महरा र दाङको राजनीतिमा उनको भूमिका

  
  प्रकाशित मितिः बुधबार, मंसिर ६, २०७४       | 705 Views   ||

यही २०७४ मंसिर २१ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणासँगै दाङमा को–को उम्मेद्वार होलान् भन्ने बहस सुरु भयो । त्यसमा अग्रपंक्तिमा कृष्णबहादुर महराको नाम आयो । यो कुराले दाङबासी धेरै खुसी र उत्साहित भए ।

दाङलाई प्रदेशको राजधानी बनाउनुका साथै यहाँको विकासका लागि राष्ट्रिय नेताको अभाव महशुस गरिरहेका बेला उहाँ दाङबाट चुनाव लड्ने कुराले माओवादी नेता, कार्यकर्ताहरु त भैहाले, अन्य पार्टीका कार्यकर्ताहरुदेखि जिल्लाका विकासप्रेमी, बुद्धिजीवी तथा सर्वसाधारण समेत चोक–चोकमा खुसी हुँदै महरा दाङ आउन जरुरी छ भनेर प्रचार र लविङ गर्न थाले । तर काम गर्ने हैसियत नभए पनि दाङलाई आफ्नो विर्ता ठान्ने भित्र र बाहिरका केही झुन्डले उहाँको विरोध पनि गरे । महरा दाङ आउनुपर्छ भन्ने ठूलो गर्जनका अगाडि यो सानो झुन्डको आवाज हावामा नै विलय हुन पुग्दथ्यो र भयो पनि ।

दाङ र महराको सम्बन्ध :

महरा माओवादी राजनीतिमा साविक राप्ती अञ्चलकै सिनियर र अगुवा नेता हुनुहुन्छ । उहाँले २०४८ सालदेखि नै राप्तीका जिल्लाहरुमा अभिभावकत्व प्रदान गर्दै आउनुभयो । जनयुद्धको समयमा उहाँले दाङमा नै बसेर विशेष क्षेत्र (साविक राप्ती) सञ्चालन गर्नुभयो भने यहाँका नेता कार्यकर्ता उत्पादनदेखि दाङको राजनीतिमा उहाँको प्रत्यक्ष भूमिका रहँदै आयो ।

लेखक : गणेश ओली

२०६४ को संविधानसभा निर्वाचनमा दाङको साविक ३ नं. निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएपछि महराको दाङसँग जनप्रतिनिधिकै रुपमा राजनीति, विकास र समृद्धिको साइनो जोडियो ।

दोश्रो संविधानसभा निर्वाचनमा उहाँलाई पार्टीले रोल्पाबाट निर्वाचन लड्न पठायो तर उहाँले म दाङको पनि प्रतिनिधि हुँ भन्ने कहिल्यै बिर्सनु भएन । उहाँ सो समयमा दाङ आउने, यहाँका राजनीतिक दल, जनतासँग छलफल गर्ने, केन्द्रिय राजनीतिमा दाङको नाम र विकास गर्ने काम पनि गरिरहनुभयो । अहिले फेरि महरा दाङको २ नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुभएको छ । यसपछि दाङको राजनीति, विकास र समृद्धिमा कोशेढुंगा सावित हुनेछ ।

दाङको विकास र महरा :

दाङको विकास नगरिकन राप्तीका अन्य जिल्लाको विकास सम्भव छैन भन्दै महराले सुरुदेखि नै दाङको विकासमा प्रत्यक्ष भूमिका खेल्दै आउनुभयो । २०६४ को संविधानसभा निर्वाचनमा दाङको साविक ३ नं. निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएपछि यहाँको विकासले धेरै फड्को मा¥यो । सो समयमा उहाँ संविधान निर्माणमा सक्रियतापूर्वक लाग्नुपर्ने भएकाले जिल्लामा धेरै घुम्न आउन पाउनु भएन तर बजेट विनियोजन र विकास निर्माणमा उहाँले केन्द्रमा बसेर धेरै भूमिका खेल्नुभयो । पार्टीभित्रको अन्तरसंघर्षका कारण आफ्नै कार्यकर्ताबाट उहाँले त्यतिबेला गरेका विकास निर्माणका कामको राम्रो प्रचार प्रसार हुन पाएन र विरोधीहरुले उहाँले गरेका कामहरु हामीले गरेका हौं भनेर गलत प्रचार गरे ।

उहाँ सञ्चारमन्त्री हुँदा हेलो मोबाइलको केन्द्रीय कार्यालय र टावर दाङमा स्थापना गर्ने, नेपाल टेलिकमका टावरहरु थप गर्ने, फोन तथा इन्टरनेट सेवालाई सर्वसुलभ बनाउनुका साथै आम मानिसको अनिवार्य आवश्यकताजस्तै बनाउनेजस्ता सञ्चार र प्रविधिका क्षेत्रमा थुप्रै कामहरु गर्नुभयो ।

त्यस्तै, झोलामा रहेको नेपाल पत्रकार महासंघ दाङको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनेदेखि भवन निर्माणका लागि बजेट विनियोजन, जीर्ण अवस्थामा रहेको तत्कालीन महेन्द्र अस्पताललाई राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरवृद्धि गर्न विशेष पहल गर्नुभयो । अहिले हामीले दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुमति पाएका छौं । यो उपलब्धिको श्रेय र पहिलो हकदार नै कृष्णबहादुर महरा हो ।

त्यसैगरी सडक, सिचाई, कृषि लगायतका क्षेत्रमा ठूलो मात्रामा बजेट विनियोजनका लागि उहाँको पहल र भूमिका विशेष रहेको छ ।

दोश्रो संविधानसभा निर्वाचनमा उहाँलाई चुनाव लड्न पार्टीले रोल्पा पठायो तर महराले जहिले पनि म दाङको पनि प्रतिनिधि हुँ भन्दै आउनुभयो र विकास निर्माणमा पनि उत्तिकै लाग्नुभयो । तर दाङका ५ वटै सिट जितेको काङ्ग्रेसले महराले गरेका काम सबै आफै गरेको भनेर झुटो प्रचार ग¥यो ।

संविधान निर्माणपछि उहाँ उपप्रधान तथा अर्थमन्त्री भएपछि दाङका लागि मध्यपश्चिममा नै सबैभन्दा धेरै ३ अरव ९४ करोड बजेट जिल्लाको सडक सञ्जालका लागि विनियोजन गर्नुभयो । अन्य क्षेत्रको समेत बजेट हिसाब गर्दा उहाँले गत आर्थिक वर्षमा मात्रै ५ अर्ब बजेट दाङका लागि छुट्याउनुभएको छ । सो बजेट यति धेरै थियो कि विरोधीहरुले झुटको खेती गर्न खोज्दा जनताले उल्टै गाउँ–गाउँमा लोप्पा खुवाउने स्थिति बन्दैछ ।

अहिले चुनावी अभियानमा सँगसँगै रहेका नेता महराका विषयमा एमाले नेता शंकर पोख्रेल भन्नुहुन्छ, ‘आजका हाम्रा प्रतिष्पर्धीको हैसियत भनेको माग्ने हो, महरा र मेरो हैसियत बजेट विनियोजन गर्ने हो । भन्नुस् माग्नेले धेरै गर्लान् कि विनियोजन गर्नेले ?’ पक्का पनि महराको विजयले दाङको विकास र समृद्धिमा फड्को मार्नेछ भने सुशासन र आम नागरिकको जीवनस्तर वृद्धि हुनेछ ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिमा महरा र विकास :

महराले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा सधैँ पुलको काम गरिरहनुभएको हामीले देखेका छौं । नेपाली काङ्ग्रेस होस् वा एमाले माओवादीसँग दूरी बढेका बेला सधैँ महराले जोड्ने काम गरिरहनुभएको छ । आफ्ना दलका नेता कार्यकर्तासँग मात्र हैन अन्य दलका नेता कार्यकर्तासँग पनि महराको उत्तिकै राम्रो सम्बन्ध रहेको छ ।

यसैगरी माओवादीसँग कुनै राजनीतिक र अन्य विषयमा छलफल गर्नुप¥यो भने अन्य दलका शीर्ष नेताहरुसँग पनि पहिला महरा नै पुग्नुहुन्छ । यसैगरी अन्तर्राष्ट्रिय राजनीतिमा महराको उत्तिकै सम्पर्क र सम्बन्ध रहेको छ । पार्टीको विदेश विभाग प्रमुख र पछिल्लो समय परराष्ट्रमन्त्री समेत भइसक्नुभएका महराको छिमेकी देशहरु भारत र चीनसँग राम्रो सम्पर्क र सम्बन्ध रहेको छ ।

जहाँसम्म विकासको कुरा छ अल्पविकासित देशमा अन्तर्राष्ट्रिय लगानी नभित्र्याइकन, राष्ट्रिय पुँजीको संरक्षण नगरिकन विकास गर्न सकिदैन भन्ने कुरा अर्थमन्त्रीसमेत भइसकेका महरालाई राम्रै ज्ञान छ । तसर्थ राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने महराले राष्ट्रिय पुँजी वितरण गर्दा होस् वा अन्तर्राष्ट्रिय लगानी भित्र्याउँदा दाङले यसको ठूलो हिस्सा प्राप्त गर्नेछ ।

बुढापाकाहरुको एउटा उखान छ– ‘जसले मह काढ्छ, उसले हात चाट्छ ।’ प्रदेशको राजधानी दाङ हुनुका साथै यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी भित्रिने र यहाँको विकास र समृद्धिको ढोका खोल्नका लागि, दाङवासीको भाग्य र भविश्य परिवर्तनकर्ताका रुपमा उहाँलाई सवैले पाउने छन ।

बौद्धिक, शालीन र शान्तिका दूत महरा :

कृष्णबहादुर महरा शालीन र बुद्धिजीवी नेताका रुपमा चिनिनुहुन्छ । विज्ञान विषयका विद्यार्थी महराले रोल्पाको लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषय पढाउनुभएको थियो ।

यसैगरी अध्ययन, लेखन, राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय राजनीतिक विषयमा उहाँको विशेष दख्खल रहेको छ । जसका कारण उहाँले जति मन्त्रालय सम्हाल्नु भयो सबैमा सफल हुनुभयो ।

महरा २०५८ सालमा तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक, २०६० को दोश्रो वार्ता टोली सदस्य तथा प्रवक्ता, २०६३ को अन्तिम र तेश्रो वार्ता टोलीको संयोजक भई नेपालमा शान्ति प्रक्रियाको शुरुवातका लागि शान्तिका दूतका रुपमा आफ्नो भूमिका निर्वाह गर्न सफल हुनुभएको छ ।

राष्ट्रिय विकासमा महराको भूमिका :

महरा सूचना तथा सञ्चारमन्त्री हुँदा उहाँले अघि सारेको ‘हात–हातमा मोबाइल सेट, घर–घरमा इन्टरनेटको महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो । यो सँगै उहाँले सूचनाको हकसम्बन्धी ऐन, पत्रकार विमा, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

पूर्वउपप्रधान तथा अर्थमन्त्री हुँदा उहाँले ०.६ प्रतिशतमा रहेको आर्थिक वृद्धिदरलाई बढाएर आफ्नो कार्यकालमा ७.२ प्रतिशतमा वृद्धि गरी नेपालको इतिहांसमा सफल अर्थमन्त्री हुन पुग्नुभयो  । यसरी हेर्दा राष्ट्रिय विकासमा पनि महराको महत्वपूर्ण भूमिका रहेको छ ।

राजधानी र समृद्ध दाङका लागि महरा :

महराको भनाई छ– ‘दाङको राजधानी र समृद्धिका लागि मेरो उम्मेद्वारी हो ।’ दाङ उपत्यका एशियाकै ठूलो उपत्यका हो । भूगोलले दाङलाई निकै साथ दिएको छ ।

दोस्रो, कुरा वातावरणीय हिसाबले निकै राम्रो छ । यो विशुद्ध तराई होइन । यो पूरै पहाड पनि होइन । यहाँको समुदाय असाध्यै सहमतिपूर्ण तरिकाले अघि बढ्न सक्ने सम्भावना छ ।

तेस्रो, कुरा यहाँबाट पश्चिम नेपालका ६ नं र ७ नं प्रदेशका प्रमुख शहरहरु जोडिदै छन् । यहाँ अन्तर्राष्ट्रिय विमानस्थलको राम्रो सम्भावना रहेको छ । दाङ लुम्बिनीको बैकल्पिक बासस्थान बन्न सक्छ । लुम्बिनी सीमा क्षेत्रमा छ । त्यहाँ निकै गर्मी हुन्छ । त्यहाँबाट बस्नको लागि पर्यटकहरुलाई यहाँ ल्याउन सकिन्छ । यहाँ पनि केही पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ ।

यही बाटो भएर प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी जान सकिन्छ । जलजला, छायाक्षेत्र र कर्णालीको रारालाई दाङसँग जोड्न सकिन्छ । यी सबै क्षेत्रलाई हामीले जोडेर यसलाई केन्द्रविन्दु बनाउनु पर्छ । यसको आधारमा दाङ यस क्षेत्रकै आर्थिक हव बन्न सक्छ ।

दाङमा प्रशस्त कृषियोग्य जमिन छ । यहाँको जनसंख्याको ठूलो हिस्सा कृषि व्यवसायमा छ । हामीले सिचाइको उचित व्यवस्था गर्न सक्ने हो भने कृषि उत्पादनमा उल्लेख्य बढ्न जान्छ । यी कारणले समृद्ध दाङ सम्भव छ । पाँच नम्बर प्रदेशको राजधानी दाङ हुने सम्भावना बढेको छ । मैले त्यसका लागि मेरो तर्फबाट पहल गरिरहेको छु र आगामी दिनमा पनि पहल गर्नेछु भन्ने महराको यसपटकको प्रतिवद्धता छ ।

माओवादी राजनीतिमा महरा :

२०४८ सालको आम निर्वाचनबाट रोल्पा २, २०६४ सालमा संविधानसभा निर्वाचनमा दाङ ३ बाट र २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा १ बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने एक मात्र माओवादीका नेता हुनुहुन्छ ।

२०३५/०३६ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका महरा शिक्षक, जिल्ला पार्टीको नेतृत्व सम्हाल्दै पार्टी महासचिवसम्म बन्नुभयो ।

महराका दुई छोरा निर्मल महरा र राहुल महरा पनि पार्टी संगठनमै त्रियाशील छन् भने छोरीहरु उन्नति र प्रगति पनि पार्टीमै छन् । कतिपय नेताका छोराछोरी पढाइमा ब्यस्त रहँदा महराले भने आफू भूमिगत भएपछि श्रीमती र छोराछोरीलाई पनि युद्धमै होम्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *