रुकुम : रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुमपश्चिमको सदरमुकाम खलंगा आउँदै गरेको जीप शुक्रबार बेलुकी मुसीकोट नगरपालिका–६, कालिमाटीमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । ग १ ज ४२६० नम्बरको जीप बेलुकी ८ बजे सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सिस्ने गाउँपालिका–६ का नवीन श्रेष्ठ र अनिता प्रधान, मुसीकोट–१ का शेरबहादुर श्रेष्ठ, सुरेखा शाही श्रेष्ठ, सुधन श्रेष्ठ र जनक शाह, सिस्ने–१ की यमुना मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्र धमलााले जानकारी दिए ।
दुई दिनअघि मात्र वैवाहिक जीवनमा प्रवेश गरेका नविन र अनिता दुवै प्रहरी निरीक्षक हुन् । जीपचालक दाङ तुलसीपुरका प्रेम थापा, सहचालक रुकुम पश्चिमका प्रेम केसी र बर्दियाका टेकबहादुर खत्री गम्भीर घाइते छन् । घाइतेहरूलाई जिल्ला अस्पताल रुकुम पश्चिममा सामान्य उपचारपछि नेपालगञ्ज पठाइएको डीएसपी धमलाले जानकारी दिए ।