दिपक बोहरा
तुलसीपुर । बाम गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ प्रदेश सभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले देश चलाउने ड्राइभर राम्रो भएन भने दुर्घटनामा पर्ने बताएका छन् ।
शनिबार तुलसीपुर १४ मा भएका विभिन्न चुनाबी सभामा उनले अब देशलाई बिकास र समृद्ध बनाएर लिनुपर्ने भन्दै त्यसका लागि सच्चा नेतृत्व चयन गर्नुपर्ने बताए ।
पछिल्लो समय देशमा भएका भ्रष्टाचार, अनियमितताजस्ता कारणले बिकास र समृद्धिको दिशातर्फ जान नसकिएको भन्दै अब सच्चा, इमान्दार व्यक्तिलाई नेतृत्वमा पठाउनुपर्ने बताए । देश समृद्धिको मार्गमा हिडिरहेको भन्दै त्यसलाई सही मार्गमा हिडाउन देश चलाउने ड्राइभर पनि सक्षम हुनुपर्ने उनको भनाई थियो ।
‘गाडी राम्रो भए पनि चलाउने ड्राइभर सक्षम भएन भने दुर्घटनामा पर्छ’ उनले भने ‘त्यसैगरी देश चलाउने ड्राइभर पनि सक्षम भएन भने दुर्घटनामा पर्न सक्छ ।’
माओवादी केन्द्रका सचिवालय सदस्यसमेत रहेका अपारले एमाले र माओवादी केन्द्रबीचको एकताले मुलुकलाई समृद्ध बनाउने दिशामै लैजान सहज हुने बताएका छन् । अहिलेको चुनावमा पनि एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धले दुई तिहाई बहुमत ल्याउने र स्थायी सरकार निर्माण हुने उनको भनाई थियो ।
स्थायी सरकार भएर आफुले सोचे अनुसारको बिकास गर्न सकिने उनको भनाई थियो । यसमा कसैले पनि अबरोध नगर्ने उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका १२ कपडादेवी निबासी शर्माले यहाँको बिकासका लागि अब बामपन्थीको सरकार बन्नुपर्ने बताएका छन् ।
शनिबार तुलसीपुर १४ को ड्वाङ्पुर, उकमी, लुहाडवरा, खौसापुरलगायतका स्थानमा भएका चुनावी सभालाई उनले सम्बोधन गरेका थिए ।