देउखुरी । दाङ जिल्लाको अति विकट क्षेत्र मानिने भारतीय सीमावर्ती क्षेत्र (नाका)मा पुगेर दाङ– १ को प्रदेशसभा १ का उम्मेदवार इन्द्रजीत थारुले विभिन्न प्रतिवद्धता व्यक्त गरेका छन् ।
वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार थारुले राजपुर– १ का सिरियानाका र पटौरीनाकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उम्मेदवार थारुले दैनिकी टार्नका लागि अब भारत जानु नपर्ने बताउँदै प्रत्येक नाकालाई देउखुरीसँग सडक सञ्जालमा जोडिने बताए । सीमावासी नेपाली नागरिकहरु बिना बर्दीका सीमारक्षक भएको भन्दै यहाँको विकासमा विशेष प्राथमिकतामा राखिने उम्मेदवार थारुले बताए ।
कार्यक्रममा बोल्दै उम्मेदवार थारुले स्थानीय सबैलाई आत्मनिर्भर बनाइने उल्लेख गर्दै भने, “हिजोको दिनमा नाकालाई बेवास्ता गरियो । अब प्राथमिकतामा राखेर विकास अभियान चलाउने छौं ।” अधिकारको लडाई सकिएको बताउँदै थारुले भने, “अब विकासको लहर घर–घरमा पुराउने छौं ।”
त्यस अवसरमा निर्वाचन क्षेत्र १ (१) को निर्वाचन परिचालन समितिका सहसंयोजक एवं एमाले नेता रामप्रसाद गैरेले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन सर्वजीत घर्तीमगरले गरेका थिए ।