पूर्वी रुकुम : वाम गठवन्धनको प्रचार शैली आक्रामक

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       | 408 Views   ||

गणेश वली

रुकुम (पूर्व) । स्थानीय तहको निर्वाचनमा माओवादीद्वारा सम्पूर्ण गाउँपालिका जितेको पूर्वी रुकुममा वामपन्थीहरुले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि आक्रामक रुपमा प्रचारप्रसार गरिरहेका छन् ।

नेपाली कांग्रेस, नयाँ शक्ति नेपाल लगायतका दलको उम्मेदवारी रहे पनि वामपन्थीका साझा उम्मेदवारहरु कमला रोका, तेजबहादुर ओली र पूर्णबहादुर घर्तीको प्रचार शैली आक्रामक रहेको छ ।

अन्य दलहरुले पनि प्रचार प्रसार गरे पनि ठूला सभा गर्न सकेका छैनन् । पूर्वी रुकुममा प्रतिनिधिसभामा वामपन्थीका साझा उम्मेदवार, नेपाली कांग्रेस र नयाँ शक्तिका उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको छ । तर माओवादीको आधार इलाका सो क्षेत्रमा कमला रोकाको विजय सुनिश्चित जस्तै रहेको स्थानीय बुद्धिजीवी तथा अगुवाहरुको विश्लेषण छ ।

पूर्वी रुकुममा आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि एमाले र माओवादीका तर्फबाट साझा प्रचारप्रसार टिम बनाएर विभिन्न शैलीमा प्रचार गरिरहेको एमाले नेता टोपबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा पूर्वी रुकुम प्रदेश सभा क्षेत्र नं. १ मा विभिन्न गाउँमा सभा सम्पन्न भइसकेको छ भने प्रदेश सभा क्षेत्र नं. २ मा पार्टीका आन्तरिक भेटघाट तथा घरदैलो भएको थियो भने दोस्रो चरणमा प्रदेश सभा क्षेत्र नं. २ मा आमसभा तथा क्षेत्र नं. १ मा घरदैलो कार्यक्रम चलिरहेको छ ।

प्रदेश सभा क्षेत्र नंं १ अन्तर्गत भूमेको महत, धर्मशाला, सिमा, काँक्री, लुकुम, पुथा उत्तरगंगाको कोल, राङसी, तकसेरा, ओख्मा, मयाङ, हुकाममैकोट, रन्मा, अर्जल, खाराबाङ, जाङ, चारगाउँ गरी ११ वटा स्थामा चुनावी सभा सम्पन्न भएको सोही क्षेत्रका प्रदेश सभा उम्मेदवार तेजबहादुर ओलीले जानकारी दिए ।

सभालाई माओवादी नेताहरु गणेशमान पुन, प्रदेश सभा प्रत्यक्षतर्फकी उम्मेदवार कमला रोका, प्रदेश सभाका उम्मेदवार तेजबहादुर ओली, एमाले नेताहरु खेममान खड्का, नन्दलाल शर्मा, देवी ओली, टोपबहादुर ओली लगायतले सम्बोधन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *