बोजपोखरा पुगेर महरा र पोख्रेलले भने– दाङले विकासको नेतृत्व गर्दैछ

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       | 103 Views   ||

दुर्गालाल केसी

बोजपोखरा (दाङ) । माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार कृष्णबहादुर महरा र एमाले स्थायी समिति सदस्य एवं प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. २ (१) का उम्मेदवार शंकर पोख्रेलले दाङले विकासको नेतृत्व गर्न थालेको बताउनुभएको छ ।

बुधबार स्यूजाको बोजपोखरामा आयोजित संयुक्त बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँहरुले केन्द्रमा महरा र प्रदेशमा पोख्रेलले विकासको नेतृत्व गर्न थालेकाले दाङका लागि यो महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

‘बाम एकताले जनतामा नयाँ उत्साह पैदा गरेको छ । दाङले केन्द्रीय नेताहरु जिताउने अवसर पाएको छ,’ उहाँहरुले भन्नुभयो, ‘दाङबाटै केन्द्र र प्रदेश सरकारको नेतृत्व हुँदैछ । जनताका समस्या समाधान गर्ने अवसर हामीलाई मिलेको छ ।’

चुनवपछि बन्ने बाम गठबन्धनको सरकारले पहाडका सडकको विकासमा ध्यान दिने महराले बताउनुभयो । ‘यहाँका पहाडी गाउँहरुमा विकास हुन सकेको छैन । सडक मुख्य समस्या छ,’ उहाँले भन्नुभयो, ‘अब हामी सडकलाई प्राथमिकता दिएर पहाडी क्षेत्रको विकास गर्नेछौं । हामी ग्रामिण जनताको विकासलाई प्राथमिकता दिएर काम गर्छौं ।’

पोख्रेलले पनि दाङबाटै प्रदेश प्रमुख बनाउने अवसर नगुमाउन मतदातालाई अनुरोध गर्नुभयो । पोख्रेलले दाङले प्रदेश प्रमुख पाउनु गौरवको कुरा भएको बताउनुभयो । ‘म प्रदेशको मुख्य मन्त्री हुनेगरी चुनावी मैदानमा आएको छु । म यहाँको विकासको नेतृत्व गर्न आएको छु,’ उहाँले भन्नुभयो, ‘यो अवसरलाई सबैले सदुपयोग गर्नुप¥यो । दाङको विकास गर्ने जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ ।’

दाङलाई प्रदेश राजधानी बनाई यहाँको जीवनस्तरमा परिवर्तन गर्न आफू कटिबद्ध भएर लाग्ने उहाँले बताउनुभयो । ‘अब हाम्रो जीवनस्तरमा परिवर्तन आउनुपर्छ । स्यूजा अझै अँध्यारोमा बसेको छ । अब हामी घरघरमा उज्यालो लिएर आउने छौं,’ पोख्रेलले भन्नुभयो, ‘जनताको जीवन माथि उठाउने योजनासहित हामी चुनावमा होमिएका छौैं ।’

युवाहरुलाई बैदेशिक रोजगारबाट रोकी स्वदेशमै रोजगारमा लगाउने, कृषि पेशालाई आयमुलक बनाउने र जनतालाई उपचार नपाएर मर्ने स्थितिबाट मुक्त गर्ने योजना रहेको पोख्रेलले बताउनुभयो ।

उहाँले केन्द्रीय सरकारमा महरा र प्रदेशमा आफूले नेतृत्व गरेर यहाँको विकासमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो । ‘स्थानीय सरकार पनि हाम्रै छन् । अब केन्द्र र प्रदेश सरकार प्रमुख छान्ने बेला आएको छ,’ उहाँले भन्नुभयो, ‘यसप्रति सबै जनता सचेत भैदिनुप¥यो । सही नेता र पार्टी छानेर विकासको जिम्मेवारी दिनुप¥यो ।’

एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार सुजिता शाक्यले दाङका पहाडी भूभागलाई प्राकृतिक चिकित्सा, आयुर्वेद चिकित्सा र प्राकृतिक पर्यटनको केन्द्र बनाउन सकिने बताउनुभयो । उहाँले पहाडी भूभागको विकटता कम गर्न बाम गठबन्धनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

गाउँगाउँबाट बाजागाजासहित आएका मतदाताले चुनावी सभाको रौनक बढाएका थिए । कार्यक्रममा विभिन्न पार्टीबाट एमाले र माओवादी केन्द्रमा प्रवेश गरेका थिए । हास्य कलाकार कमल गाउँलेले कलामार्फत् मतदातालाई सही नेता छान्न अनुरोध गर्नुभएको थियो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका हेमराज पुनले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण माओवादी केन्द्रका डोमाकान्त कुवरले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *