महरा र शंकरको उद्घोष- कांग्रेसले बिगारेको देश हामी बनाउँछौं

  
  प्रकाशित मितिः आइतवार, मंसिर १०, २०७४       | 203 Views   ||

सैघा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा र नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले नेपाली कांग्रेसले बिगारेको देशलाई आफूहरुले बनाउने उद्घोष गरेका छन् ।

घोराही उप–महानगरपालिकाको सैघामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले बहुदल स्थापना पछि नेपाली कांग्रेसले पटक पटक मुलुकको नेतृत्व गरे पनि देशको विकास गर्न नसकेको बताएका हुन् । उनीहरुले वामपन्थीको सरकार बनेको वेला देश निर्माणका विभिन्न राम्रा कार्यक्रम ल्याए पनि कांग्रेसले पूरा गर्न नदिएको जानकारी दिए ।

नेताहरुले अब वाम गठबन्धनलाई जनताले दुई तिहाई मत दिनुपर्ने धारणा व्यक्त गरे ।

उप–प्रधानमन्त्री एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णबहादुर महराले वाम गठबन्धनले जनतामा नयाँ उत्साह पैदा भएको बताए । उनले अब बन्ने वामपन्थीको सरकारले देशको समृद्धि गर्ने धारणा व्यक्त गरे ।

महराले निर्वाचन लगत्तै माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकता हुने जानकारी दिए ।

एमाले स्थानीय समिति सदस्य एवं प्रदेश सभा २ (१) का उम्मेदवार शंकर पोखरेलले अब जनताले राज्य होइन राज्यले जनता खोज्ने गरी देश बनाउने बताए ।

उनले प्रधानमन्त्री देउवाले वामपन्थी सरकार बनेपछि रुन पाईदैन भन्ने गरेको स्मरण गर्दै अब जनता कहिले रुन नपर्ने गरी आफूहरुले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच बंगलाचुलीको खाडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उप–प्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले देश वामपन्थीमय भइसकेको बताएका छन् ।

वंगलाचुली गाउँपालिकाको मर्पेस खाडामा नेपाली कांग्रेस समर्थक ६० जनालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै महराले अब सम्पूर्ण विकासप्रेमी र समृद्धिको पक्षमा लाग्ने जनता वामपन्थी हुने दावी गरे । क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका महराले मर्पेस खाडालाई जिल्लाकै पर्यटकीय गन्तव्य क्षेत्र बनाउन सकिने धारणा व्यक्त गरे ।

‘नेपाली कांग्रेसको मूल नेतृत्व खराव भइसकेको छ, अब इमान्दार कांग्रेस कार्यकर्ताहरु हाम्रो पार्टीमा आउँदै हुनुहुन्छ,’ महराले भने, ‘आगामी मंसिरमा हुने निर्वाचन पछि प्रदेश र केन्द्रमा दुई तिहाई सहितको वामपन्थी सरकार बन्ने छ, त्यसले देशको समग्र समृद्धिका लागि स्पष्ट खाका ल्याउने छ ।’

दाङलाई पाँच नं प्रदेशको राजधानी बनाउन आफू कटिवद्ध भएको उल्लेख गर्दै उनले प्रदेश राजधानी भइसकेपछि दाङमा शहरीकरण तीव्र हुने बताए । उनले जनसंख्या बढेसँगै पर्यटकहरुको संख्या समेत बढ्ने भएकाले वंगलाचुलीलाई यस क्षेत्रकै पर्यटकीय हव बनाउनुपर्ने आवश्यकता औंल्याए ।

सो अबसरमा बोल्दै एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले दुबै पार्टीबीच एकता प्रकृया शुरु भइसकेको जानकारी दिए । उनले निर्वाचन लगत्तै दुई पार्टी एक भएर समाजवादी क्रान्तितर्फ लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *