जनगायक खुशीराम पाख्रिनको पार्थिव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा

  
  प्रकाशित मितिः बुधबार, मंसिर ६, २०७४       | 151 Views   ||

चितवन ६ मंसिर । भरतपुरको जनसभामा गीत गाउँदा–गाउँदै हृदयघात भएर निधन भएका जनवादी गायक खुशीराम पाख्रिनको ज्ञानेश्वर सामुदायिक वन नजिक अन्त्येष्टि गरिँदैछ ।

अन्त्येष्टि अघि माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाख्रिनको शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको झण्डा ओडाएका थिए । सो कार्यक्रममा माओवादी नेता रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाललगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । श्रद्धाञ्जलीसभामा माओवादी नेता सूर्य सुवेदीले पार्टीको तर्फबाट शोक बक्तव्य पढेर सुनाएका थिए ।

भरतपुरको केन्द्रीय बस टर्मिलनमा आयोजित चुनावी सभामा गीत गाएपछि ढलेका पाख्रिनको मंगलबार उपचारको क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको थियो ।

माओवादीले थालेको युद्धमा परिवारका सदस्यसमेत गुमाएका पाख्रिन सहीद परिवार हुन् । उनी माओवादी केन्द्रको हाल सल्लाहकार थिए ।

माओवादी पार्टी विभाजन भएपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका पाख्रिन रामबहादुर थापा (बादल)को टोलीसँगै एकीकृत माओवादीमा फर्किएका थिए । चितवन निर्वाचन क्षेत्र नं. ४ मा ०७१ सालमा भएको संविधानसभा उपनिर्वाचनमा उम्मेदवार रहेका पाख्रिनको घर पश्चिम चितवनको रामपुरमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *