रुकुम । रुकुमको आठबीसकोट नगरपालिका वडा नं. ११ को राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा कांग्रेस एजेन्टले नै मतपेटिकामा एसिड खन्याएको खुलेको छ।
समानुपतिकतर्फको मत पेटिकामा एसिड खन्याएको खुलेपछि कांग्रेसको तर्फबाट एजेन्ट बसेका आठबीसकोट– ११ का केशव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खड्का एसिड खन्याएर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको मतदान अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए। खड्कालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको थियो।
उक्त केन्द्रमा समानुपातिकतर्फको मतदान रोकेर प्रत्यक्षतर्फको मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए।
यसअघि रुकुमकै बाँफीकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको रत्न मावि काँडा मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेका थिए।
त्यस क्रममा प्रत्यक्षतर्फ प्रतिनिधिसभाको एउटा मतपेटिका पूर्णरुपमा जलेको थियो। घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।