माओवादी नेताहरु कसले कहाँबाट मतदान गरे ?

  
  प्रकाशित मितिः आइतवार, मंसिर १०, २०७४       | 265 Views   ||

दाङ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले रोल्पा नगरपालिका–७ माडिचौरबाट पहिलो मत हालेका छन् । पुनको प्रतिस्पर्धीको रुपमा कांग्रेसका अमरसिंह पुन चुनावी मैदानमा उत्रिएका छन् ।

सोही मतदान केन्द्रबाट नेता पुनसँगै उनकी पत्नी एवं निवर्तमान सभामुख ओनसरी घर्तीले पनि मतदान गरिन् ।

मतदान पछि नेता पुनले समृद्धि र संविधान कार्यान्वयनका लागि मत हाल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । रोल्पामा कडा सुरक्षा व्यवस्थाका बीच मतदान भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोर्खाको गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीको परोपकार आदर्श बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान गरेका छन् ।

गोरखा २ बाट चुनाव लडेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टरार्इसँग प्रतिष्पर्धामा उत्रिएका छन् ।

श्रेष्ठका प्रतिष्पर्धी डा. भट्टराइले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङबाट मतदान गरेका छन् ।

त्यस्तै निर्वतमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका–५ को यमुनानन्द नमूना मावि ‘क’ मतदान केन्द्रमा मतदान गरेका छन् ।

वाम गठबन्धनको तर्फबाट रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका शर्माले कांग्रेसका गोपालजीजंग शाहसँग प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै, माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटबाट मतदान गरेका छन् ।

वाम गठवन्धनको तर्फबाट जाजरकोटको प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेता वस्नेतले पिपेस्थित वागेश्वरी निमावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनका प्रतिष्पर्धीको रुपमा कांग्रेसका राजीव शाह चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै माओवादी केन्द्रका नेता तथा सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी–४ स्थित पञ्चकन्या मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनका प्रतिस्पर्धी कांग्रेस नेता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेत चुनावी मैदानमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *