सुन्तलाले फेरिदियो गाउँको नाउँ

  
  प्रकाशित मितिः आइतवार, मंसिर १०, २०७४       | 523 Views   ||

शब्द/तस्विरः कुलदीप न्यौपाने

सल्यानको मध्यपूर्वी रोल्पासँग सिमाना जोडिएको गाउँ हो कोटमौला । यहाँको डाँगीगाउँ सुन्तला गाउँको रुपमा चिनिन्छ । साविक कोटमौला गाविसमा पर्ने डाँगीगाउँ हाल बागचौर नगरपालिकामा पर्छ ।

गाउँमा पहिलोपटक सुन्तलाको खेती शेरबहादुर डाँगीले गरेका रहेछन् । वि.सं. २०३० सालमा डाँगीले घर छेऊमा चार बोट सुन्तला लगाएर शुरुवात गरेका थिए । अहिले सिंगो डाँगीगाउँ पूरै सुन्तलाको ब्यावसायिक खेतीमा परिणत भएको छ । गाउँको नामै फेरिएको छ– डाँगीगाउँबाट सुन्तला गाउँमा ।

टाढाबाट हेर्दा सुन्तलाको जंगल नै लाग्छ डाँगीगाउँ । एकै साइज र दूरीमा मिलेका क्यारी ! क्यारीमा पहेंलपुर सुन्तलाका दानाहरु– झट्ट हेर्दा जो कोहीको मनै लोभ्याइदिन्छ सुन्तला गाउँले ।

घर नै ढाकिने गरी आँगनसम्म रोपिएका सुन्तलाका बोटमा लोभलाग्दा पहेंला सुन्तला दानाले झनै सुन्दरता बढाइदिएका हुन्छन् । कतै हाँगाले धान्नै नसकेर टेकासो लगाएको पनि पाइन्छ ।

सल्यान कृषिका लागि उर्वर भूमि मानिन्छ । यहाँ उत्पादित सुन्तला र अदुवा गुणस्तरको हिसाबले देशकै उत्कृष्ट उत्पादन मानिन्छ । कपुरकोटको तरकारी, डाँगीगाउँको सुन्तला र माल्नेटाको अदुवाले सल्यानलाई सबैतिर चिनाएका छन् ।

सुन्तलालाई विक्रीका लागि डोकामा बोकेर बजार खोज्दै हिड्नु पर्दैन । बगैचामा ब्यापारी आफै आएर खरिद गर्ने गर्दछन् । बोटमै विक्री हुने हुँदा बजार र आयआर्जनका हिसाबले यो सहज पेशा बन्न थालेको छ । त्यसैले पनि सुन्तला खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

सुन्तला खेतीको लागि कृषि विकास कार्यालयले थोरै मात्रामा सहयोग गरे पनि अन्य कुनै सहयोग नपाएको अगुवा किसान अंगेश्वर डाँगीले दुखेसो पोखे ।

गत बर्ष कृषिमन्त्री गौरशंकर चौधरी र कृषि विभागका महानिर्देशकसहितको टोली डाँगीगाउँमै पुगेको थियो । डाँगीले भने– उहाँहरु आउँदा डाँगीगाउँले धेरै सहयोगको अपेक्षा राखेको थियो तर कुनै माग पूरा भएनन् ।

गाउँमा सुन्तला खेतीको शुरुवात गर्ने शेरबहादुरका छोरा अंगेश्वरको परिवार नै अहिले सुन्तला खेतीमा लागेको छ । सुन्तला खेतीमै लगाउन छोराछोरीलाई गाउँकै सामुदायिक विद्यालयमा पढाइरहेको डाँगी बताउँछन् ।

आफूले पनि कुनै माथिल्लो तहका विद्यालय नखोजेर गाउँकै विद्यालयमा अध्यापन गरिरहेको उनको भनाई छ । उनले भने, ‘आफूहरुले शुरुवात गरेको खेती छोड्दा गाउँमा निराशा छाउँछ कि भनेर सुन्तला खेतीलाई निरन्तरता दिन यसो गरेका छौं ।’

यहाँका किसानले प्रतिघर दुइदेखि तीन बोटसम्म सुन्तला रोपेका छन् । कार्तिक महिनादेखि सुन्तला पाक्न शुरु गर्छ भने पुसको अन्तिमसम्म बोटमै रहन्छ । यहाँको सुन्तला बाँके र कैलालीमा बढी जाने गरेको कृषक टेकबहादुर डाँगीले बताए ।

हरेक बर्ष सुन्तलाको मूल्यमा थपघट हुने गर्दछ । अहिले बगैचामै प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । स्थानीय जातको सुन्तलामा गोठे मलको प्रयोग गरिएकाले यो पूर्ण अर्गानिक मानिन्छ ।

सुन्तला एक बर्ष कम र अर्को बर्ष ज्यादा फल्ने गरेको स्थानीय किसान रमेश डाँगीले सुनाए । सुन्तलाको बोटमुनि बेसार, अदुवा र पिडालु खेती पनि हुने भएकाले किसानले दोहोरो तेहरो फाइदा लिने गरेका छन् । यद्यपि यी गाउँमा मकै, गहुँ जस्ता परम्परागत खेती भने गर्न छाडिएको छ ।

तुलसीपुर—रुकुम राप्ती लोकमार्गको खरीबोटदेखि डाँगीगाउँसम्म पुग्ने कच्ची बाटो भए पनि यसलाई कालोपत्रे गर्न सकिए सुन्तला निर्यातमा सजिलो हुने किसानहरुको अपेक्षा छ ।

गत जेठमा आएको असिनाले केही क्षति पु¥याए पनि खेतीको बिमा नहुँदा समस्या भएको कृषकहरु बताउँछन् । राष्ट्रिय समस्याको रुपमा रहेको सिट्रस ग्रिनिङ पोजेटिभ भाइरस यहाँ पनि देखा पर्न थालेको छ । यसले बोट पहेंलो हुँदै सुुक्ने र मर्ने खतरा देखिएको छ ।

रुकुम त्रिवेणी रुँघाका क्षेत्रबहादुर बोहराले पहिलोपटक यति धेरै सुन्तला देखेको र आफू सुन्तला हेर्नकै लागि डाँगीगाउँ आएको बताए । उनले यो क्षेत्रलाई प्रचारप्रचार गर्न सके कृषि पर्यटनको पनि राम्रो प्रवर्धन गर्न सकिने बताए ।

यहाँका एउटै किसानले बर्षमा ४० लाखसम्मको सुन्तला बिक्री गर्ने गरेको स्थानीय भीम डाँगीले बताए । सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने किसान भरतनाथ योगी सुन्तला खेतीले गाउँको जीवनस्तर पूरै फेरिएको अनुभव सुनाउँछन् ।

‘सुन्तला खेतीले किसानहरुको जीवनस्तर नै फेरिदिएको छ, उनी भन्छन्, ‘अहिले गाउँमा कसले कति सुन्तला बिक्री गर्ने प्रतिष्पर्धा नै चलेको छ ।’

कस्तो ठाउँमा फल्छ सुन्तला ?

सुन्तला नेपालको मध्यपहाडी भेगमा खेती हुने फल हो । यो समुद्र सतहको एक हजारदेखि एक हजार चार सय मिटरको उचाइँसम्म फल्छ । भिरालो जमिनमा सुन्तलाको खेती बढी भएको देखिन्छ ।

विरुवा रोपेको तीन बर्षमै फुल्ने भए पनि पाँच बर्षदेखि सुन्तलाको बोटले फल दिन थाल्छ । राम्रो फल्ने बोटमा एउटै बोटमा झण्डै दुई सय किलोसम्म सुन्तला फल्ने गरेको छ ।

सुन्तलाको बोटलाई हिउँदको समयमा अझ माघ महिनामा बढी रेखदेख गर्नुपर्ने हुन्छ । यो समयमा यसलाई मलजल तथा सिंचाइको पनि खाँचो पर्ने गर्छ । एकपटक लगाएको सुन्तलाले बर्षौंसम्म फल दिने हुँदा पटकपटक रोपिराख्नुपर्दैन ।

यसको खेती गर्नुभन्दा पहिले प्राविधिक ज्ञान, यसमा लाग्ने रोगको बारेमा जानकारी, खेती गर्ने तरीका आदिको ज्ञान हुन जरुरी छ । शुरुमा परीक्षणको रुपमा केही बोट रोप्ने र राम्रो फल दिन थालेपछि ब्यवसायिक रुपमा खेती गर्न थालिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *