एकताको सहमति, निर्वाचन र आगामी गन्तव्य

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       | 306 Views   ||

डा. अमर गिरी

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास झण्डै सत्तरी वर्ष लामो छ । २००६ सालमा यसको स्थापना भएको थियो । विभाजन र एकता यसको अभिन्न अङ्ग जस्तै बन्दै आएको छ । फलस्वरूप मुलुकमा विभिन्न कम्युनिष्ट पार्टीहरू क्रियाशील छन् । यही यथार्थका बीचबाट प्रदेश र प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा एमाले र माओवादी केन्द्रका बीचमा सहकार्य र पार्टी एकताका निम्ति सहमति भएको छ । पार्टी एकता प्रक्रियालाई अघि बढाइएको छ र संयुक्त रूपमा निर्वाचन लडिदैछ । दुई ठूला कम्युनिष्ट पार्टीहरू बीचको यो सहकार्य र एकताको सहमतिलाई नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एक महत्वपूर्ण घटनाका रूपमा लिनुपर्छ । नेपाल नयाँ राजनैतिक अध्यायमा प्रवेश गरेको बेलाको यस घटनाको आफ्नै ऐतिहासिक महत्व रहेको छ । यसले मुलुकको राजनीतिमा मात्र होइन, समग्र पक्षमा दूरगामी प्रभाव पार्नेछ ।

नेपाली काङ्ग्रेस लगायतका दक्षिणपन्थी शक्तिहरूबाट यस चुनावी सहकार्य र एकता प्रक्रियालाई अघि बढाउने सहमतिको तिखो आलोचना भएको छ । सबैभन्दा बढी आलोचना काङ्ग्रेसले गरेको छ । उसले यसलाई ‘अधिनायकवादको स्थापना’सँग जोडेको छ र लोकतन्त्रका निम्ति ‘गम्भीर अनिष्टको सङ्केत’का रूपमा लिएको छ । काङ्ग्रेसको यो टिप्पणी निर्वाचनमा आफ्नो पराजय र लामो समयसम्म कम्युनिष्टहरूले शासन गर्न सक्ने भयसँग गाँसिएको छ । यसले निर्वाचन अघि नै काङ्गे्रसले प्रकारान्तरले पराजयलाई स्वीकार गरिसकेको पनि देखाउँछ । काङ्ग्रेस विगतमा आफैले निर्वाह गरेको भूमिकाबाट खुम्चिएको छ र अबको मुलुकको नेतृत्व उसबाट सम्भव पनि छैन ।

केही कम्युनिष्ट पार्टीहरूबाट पनि यस सहकार्य र एकताको सहमतिको कटु आलोचना भएको छ । कटु आलोचना बढी माओवादी केन्द्रको भएको छ । उनीहरूको दृष्टिमा एमाले त पहिल्यैदेखि संसदवादी पार्टी नै थियो, अब माओवादी केन्द्र पनि त्यही कित्तामा उभिन पुगेको छ । उनीहरूले यसलाई ‘जनयुद्ध’ र ‘नेपाली क्रान्तिप्रति चरम गद्दारी’का रूपमा उल्लेख गरेका छन् । माओवादी केन्द्रप्रति माओवादीबाटै विभाजित दलहरूको आलोचना सबैभन्दा कटु रहेको छ । यस सहकार्य र एकताको प्रयासबाट अन्तर्राष्ट्रिय कम्युनिष्ट विरोधी शक्तिहरू पनि झस्किएका छन् ।

दाङको निर्वाचन दाङका निम्ति मात्र होइन, केन्द्र र प्रदेश दुवैका निम्ति महत्वपूर्ण छ । दुई जना महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थितिका कारण यो निर्वाचन अझ महत्वपूर्ण बनेको छ । कृष्णबहादुर महरा दुई नम्बर क्षेत्रबाट प्रतिनिधि सभाका उम्मेदवार हुनुहुन्छ । शङ्कर पोख्रेल २ नम्बरको ‘१’ बाट प्रदेश सभाका उम्मेदवार हुनुहुन्छ ।

 

एमाले र माओवादी केन्द्रभित्रै पनि एकताको सहमतिलाई संशयको दृष्टिले हेर्नेहरूको कमी छैन । खास गरी यो संशय के एकता हुन्छ त भन्ने सकारात्मक चिन्तासँग सम्बन्धित छ । इमान्दार भएर भन्ने हो भने एकता कतिपयले भन्ने गरे जस्तो सजिलो छैन । यसका कारणहरू छन् । दुवै पार्टीहरूका बीचमा कतिपय वैचारिक, राजनीतिक विषयहरूमा मतभेद छन् । दुवैको स्कुलिङ र दुवैले हिंडेका बाटाहरूका बीचमा पनि भिन्नताहरू छन् । जनयुद्धका बेलामा दुवैका बीचमा भएका द्वन्द्व र त्यसका परिणामका पीडादायी अनुभवहरू पनि दुवैसँग छन् । एकीकृत पार्टी निर्माणका अन्य जटिलताहरू पनि छन् । यिनै कुराहरू संशयको आधारका रूपमा रहेका छन् ।

सहकार्य र एकीकृत पार्टी निर्माणको सहमतिसँगसँगै यसलाई विथोल्ने प्रयासहरू पनि सुरु भएका छन् । आन्तरिक र बाह्य दुवै तत्वहरू यसका निम्ति सक्रिय छन् । आउँदा दिनहरूमा यो सक्रियता अझ बढ्नेछ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभवलाई पर्गेल्दा यस यथार्थको अझ बढी पुष्टि हुन्छ । धेरैतिरबाट प्रहारको सामना गर्दै गरेको यस सहकार्य र एकताको सहमतिलाई बचाउँदै एकीकृत पार्टी निर्माणको लक्ष्यलाई टुङ्गोमा पु¥याउन पार्टी नेता एवं कार्यकर्ताहरूले धेरै ठूलो परिश्रम गर्नुपर्नेछ ।

निर्वाचनमा गरिने सहकार्यलाई प्रभावकारी बनाउन मात्र एकताको कुरालाई अगाडि सारिएको होइन । एकताको कुरालाई अगाडि नसारेर पनि निर्वाचनमा सहकार्य गर्न सकिन्थ्यो । यो एकताको सहमति मुलुकको आवश्यकता, कम्युनिष्ट आन्दोलनका ऐतिहासिक कार्यभारहरू, जनता र कार्यकर्ताहरूको भावनासँग जोडिएको छ । यो एकताको सहमति एमाले अध्यक्ष के.पी. ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको केही दिनको कुराकानी, व्यक्तिगत चाहना र गतिविधिको परिणाम मात्र होइन । यो दुवै नेता र सिङ्गो पार्टी नेतृत्वमाथि समयको दबाबको परिणाम हो । समयले दुवै कम्युनिष्ट पार्टीलाई या एकीकृत भएर अघि बढ्न तयार होऊ या त सधैं पराजित हुन र मुलुकको दुर्दशा हेरेर बस्न तयार होउ भनेको छ । एकीकृत पार्टी निर्माणको सहमतिमा यही वास्तविकता प्रतिबिम्बित भएको छ ।

राष्ट्रिय एवं अन्तर्राष्टिूय कम्युनिष्ट आन्दोलनको अनुभव र अध्ययन, नेपालको आफ्नो विशिष्टता, अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तन, माक्र्सवादलाई जडसूत्रवादका रूपमा होइन सृजनात्मक विज्ञानका रूपमा ग्रहण गर्नुपर्छ भन्ने दृष्टिकोणका आधारमा एमालेले विगतमा सिद्धान्त, विचार र राजनीतिका क्षेत्रमा गम्भीर बहसहरू चलाएको थियो । यस बहसको निष्कर्ष स्वरूप उसले वैचारिक, राजनीतिक क्षेत्रमा महत्वपूर्ण परिवर्तनहरू ग¥यो । जनताको बहुदलीय जनवाद यसकै परिणाम थियो । ऊ कम्युनिष्ट आन्दोलन र व्यवस्थाको लोकतान्त्रीकरणको पक्षमा मात्र उभिएन, लोकतान्त्रिक शासन व्यवस्थाभित्रबाटै प्रतिष्पर्धाका माध्यमबाट शान्तिपूर्ण रूपले समाजवादतर्फ बढ्न सकिन्छ भन्ने निष्कर्षमा पनि पुग्यो । ऊ आज पनि यही बाटोबाटै अगाडि बढेको छ र यसप्रति प्रतिबद्ध देखिन्छ । एकथरी कम्युनिष्टहरूबाट उसको यस दृष्टिकोणको आलोचना हिजो पनि भयो र आज पनि भइरहेछ । झापा विद्रोहको ‘लिगेसी’ बोकेको उसमा आएको यो परिवर्तन कतिलाई ‘आश्चर्य’ लाग्ने खालको थियो ।

माओवादीले दस वर्ष जनयुद्द ग¥यो । जनयुद्द, शान्तिप्रक्रिया, राजतन्त्रको अन्त्यदेखी यहाँसम्म आइपुग्दा माओवादीको राजनीतिक जीवनमा महत्वपूर्ण परिवर्तनहरू आएका छन् । यस परिवर्तनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभव र अध्ययन, फेरिएको अन्तर्राष्ट्रिय परिस्थिति, नेपालको आफ्नो परिस्थितिगत विशिष्टताले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । माओवादी आज वर्तमान राजनैतिक प्रणालीभित्रबाटै परिवर्तनको दिशामा अघि बढ्न प्रतिबद्ध देखिन्छ । माओवादीमा आएको वैचारिक, राजनैतिक परिवर्तन माओवादी पार्टीको विभाजनको आधार पनि बन्यो र मोहन वैद्य र विप्लव समूह त्यसबाट अलग्गिए । आज माओवादीकेन्द्र वैचारिक राजनीतिक रूपमा जहाँ उभिएको छ, यसले एमाले र माओवादी केन्द्रबीचको वैचारिक, राजनीतिक भिन्नताको दुरीलाई निकै कम गरेको छ । अब उनीहरूको बीचमा ठूलो अन्तर छैन ।

पार्टी एकताका निम्ति सबैभन्दा ठूला अड्चन वैचारिक, राजनैतिक भिन्नताहरू हुन् । यसमा ठूला भिन्नताहरू नरहेपछि पार्टी एकता गर्न सकिन्छ र गर्नुपर्छ । पार्टी एकता प्रक्रियामा समाधान नभएका कतिपय सामान्य विषयहरू पार्टी एकतापछि पनि समाधान गरेर जान सकिन्छ र जानुपर्छ । नेपाली समाजको परिवर्तन, विकास र समृद्धिको ऐतिहासिक कार्यभारलाई पूरा गर्न एकीकृत पार्टी निर्माणको कुनै विकल्प छैन । सम्पूर्ण पार्टीपङ्क्ति, बौद्धिक समुदाय, समर्थक र शुभेच्छुकहरूको प्रयत्न एकताको सहमतिलाई पार्टी एकतासम्म पु¥याउन केन्द्रित हुन जरूरी छ । आग्रह, सङ्कीर्णता, अति महत्वाकाङ्क्षा जस्ता कुराले पनि एकतामा भाँजो हाल्छन् । एकतालाई असफल गराउन बाह्य षडयन्त्रहरूले पनि भूमिका सम्पादन गर्छन् । मुलुक भित्रकै एकता विरोधी शक्तिहरू पनि यसको विरोधमा उभिन्छन् । एकतालाई टुङ्गोमा पु¥याउन यी सबैको प्रतिवाद गर्दै अघि बढ्न सक्नुपर्छ । कथंकदाचित् एकता हुन सकेन भने यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई गम्भीर क्षति पु¥याउनेछ । आन्दोलन दसकौँ पछि धकेलिनेछ ।

नेपालको कम्युनिष्ट आन्दोलन माक्र्सवादको सृजनात्मक प्रयोग, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण, शान्तिपूर्ण एवं प्रतिष्पर्धात्मक रूपले ऐतिहासिक कार्यभारहरूको सम्पादन गर्दै समाजवादतर्फ प्रस्थान गर्नुपर्छ । शान्तिपूर्ण ढङ्गले समाजवादतर्फ प्रस्थान गर्दा के कस्ता गौँडागल्छेडाहरू आउलान, अहिले नै धेरै भन्न सकिन्न । अधिल्तिर बढ्ने क्रममै यसको पनि सामना गर्दै जानुपर्छ । संसदीय राजनीतिक प्रणालीभित्रैबाट समाजवादतर्फको यात्रा सम्भव छ ? त्यस्तो समाजवाद कस्तो हुनेछ ? के त्यससँग समाजवादी सारत्व रहनेछ ? जस्ता गम्भीर प्रश्नहरू बेलाबखत उठ्छन् र यी स्वभाविक पनि छन् । पुँजीवादभित्रै समाजवाद सम्भव छैन । यसले पुँजीवादलाई अतिक्रमण गर्नैपर्छ । बुर्जुवा लोकतान्त्रिक प्रणाली, समाजवादी लोकतान्त्रिक प्रणालीमा बद्लिनै पर्छ । सार र रूपको प्रश्नलाई समाधान गर्नैपर्छ । लोकतान्त्रिक प्रणाली र पुँजीवाद जोडिएका छन् । पुँजीवादका कारण लोकतन्त्र बढी औपचारिक बनेको छ । ग्राम्सीका भाषामा भन्दा यो उत्पीडकहरूका निम्ति आम मानिसहरू माथि शासन गर्ने सहमति (कन्सेन्ट) प्राप्त गर्ने माध्यमका रूपमा रहेको छ । कम्युनिष्टहरूले लोकतन्त्रलाई आम मानिसका हकहितसँग जोड्नुपर्छ र पुँजीवादी व्यवस्थामा जस्तो आममानिसमाथि वर्चश्व कायम गर्न ‘सहमति’ प्राप्त गर्ने माध्यम बन्न दिनहुन्न । लोकतन्त्र समाजवादी सारतत्वसँग गाँसिनुपर्छ । होइन भने सार र रूपको प्रश्नको समाधान नै हुन्न । संसदीय लोकतन्त्रले होइन यसको समाधान समाजवादी लोकतन्त्रले मात्र गर्छ । व्यवस्था समाजवाद, शासन प्रणाली बुर्जुवा लोकतन्त्र हुनै सक्दैन ।

माक्र्सले पुँजीवादको विकास भएका र लोकतन्त्र रहेका मुलुकहरूमा शान्तिपूर्ण ढङ्गले पनि समाजवादी क्रान्तिको दिशातर्फ प्रस्थान गर्न सम्भव छ भनेका छन् । परिवर्तनको उद्देश्यसहित पुँजीवादी संरचनाभित्र कम्युनिष्टहरूले चुनाव लड्ने र सरकारमा सहभागी हुने वा सरकार बनाउने कार्यहरू भएका छन् । यस प्रक्रियामा अधिकाँश पार्टीहरूको पुँजीवादी संरचनाभित्रै बिलय भएको छ । यसको सबैभन्दा राम्रो दृष्टान्त युरोपका कतिपय कम्युनिष्ट पार्टीहरू हुन् । यो जोखिम नेपालको कम्युनिष्ट आन्दोलनका अगाडि पनि छ । हामी प्रयोगमै छौँ । हामी पुँजीवादी संरचनाभित्रै हराउने सम्भावना त्यसबेला रहनेछ जब हाम्रो आन्दोलनले क्रान्तिकारी सारतत्व गुमाउनेछ । वर्ग, वर्गसङ्घर्ष, वर्गीय पक्षधरता, राज्यको चरित्र, समाजवाद, समाजवादी लोकतन्त्र, पुँजीवादको प्रतिवाद, सामाजिक, सांस्कृतिक रूपान्तरण आदि जस्ता विषयहरूमा रहने वैचारिक त्रुटिहरूले यो स्थिति सृजना गर्नेछन् । एकता प्रक्रिया र एकतापछि पनि यस्ता विषयहरूमा निरन्तर विमर्शको आवश्यकता रहनेछ ।

नेपालको संविधानका जेजस्ता विशेषताहरू छन्, तीमाथि टेकेर अघिल्तिर प्रस्थान गर्न सम्भव छ । यो प्रतिनिधिमूलक र समावेशी लोकतन्त्रका विशेषताहरूबाट निर्मित छ । संविधानमा उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्रलाई माथि उठाउने, समानता र सामाजिक न्यायको स्थापना, विभेदको अन्त्य, मौलिक हकहरूको प्राप्ति र संरक्षण आदि विषयमा जेजस्ता प्राबधानहरू छन्, तिनले संविधानलाई जनपक्षीय बनाएका छन् । कम्युनिष्टहरूको सहभागिता र संघर्षका कारण यस्तो संविधानको निर्माण सम्भव भएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा कम्युनिष्टहरूको ऐतिहासिक भूमिका रहेको छ र लोकतान्त्रिक हक अधिकारहरूको प्राप्ति उनीहरूको आन्दोलनको महत्वपूर्ण एजेन्डा बन्दै आएको छ । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा यस्ता दृष्टान्तहरू निकै कम पाइन्छन् ।

प्रगतिशील सुधार र परिवर्तनहरू गर्दै अघिल्तिर बढ्दा आउने चुनौतिहरू सामान्य हुने छैनन् । मुलुकभित्र दक्षिणपन्थी शक्तिहरूको तिव्र विरोधको सामना गर्नु पर्नेछ । बाहिरबाट समकालीन वितीय पूँजीवादले गम्भीर अवरोधहरू खडा गर्नेछ । बाह्य राजनीतिक अवरोधहरू आउनेछन् । यसको सामना साहस र बुद्धिमतापूर्वक गर्नु पर्नेछ । नेपालको विशिष्टतालाई नियाल्दा नेपालमा शान्तिपूर्णढङ्गले समाजवादको स्थापना गर्न सकिने प्रचुर सम्भावनाहरू छन् । संविधानमै समाजवादको उल्लेख गरिएको छ । बहुदलीयता र लोकतान्त्रिक मूल्यमान्यतालाई नेपालमा स्थापना गरिने समाजवादको विशेषताका रूपमा विकास गरेर जान र यसलाई आम मानिसका हितहरूसँग अझ बढी जोड्न सकिन्छ । मैले आफ्ना रचनाहरूमा ‘समाजवादी लोकतन्त्र’ को उल्लेख यसै सन्दर्भमा गर्दै आएको छु । समाजवादले समाजवादी सारतत्वसहितको लोकतान्त्रिक प्रणाली र मूल्यमान्यतालाई ग्रहण गर्न जरूरी छ । समाजवादी लोकतन्त्रको चर्चा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि भएको छ । यस सम्बन्धमा देखा पर्ने वैचारिक विभ्रम र जडसूत्रवादी दृष्टिकोणले परिवर्तनको प्रक्रियालाई मात्र होइन, एकताको प्रक्रियालाई पनि विथोल्नेछ ।

अब थोरै निर्वाचनको कुरा गरौँ । प्रदेश र प्रतिनिधिसभामा कम्युनिष्ट गठबन्धनले बहुमत प्राप्त गर्ने कुरा संविधानको कार्यान्वयन, समानता र सामाजिक न्यायमा आधारित आर्थिक विकास र समृद्धि, सामाजिक–सांस्कृतिक रूपान्तरण र नेपाली जनतालाई राजनीतिक रूपमा निर्णयक र अधिकार सम्पन्न बनाउने कुरासँग जोडिएको छ । यो आत्मनिर्भर र स्वाधीन, नेपालको रचनासँग पनि गाँसिएको छ । यो हाम्रो समाजवादतर्फको यात्रासँग पनि सम्बन्धित छ । समग्रमा भन्दा यो सबै दृष्टिले नयाँ नेपाल निर्माण गर्ने कुरासँग गाँसिएको छ । संविधानको मर्म अनुरूप नेपालको निर्माण र अघिल्तिर प्रस्थान अन्य कुनै राजनीतिक दलहरूबाट सम्भव छैन ।

नेपाली काङ्ग्रेसबाट मुलुकको विकास र परिवर्तनको आसा गर्न सकिन्न । उसका दृष्टिकोण, नीति र कार्यक्रमहरू यथास्थितिवादी छन् । ०४६ सालपछि धेरै समय सत्तामा रहिसकेको काङ्ग्रेसकै कारण मुुलुक पछि परेको हो । मुलुकको समग्र परिवर्तन, विकास, समृद्धि र अघिल्तिर प्रस्थानका निम्ति कम्युनिष्ट गठबन्धनले बहुमत प्रप्त गर्न आवश्यक छ । उनीहरूको नेतृत्वमा सरकार बन्न सक्दा नै मुलुुक अघि बढ्न सक्छ । कम्युनिष्ट आन्दोलनका समस्त समर्थक, शुभेच्छुक एवं आम न्यायप्रेमी जनताको यतिबेलाको दायित्व कम्युनिष्ट गठबन्धनलाई निर्वाचनमा जिताउनका निम्ति आ–आफ्नो ठाउँबाट भूमिका सम्पादन गर्नु हो । यसका निम्ति यस ऐतिहासिक अवसरको सुमुचित उपयोग गर्नु हो ।

निर्वाचनमा गठबन्धनको निर्माण र एकताको सहमतिले विजयका निम्ति बलियो आधारको निर्माण गरेको छ । गठबन्धनको सम्भावित विजयबाट तर्सिएर यसका विरूद्ध अनर्गल प्रचारहरू भइरहेका छन् । गोयबल्स प्रचारको वास्तविकतालाई छर्लङ्ग पार्नु, गठबन्धनको आवश्यकता, उद्देश्य र आउँदा दिनहरूमा उसले गर्ने कार्यहरू, नेपालको राजनीतिक परिवर्तन, संविधानको निर्माण, बाह्य हस्तक्षेप विरूद्ध एमाले र माओवादी केन्द्रले गरेको सङ्घर्ष, मुलुकको परिवर्तन, समानता, सामाजिक न्याय, आर्थिक विकास र समृद्धिका क्षेत्रमा आउँदा दिनहरूमा कम्युनिष्ट गठबन्धनले गर्ने कार्यहरूलाई आम जनताका बीचमा राख्नु यतिबेलाको दायित्व हो ।

एमाले र माओवादीद्वारा संयुक्त रूपमा जारी चुनावी घोषणापत्रलाई यतिबेला ‘आश्वासन र सपना’हरूको पुलिन्दाका रूपमा कतिपयबाट आलोचना गरिदैछ । यो आलोचनाको प्रति आलोचना र घोषणापत्रको वास्तविकतालाई स्पष्ट गर्नु पनि यतिबेलाको दायित्व हो । घोषणापत्रले कम्युनिष्ट गठबन्धनले आउँदा दिनहरूमा मुलुक र जनताको हितमा के गर्न चाहन्छ भन्ने कुरालाई अगाडि सारेको छ । यी पूरा हुनै नसक्ने ‘आश्वासन र सपनाहरू’ होइनन् । मुलुक नयाँ अध्यायमा प्रवेश गरेका बेला सपना देख्न पनि जरूरी छ । सपना देख्नु अपराध होइन । बरू सपना नदेख्नु जडता हो । जसले सपना देख्दैन, त्यसले गर्न पनि केही सक्दैन । निश्चय नै विगतका कमजोरीहरू आगामी यात्रामा दोहरिन हुन्न । अहिले पनि कम्युनिष्ट आन्दोलन कमजोरी मुक्त छैन । तर यसका नाममा निरर्थक आलोचना गर्न मिल्दैन । दायित्व पूरा गर्न नसके जनताले नै दण्ड दिनेछन् । आज कम्युनिष्ट गठबन्धनले जे–जस्ता प्रतिबद्धताहरू अघि सारेको छ, त्यो ऐतिहासिक छ । ती वास्तविकतामा आधारित छन् र पूरा गर्न सकिन्छ ।

मुलुक निर्वाचनमय भएको यस घडीमा दाङलाई पनि बेसरी निर्वाचन लागेको छ । दाङको कम्युनिष्ट आन्दोलनको इतिहास लामो छ । कम्युनिष्ट आन्दोलनको विकास र मुलुकको राजनीतिक परिवर्तनमा दाङको महत्वपूर्ण योगदान रहेको छ । परिवर्तनका निम्ति सङ्घर्षका क्रममा सहादत प्राप्त गर्नेहरूको अपूर्व त्याग र बलिदान सिङ्गो कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनका निम्ति प्रेरणाको स्रोत र गौरवको विषय रहँदै आएको छ । कम्युनिष्टहरूको राम्रो आधार रहे पनि ०४६ पछिका निर्वाचनहरूमा दाङबाट प्रायःकाङ्ग्रेसहरू नै निर्वाचित भएका छन् । कम्युनिष्ट गठबन्धनले यसलाई तोड्नुपर्छ र यसपटकको निर्वाचनमा दाङलाई लालकिल्लामा परिवर्तन गर्नुपर्छ । कम्युनिष्ट गठबन्धनका कारण यो सम्भव पनि छ ।

दाङको निर्वाचन दाङका निम्ति मात्र होइन, केन्द्र र प्रदेश दुवैका निम्ति महत्वपूर्ण छ । दुई जना महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थितिका कारण यो निर्वाचन अझ महत्वपूर्ण बनेको छ । कृष्णबहादुर महरा दुई नम्बर क्षेत्रबाट प्रतिनिधि सभाका उम्मेदवार हुनुहुन्छ । शङ्कर पोख्रेल २ नम्बरको ‘१’ बाट प्रदेश सभाका उम्मेदवार हुनुहुन्छ ।

एमाले अध्यक्ष के.पी. ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीचको समझदारी र आग्रहका कारण ५ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा पोख्रेल प्रदेश सभाको उम्मेदवार बन्नुभएको छ । यसले दाङको विकासका साथसाथै समग्र प्रदेश र राष्टूका सन्दर्भमा महत्वपूर्ण अर्थ राख्छ । महराको उम्मेदवारीले पनि दाङ, प्रदेश र राष्टूका निम्ति त्यत्तिकै महत्व राख्छ । महरा र पोख्रेल दुवै जना स्पष्ट दृष्टिकोण र सुझबुझ भएका नेता हुनुहुन्छ । दुवैलाई पार्टीमा बलियो पकड राख्ने नेताका रूपमा लिइन्छ । दुवै नेताहरूको मुलुकको कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको छ । दुवै नेताहरूले प्रदेश मात्र होइन सिङ्गै मुलुकको नेतृत्व गर्ने क्षमता राख्नुहुन्छ । मुलुकको भावी राजनीतिका साथै दाङलाई प्रादेशिक राजधानी बनाउन र यसको समग्र विकास एवम् समृद्धिका निम्ति यी दुवै नेताले निर्वाचनमा विजय प्राप्त गर्न आवश्यक छ । प्रतिनिधि र प्रदेशसभाका अन्य उम्मेदवारहरू पनि आन्दोलनसँग जोडिएर आउनुभएका महत्वपूर्ण व्यक्तित्वहरू हुनुहुन्छ । दङाली जनताले यसपटक सबै वामपन्थी उम्मेदवारहरूलाई विजयको माला पहि¥याएर नयाँ अध्यायको रचना गर्नेछन् भन्ने विश्वास गर्न सकिन्छ ।

निर्वाचनमा सहकार्य र पार्टी एकताको सहमतिले यस मुलुकका परिवर्तनधर्मी जनता औधी खुसी भएका छन् । विचार मिल्ने कम्युनिष्टहरू एउटै ठाउँमा उभिनुपर्छ भनेर निरन्तर बोल्दै र लेख्दै आएका म जस्ता मानिसहरू यसबाट अझ बढी खुसी हुनु स्वाभाविक छ ।

आजभन्दा झण्डै २२ वर्ष अघि म कतिपय राजनीतिक, वैचारिक विषयमा विमति जनाउँदै माओवादीबाट एमालेमा प्रवेश गरेको थिएँ । सोभियत समाजवादको अन्त्य, बदलिएको अन्तर्राष्ट्रिय परिस्थिति, नेपालको आफ्नो विशिष्टता आदिका सन्दर्भमा म मदन भण्डारीद्वारा अघि सारिएका विचारहरूबाट प्रभावित थिएँ । अ.ने.रा.स्व.वि.यु (छैठौँ) को केन्द्रीय उपाध्यक्ष हुँदै जिल्ला पार्टीको सचिवसम्म भएर काम गरेको मेरा निम्ति यो प्रवेश त्यति सहज थिएन ।

आज हामी चुनावमा सहकार्य गर्दैछौँ र पार्टी एकताको सहमतिलाई टुङ्गोमा पु¥याउन प्रतिबद्ध छौँ । म पुनः मेरा पुराना सहकर्मी कमरेडहरूसँग जोडिएको छु । कृष्णबहादुर महराजीलाई फोन गरेर मैले विजयको शुभकामना मात्र दिइनँ, पार्टी एकता गर्ने सहमति भएकोमा खुसी पनि व्यक्त गरेँ । पार्टी एकताको सहमतिलाई जसरी भए पनि टुङ्गोमा पु¥याउनुपर्छ भन्ने महराजीको प्रतिबद्धताले मलाई अझ खुशी बनायो । कृष्णबहादुर महरा र शङ्कर पोख्रेलहरूको भूमिकाले पार्टी एकताको सहमतिलाई टुङ्गोमा पु¥याउन विशेष महत्व राख्छ । म जस्ता मानिसहरूले त त्यसमा होस्टेमा हैसेँ गर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *