हिजो अधिकारका लागि हिडे, अब विकासका लागि काम गर्छु – श्रृजना

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       | 399 Views   ||

१८ बर्षको उमेरमा उनले घरपरिवार नै छोडेर बेग्लै यात्रा रोजिन् । राजनीति त उनलाई त्यति थाहा थिएन तर गाउँमा जमिन्दारबाट हुने चर्को अत्याचारले उनलाई विद्रोही बनाएको थियो । उनी त्यस्ता अन्याय, अत्याचारबाट समाजलाई मुक्त पार्ने सपना बोकेर २०५८ सालमा लामबद्ध भएकी थिइन् जनमुक्ति आन्दोलनमा अर्थात् जनयुद्धमा ।

गाउँमा महिला संगठनमा आबद्ध रहँदै गर्दा वर्गीय राजनीति बुझ्दै राजनीतिक जीवनमा हाम फालेकी श्रृजना भूमिगत हुँदै तल्लो वर्गका जनतालाई संगठित गर्न थालिन् । र उतिबेला माओवादीले सञ्चालन गरेको जनसत्ताको पदाधिकारीमा रहेर जनताका समस्या र मुद्धाहरु सुल्झाउने जिम्मेवारी निर्वाह गरिरहिन् ।

तीब्र रुपमा भएको राजनीतिक परिपक्वता र जिम्मेवारीले उनलाई माथि उठाउँदै लग्यो । र उनले जनयुद्धकालमै थारु मोर्चाको जिल्ला र केन्द्रीय नेतृत्व तहको जिम्मेवारी सम्हाल्न पुगिन् । अहिले पार्टीको जिल्ला कमिटीमा रहेकी उनी पार्टी जिम्मेवारी सक्रियतापूर्वक पूरा गर्छिन् ।

२०४० सालमा तुलसीपुर उपमहानगरपालिका १० स्थित कट्कुइँयामा सामान्य चौधरी किसान परिवारमा जन्मेकी श्रृजनाले आन्दोलनकै दौरान ०६३ सालमा पार्टीमा बाहुन परिवारका जिल्ला नेता विश्वराज आचार्यसँग जनवादी विवाह गरिन् । आफ्नो जीवनका १४ वर्षे उर्वरकाल पूरै पार्टीमा लगाएकी श्रृजना अहिले पार्टीको प्रदेश सभामा समानुपातिकको उम्मेदवार बनेकी छिन् ।

तल्लो वर्गबाट आन्दोलनमा लागेकी इमान्दार र प्रतिबद्ध कार्यकर्ताको रुपमा पार्टीले उनलाई समानुपातिकको उम्मेदवारमा उठाएको छ । अहिले उनी पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको हँसियाहथौडामा भोट हाल्ने पार्टी समर्थक, शुभचिन्तक जनताकहाँ पुगिरहेकी छिन् । विगतको राजनीतिक आन्दोलनमा जनताको चेतनास्तर माथि उठाउन संगठन निर्माणको काममा लागियो, अब जनताको आर्थिकस्तर माथि उकास्न विकास र समृद्धिको बाटोमा लाग्ने श्रृजनाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *