निर्वाचन विशेषः कृष्णबहादुर महराको एक दिन उदय जीएमको क्यामेरामा

  
  प्रकाशित मितिः शनिबार, मंसिर ९, २०७४       | 2094 Views   ||

शब्द/तस्बिर : उदय जीएम

दाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा दाङ– २ मा माओवादी केन्द्रका वरिष्ठ नेता एवं वाम गठवन्धनका साझा उम्मेदवार उपप्रधानमन्त्री कृष्णबहादुर महराको प्रचार तुफानी वेगमा भइरहेको छ ।

शुक्रवार मात्रै उपप्रधानमन्त्री महराले १५ भन्दा बढी साना–ठूला चुनावी सभाहरुलाई सम्बोधन गरेका थिए ।

दाङ– २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरासँगै ५ नम्बर प्रदेशका मुख्यमन्त्रीको रुपमा प्रस्तावित दाङ– २ को १ बाट प्रदेशसभाका उम्मेदवार शंकर पोख्रेलको प्रचार पनि उत्तिकै आक्रामक र वेगवान शैलीमा अगाडि बढेको छ ।

दिनभरका चुनावी सभाहरुमा कतै शंकर पोख्रेलले सम्बोधन गरिरहँदा कृष्णबहादुर महरा पुग्ने र कतै कृष्णबहादुर महराले सम्बोधन गरिरहँदा शंकर पोख्रेल पुग्ने भइरह्यो । सबै सभाहरुमा दुबै नेताले आफ्ना सबै उम्मेदवारहरुका लागि मत मागेका थिए ।

साथमा चर्चित हाँस्यकलाकार कमल गाउँलेले “अहिले एमाले र माओवादीको लभ परेको छ, चुनावपछि पञ्चेबाजा बजाएर बिहे गर्ने हो” भन्दै आम मतदाताहरुलाई हँसाउँदै गोलाकारभित्रको हँसिया हथौडा र सूर्यमा मत मागेका थिए ।

बिहान ७ बजे नै उपप्रधानमन्त्री कृष्णबहादुर महरा घोराही उपमहानगरपालिकाको गैरागाउँमा पुगे । त्यहाँ भव्य सम्मान र स्वागतसहित महरा र प्रदेशसभामा समानुपातिक उम्मेदवार सिर्जना चौधरीले मत मागेका थिए ।

मतदाताहरुले खानेपानी, सिंचाई र बाटोघाटो जस्ता मागहरु राखेका थिए ।

लगत्तै सोही स्थानमा सडकमै रिपोर्टस् क्लव दाङले उपप्रधानमन्त्री तथा दाङ– २ का उम्मेदवार कृष्णबहादुर महरासँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको थियो ।

सो कार्यक्रममा बोल्दै महराले दाङलाई विकासनिर्माण, पर्यटन र राजनीतिक केन्द्र बनाउने प्रतिवद्धता जनाएका थिए ।

सो कार्यक्रमको समापन गर्दै रिपोर्टस् क्लवका ५ नम्बर प्रदेश संयोजक शरद रेग्मीले कृष्णबहादुर महराको जीत सुनिश्चित भइसकेको भन्दै राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तित्व महरालाई दाङका जनताले विजयी गराउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

यसपछि महरा नजिकैको गनारी भन्ने स्थानमा पुगे र त्यहाँको सभालाई सम्बोधन गरे भने स्थानीयवासीले राखेका लिखित तथा मौखिक मागहरुको सुनुवाई गर्ने प्रतिवद्धता जनाए ।

गनारीबाट अगाडि बढेको महराको दलबलसहितको प्रचार टोली ओखरा पुगेको थियो । ओखरामा सहिदपरिवार लगायतका मतदाताहरुबाट उनको भव्य स्वागत गरिएको थियो । ओखरामा पनि प्रदेशसभामा समानुपातिकतर्फकी उम्मेदवार सिर्जना चौधरी र महरा स्वयंले आफ्ना प्रतिवद्धताहरु राखेका थिए ।

ओखराबाट हिँडेको टोली हापुरको गुर्जेस्थित स्व. गिरिराज शर्माको घरमा १३ औं दिनको शुद्धशान्ति कार्यक्रममा सहभागी भएको थियो । लामो समय नेपाल टेलिकमको दाङ शाखामा प्रवन्धकको रुपमा काम गरेका शर्माको श्रद्धाञ्जली सभामा बोलेपछि महराको टोलीले घोराही पुगेर दुईवटा बिहे भोजमा सहभागी हुनुका साथै मत समेत मागेको थियो ।

दुबै बिहेभोजमा पुगेर महराले भनेका थिए, “अहिले मैले आशीर्वाद दिएँ । मंसिर २१ गते यहाँहरुले म र प्रदेश तथा समानुपातिकतर्फका मेरा टिमका सबै उम्मेदवारहरुलाई भोट दिएर अत्यधिक बहुमतले विजयी गराउनु होला ।

त्यसपछि घोराही सिमेण्ट उद्योगबाट प्रभावित जनताहरुले बनाएको संघर्ष समितिले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उपप्रधानमन्त्री महरा पुगेका थिए ।

उक्त कार्यक्रममा महराले सिमेण्ट उद्योगले पूरा गर्नुपर्ने मापदण्ड पूरा गरे/नगरेको आफूले बुझ्ने, सडक कालोपत्रे गर्नका लागि आफैले ठूलो राशिको बजेट विनियोजन गरेको र काम शुरु भइरहेको, उद्योग स्थापना गर्दा गरिएका सम्झौतालाई नजिकै बसेका घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले हेर्ने जस्ता कुराहरु राखेका थिए ।

त्यसपछि महरा उपमहानगरपालिकाकै काभ्रेखोला, अम्बापुर, …स्कूल, वडा नं. १३ को हेलो टावरनजिक राखिएको चुनावी सभा, ढोरेनीमा आयोजित चुनावी सभाहरुमा महरा, दाङ– २ (१)का उम्मेदवार शंकर पोख्रेल, समानुपातिकतर्फकी उम्मेदवार दिलकुमारी बुढा लगायतले सम्बोधन गरेका थिए । त्यसपछि लुम्बिनी सम्पर्क मञ्च दाङको भव्य कार्यक्रममा महरा र पोख्रेल दुबैजनाले सम्बोधन गरेका थिए ।

प्रायः सबै चुनावी सभाहरुमा उपप्रधानमन्त्री महरालाई स्थानीयस्तरका समस्याहरु समेटिएका ज्ञापनपत्रहरु बुझाइएको थियो । यस्तो लाग्थ्यो, मतदाताहरुले महरा र पोख्रेललाई आफ्नो जनप्रतिनिधि स्वीकार गरिसकेको बरु जितिसकेपछि आफ्ना लिखित मागहरु सम्बोधन हुनुपर्नेतर्फ बढी केन्द्रित देखिन्थे ।

प्रायः सबै मागपत्रहरुमा कल्भर्ट, बाटो/सडक कालोपत्रे, सुकुम्वासी समस्या, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य, विद्युत लगायतका विषयहरुको प्रमुखता देखिएका थिए ।

स्थानीय सरकार आफ्नो भएको, प्रदेश सरकार र केन्द्र सरकार सबैमा वाम गठबन्धन हुने भएकाले ती समस्याहरु समाधान गर्न अब कुनै कठिनाई नहुने र दाङलाई समृद्धि दिलाएरै छोड्ने प्रतिवद्धता उम्मेदवारहरुले व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *