विप्लवका जिल्ला सदस्य माओवादी केन्द्रमा प्रवेश

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ५, २०७४       | 176 Views   ||

रुकुम । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति पश्चिम रुकुमका सदस्य हरिशंकर पाण्डेले सोमबार पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

मुसीकोट नगरपालिका वडा नं. ९ चौखावाङ होल्तारामा सोमवार आयोजित वाम गठवन्धनको चुनावी कार्यक्रममा उहाँले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

जनयुद्धकालीन भुमिगत राजनीति समेत गर्नुभएका पुराना कम्युनिष्ट नेता पाण्डेलाई माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य वसन्त शर्मा कुशलले अविर लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । नेता पाण्डेसंगै आधादर्जन अरु नेता कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

विप्लव समुह परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका पाण्डेले बृहत वाम एकतामार्फत नेपालमा समाजवादी क्रान्तिलाई टेवा पु¥याउने उद्धेश्यले आफुले माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो । उहाँले विप्लवले लिएको एकीकृत जनक्रान्तिको नारा सारसंग्रहवादी, अस्पष्ट र वस्तुपरक नभएको पनि वताउनुभयो ।

विगतमा प्रचण्ड नेतृत्वको पार्टी संसदवादमा फसेको भ्रम आफुलाई पनि परेको बताउँदै नेता पाण्डेले वामएकतामार्फत् माओवादी केन्द्र कार्यकारी प्रमुखको प्रणालीसहित समाजवादी क्रान्तिको दिशामा अगाडि बढेको कारण आफनो भ्रम अन्त्य भएको वताउनुभयो ।

पत्रकारहरुसंग कुरा गर्दै उहाँले आफुले विगतदेखि नै क्रान्तिकारी धाराको कम्युनिष्ट आन्दोलनमा आफनो श्रम र पसिना खर्चेको वताउदै भ्रमवश विप्लवको पछि लागेका सवै नेता कार्यकर्ताहरु क्रान्तिकारी धारामा गोलवन्द हुने विश्वास व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा काँग्रेसमा आवद्ध कार्यकर्ताहरु पनि रहेका छन् । नेपाली काँग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा मुसीकोट नगरपालिका वडा नं. ९ साविक चौखावाङ गाविस वडा नं. १ का सरिता ओली, सुभद्रा खड्का, झुपा ओली लगायत रहेका छन् ।

उनीहरुले श्रमजीवी वर्गको हित काँग्रेसवाट सम्भव नभएकोले आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको वताएका छन् । आफुहरु लामो समय काँग्रेसमा आवद्ध भए पनि गरिब दुखी जनताको हित कम्युनिष्टहरुले मात्र गर्ने वुझेपछि प्रवेश गरेको उनीहरुको भनाई छ ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य वशन्त शर्मा कुशलले क्षमता अनुसार सम्मानजनक जिम्मेवारी दिई पार्टीमा क्रियाशील गराउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *