंगिक विभेद, बलात्कार, यौनशोषण, वालविवाह र मानव ओसारपसार तथा बेचबिखनलाई प्रभावकारी रुपमा नियन्त्रण गरिने छ ।

यस क्षेत्रका मतदाताले तपाईलाई नै मतदान गर्नुपर्ने कारण ?

मुख्य कुरा यहाँका जनता परिवर्तनका पक्षमा छन् । जनतालाई विकास र समृद्धि चाहिएको छ । जनतालाई झुक्काउने काम भइरहेको छ । तर अब जनता सचेत भइसकेका छन् ।

म परिवर्तनको आन्दोलनमा सारा जीवन अर्पण गरेको मान्छे हुँ । म जनताको सेवाका लागि निरन्तर लागिरहेको छु । मेरो कुनै पनि व्यक्तिगत स्वार्थ छैन । अब मुलुकको विकासको जिम्मा वामपन्थीको हातमा आउँछ ।

अहिले वामपन्थीहरुको पक्षमा दुई, तिहाई मत आउने कुरा निश्चित भइसकेको छ । यो अवस्थामा अरु साथीहरु जितेर यहाँको विकासमा पहल गर्न सक्नु हुन्छ । वामपन्थीलेनै विकास गर्ने भएकाले आमजनताले हामी वामपन्थी उम्मेदवारहरुलाई विजयी गराउनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *