महरा, बर्षमान र ओनसरीलाई लक्षित गरी रोल्पामा बम प्रहार

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       | 247 Views   ||

रोल्पा, मंसिर १ । नेकपा माओवादी केन्द्रका नेताहरु चढेका गाडीमाथि लक्षित गरी रोल्पाको भदौरेमा बम प्रहार भएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महरा, सभाभुखओनसरी घर्ती र पूर्वअर्थमन्त्री बर्षमान पुन चढेका गाडीमाथि लक्षित गरी बम प्रहार गरिएको छ ।

माथि भीरबाट प्रहार गरिएको बम नेताहरु चढेको गाडीभन्दा डेढ सय मिटर टाढा पड्केको थियो । आक्रमणबाट कुनै मानवीय क्षति नभएको नेताहरुसँगै रहेका पत्रकार पाण्डव शर्माले जानकारी दिनुभएको छ । यो ठाउँ लिवाङभन्दा १० किलोमिटर टाढा हो । घटनास्थल नजिक भेटिएको अर्को बम प्रहरीले निष्कृय पारेको छ ।

सुरक्षाकर्मीले दुई राउण्ड जवाफी फायर गरेका थिए । नेताहरुको टोली सुरक्षित लिवाङतर्फ प्रस्थान गरेको छ भने सशस्त्र प्रहरीले घटनास्थलमा खोजतलास शुरु गरेको सुरक्षास्रोतले जनाएको छ ।

आज रोल्पाको लिवाङमा हुने जनसभामा भाग लिन नेताहरु त्यसतर्फ जाँदै गर्दा बाटोमा आक्रमणमा परेका हुन् । आक्रमणको जिम्मा कसैले नलिए पनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको सुरक्षा स्रोतले जनाएको छ ।

बम प्रहार अराजनीतिक र अपराधिक घटनाः महरा

उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पाको भदौरेमा आफूहरुमाथि लक्षित गरी गरिएको बम आक्रमणको घटना दुस्सहासिक, अराजनीतिक र आपराधिक भएको टिप्पणी गर्नुभएको छ ।

घटनालगत्तै पहिलो प्रतिक्रिया दिंदै उहाँले सिस्ने अनलाइनसँग भन्नुभयो– ‘यो घटनालाई मैले दुस्साहसिक, अराजनीतिक र अपराधिक घटनाको रुपमा लिएको छु ।’

गणतान्त्रिक नयाँ संविधान घोषणा गरेर देशलाई समृद्धिको बाटोमा लैजाने अभियान शुरु गर्ने महाअभियानमा अवरोध गरेर प्रतिगामी तत्वलाई फाइदा पुर्याउने र अन्नतः देशलाई प्रतिगामीकै हातमा पु¥याउने यो दुस्साहसिक कार्य भएको उहाँले बताउनुभयो ।

‘आक्रमणकारी को हुन्, पहिचान हुन सकेको छैन तर जो भए पनि यो कुनै राजनीतिक कार्य होइन’– उहाँले भन्नुभयो– ‘अहिलेसम्म सार्वजनिक रुपमा कसैले युद्ध घोषणा नगरेको र गर्नुपर्ने कुनै आवश्यकतासमेत नभएको बेला यसरी अपराधिकढंगले प्रस्तुत हुने जुन समूह भए पनि त्यो राजनीतिक होइन, अपराधिक समूह हो ।’

– सिस्ने अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *