‘दाङका नौ वटै क्षेत्रमा बाम गठबन्धनले जित्छ’

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर ५, २०७४       | 210 Views   ||

पाण्डव शर्मा

बाम गठबन्धनका नेताहरुले दाङका नौवटै सिटमा चुनाव जित्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार फणिन्द्र घिमिरेको १३ औं दिनको अवसरमा आज उहाँकै निवास बर्गदीमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्वोधन गर्दै नेताहरुले यस्तो दावी गरेका हुन् ।

माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महराले घिमिरेको निधनले अपूरणीय क्षति भएको बताउँदै घिमिरेजस्ता पुराना र त्यागी कम्युनिष्टहरुको सपना अब बाम एकताबाट पूरा गरिने बताउनुभयो ।

अहिले भएको बाम एकता चुनाव जित्ने कुरासँग मात्र सम्बन्धित नभएर एउटा वर्गको सपनासँग जोडिएकाले अब आम श्रमजीवी वर्ग उत्साहित भएर अघि बढ्नुपर्ने बताउनुभयो । अहिलेको चुनावी तयारीसँगै पार्टी एकताको गृहकार्य पनि भइरहेकाले एमाले र माओवादीबीच पार्टी एकता हुने अब पक्का भएको पनि उहाँले बताउनुभयो ।

एमाले नेता एवं दाङ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार शंकर पोख्रेलले बाम एकता अहिलेको आवश्यकता र जनताको चाहना भएको बताउनुभयो । उहाँले दाङमा तीन प्रतिनिधिसभा र छ प्रदेशसभा गरी नौवटै क्षेत्रको चुनाव जित्ने अवस्था देखिएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र दाङको आयोजनामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य एवं जिल्ला सहइञ्चार्ज निर्मल आचार्यले घिमिरेको जीवनीबारे प्रकाश पार्नुभएको थियो । जिल्ला इञ्चार्ज जीवन गौतमको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन संयोजक सुवास पुनले गर्नुभएको थियो ।

यसैबीच माओवादी केन्द्र दाङले आज दिउँसो २ बजे पार्टीका पोलिटब्यूरो सदस्य प्रकाश दाहालको स्मृतिमा श्रद्धाञ्जली सभा गर्ने जनाएको छ । दिउँसो २ बजे घोराही १८ पिपलखालीमा सभा गरिने पनि सो पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *