मलेसियामा प्रकाशको श्रद्धाञ्जली सभा

  
  प्रकाशित मितिः बुधबार, मंसिर ६, २०७४       | 182 Views   ||

क्वालालम्पुर । नेकपा माओबादी केन्द्र सम्बद्ध बिदेश बिभाग नेपाली जनप्रगतिशील मञ्च मलेसियाले नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

माओवादी केन्द्र समर्थित प्रबासी कार्यकर्ताहरुले मलेसियाको राजधानी क्वालालम्पुरस्थित उग्रतारा नेपाली रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको कार्यक्रममा कमरेड प्रकाशको फोटोमा अबिर माला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा वैदेशिक रोजगारीका सिलसिलामा मलेसियाका विभिन्न क्षेत्रमा कार्यरत रहेका माओवादी समर्थित मजदुर सगठन नेपाली जनप्रगतिशील मञ्चका केन्द्रिय तथा क्षेत्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
करिब दुई घन्टा लामो शोक सभामा बोल्ने वक्ताहरुले निर्बाचनको मुखैमा प्रकाश दाहालको निधन दुखद र अकल्पनीय रहेको बताए ।

नेपाली जनप्रगतिशील मञ्चका सल्लाहकार तथा पूर्वजनमुक्ति सेना बटालियन कमिस्नर राजु ढुंगानाले प्रकाशको योगदान र त्यागबारे प्रष्ट पार्दै २०५७ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता भएर माओवादी आन्दोलनको विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पार्टीको एक होनहार योद्धा, उदीयमान युवा नेता तथा पार्टी हेडक्वार्टरको सदस्यको अकल्पनीय निधनले पार्टीलाई निकै क्षति पुगेको ढुङ्गानाले बताए ।

मञ्चका कार्यबाहक अध्यक्ष तथा शोक सभाका सभाअध्यक्ष पर्शुराम लुइटेलले माओवादी आन्दोलनले स्थापित गरेका कयौं आन्दोलनमा पार्टी अध्यक्षको दायाँ हातझैं भएर प्रकाशले जिम्मेवारी पूरा गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *