पहिलो चरणका ३२ जिल्लामा निर्वाचन आज, मतदान जारी

  
  प्रकाशित मितिः आइतवार, मंसिर १०, २०७४       | 84 Views   ||

रोल्पाको लिवाङ मतदान केन्द ।

दाङ, मंसिर १० । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज पहिलो चरण अन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ। ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान हुन लागेको हो। मतदान विहान ७ बजेबाट सुरु भएको र साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ।

संविधान जारी भएपछि संघीयता कार्यान्वयनका लागि मुलुकमा पहिलोपटक चुनाव हुन लागेको हो। आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन्।

यस्तै, प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि चार सय २० जना चुनावी मैदानमा छन्। प्रदेशसभामा ४ सय पुरुष र २० जना महिला उम्मेदवार छन्। प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ पदका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनावको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातासँग आग्रह गरेका छन्।

३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले पहिलो चरणमा आफ्नो मतको सदुपयोग गर्दै छन् । पहिलो चरणमा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ।

समानुपातिकतर्फ ८८ दलले भाग लिएका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ जिल्लागत रूपमा दलका उम्मेदवारको संख्या फरक–फरक छ।

आज मतदान हुने जिल्ला
सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रूकुम (पूर्वीभाग), रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *